प्रदेश २ का दर्जनौं बस्ती डुबानमा- प्रदेश २ - कान्तिपुर समाचार

प्रदेश २ का दर्जनौं बस्ती डुबानमा

प्रशासन, प्रहरी चौकी र बजार नै जलमग्न
शंकर आचार्य, ओमप्रकाश ठाकुर

पर्सा, सर्लाही — लगातारको वर्षाले पर्सा र सर्लाहीका जिल्ला प्रशासन कार्यालयसहित विभिन्न कार्यालय र बस्तीहरू डुबानमा परेका छन् । वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्सा, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्ज कार्यालयसहित केही बजार क्षेत्र पनि डुबानमा परेका छन् ।

सर्लाहीको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य दुई प्रहरी युनिट पनि डुबानमा परेका छन् । पानीको निकास नभएर गाउँबस्तीहरू डुबानमा परेका हुन् ।

बिहीबार रातिदेखि अविरल वर्षाको कारण वीरगन्ज महानगरपालिका १० आदर्शनगर क्षेत्रमा मुख्य सडक नै डुबानमा परेको छ । यो क्षेत्र खाल्डो भएकाले सानो पानी पर्दा पनि यहाँ पानी जम्छ । साथै, सिर्सिया खोलाको जलस्तर बढेपछि यो सडक खण्ड हुँदै सिर्सिया खोलामा झारिएको नालाबाट पनि यहाँ पानी आउँछ । उक्त सडक ठाकुरराम क्याम्पस, राष्ट्र बैंक, वीरगन्ज महानगरपालिकाको कार्यालय, नेपाल बैंक लिमिटेडसहित सरकारी कार्यालयमा आउजाउ गर्ने मुख्य सडक हो । यसै क्षेत्रमा २ दर्जन बढी निजी बैंक तथा वित्तीय संस्था, थुप्रै व्यावसायिक घरानाका कार्यालय तथा वीरगन्जकै मुख्य बजार पनि छ । वीरगन्जको ओम आश्रम क्षेत्रमा मुख्य सडकमै पानी जमेर सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पोखरिया ४ का प्रभु साहको फुसको कच्ची घर पानी पसेर ढलेको छ । पकाहामैनपुर गाउँपालिकाअन्तर्गत वडा नं ४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई १ किमि दूरीमा रहेको हरिहर निमाविमा सारिएको छ । वीरगन्ज २० उदयपुर घुर्मीमा १६ घर, जिराभवानी गाउँपालिका १ बलुवा टोलमा ४ घर, जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सिर्सिया खोलाको जलस्तर बढ्दा वीरगन्ज ११ रानीघाट तथा वीरगन्ज २४ रामगढवा खोलाको पानी पसेर धेरै घर तथा सडक डुबानमा परेका छन् । वीरगन्ज २४ खल्वाटोलाका ५ घर विस्थापित भएका छन् । तीमध्ये २ घर वडा कार्यालयमा ३ घर विद्यालय भवनमा आश्रित छन् ।

यस्तै, अविरल वर्षाका कारण सर्लाहीको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य दुई प्रहरी युनिट पनि डुबानमा परेका छन् । पानीको निकास नभएर गाउँबस्तीहरू डुबानमा परेका हुन् । निकासबिनाको विकासले पनि कतिपय बस्ती डुबानमा परेको छ । बर्सेनि लखन्देही खोलाको बाढी पसेर डुबानमा पर्दै आएको मलंगवा नगरपालिका–५ भाँडसरमा भने यस पटक पानीको निकास नभएर डुबानमा परेको हो । त्यहाँ २५ घर डुबानमा परेका छन् ।

लखन्देहीमा यस वर्ष तटबन्ध निर्माण भएपछि बाढी नपसे पनि वर्षाको पानीको निकास नभएर पानी गाउँ घरमा पसेको हो । यस वर्ष वर्षाको पानीले यो बस्ती डुबानमा परेको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय पनि ड्बुानमा परेको छ । वर्षाको पानी कार्यालयको कोठाभित्र समेत पसेको सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले बताए । उनले अब पानीको सतह बढे कोठाभित्र राखिएको फाइल ने डुबेर खराब हुने स्थितिमा पुगेको जानकारी दिए ।

यस्तै औरही प्रहरी चौकी र खुटौनामा रहेको प्रहरी चौकी डुबानमा परेको छ । यहाँको प्रहरी चौकी पुरानो घरमा रहेको र सडकभन्दा होचो स्थानमा भएकाले पानी चौकीमा पसेको जिल्लाका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए । उनले जिल्लाका केही बस्ती वर्षाको पानी निकास नभएर डुबानमा परे पनि जनधनको क्षति नभएको जानकारी दिए ।

प्रकाशित : असार १९, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्

भारत छिर्न पीसीआर रिपोर्ट

भवानी भट्ट

कञ्‍चनपुर — बैतडी मेलौलीका जयराज भट्ट बिहीबार बिहानै गड्डाचौकी नाकामा पुगे । केहीबेरको सोधपुछ तथा नाम दर्तापछि उनी भारततर्फ लागे । करिब एक किलोमिटर परको भारतीय हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले उनीसँग सामान्य सोधपुछपछि कोरोना परीक्षणको रिपोर्ट मागे ।

कञ्‍चनपुरको गड्डाचौकी नाकामा भारत जाने तयारीमा रहेका नेपाली । तस्बिर : भवानी भट्ट

यसबारे उनलाई केही थाहा थिएन । रिपोर्ट थिएन । उनलाई नेपालतर्फ फिर्ता पठाइयो । ‘पीसीआर रिपोर्ट दिखाओ, लेके आओ भनेको छ,’ गड्डाचौकीमा भेटिएका भट्टले भने, ‘अब यो बीचबाटोमा रिपोर्ट कहाँबाट ल्याउनु ?’

भारत उत्तराखण्डको चम्पावत जिल्लाको लोहाघाट क्षेत्रमा डकर्मी काम गर्ने उनी एक साताअघि मात्रै घर आएका थिए । घर आउँदा भारततिर जानेहरूबाट परीक्षण रिपोर्ट माग्न सुरु भएको थिएन । कञ्चनपुरको भीमदत्त–१७ बाँसखेडाका ७६ वर्षीय पदम चन्द पनि बिहीबार ६ महिनापछि पेन्सन बुझ्न सीमावर्ती बजार बनबासा जान लागेका थिए । उनलाई पनि परीक्षण रिपोर्ट ल्याउनु भन्दै फर्काइदिए । ‘पेन्सन बुझेर आधा घण्टामै फर्किने भन्दा पनि जान दिएनन्,’ चन्दले भने, ‘रोपाइँ गर्नेहरू, जोताइको काम गर्ने सबैलाई ज्याला दिन बाँकी छ । पेन्सन ल्याएर दिन्छु भनेको छु, अब कहाँबाट उनीहरूलाई दिने ?’

चन्द महिनापिच्छे पेन्सन बुझ्न बनबासा पुग्थे । कोरोना संक्रमणका कारण गत वर्षदेखि भारततर्फ आउजाउमा कडाइ हुँदा उनी ४/५ महिनामा मात्रै जान्छन् । ‘यस पटक त फागुनदेखि नै जान पाइएको छैन,’ उनले भने, ‘घर खर्च चलाउनसमेत मुस्किल भएको छ ।’ गत वर्ष कोरोना संक्रमणका कारण लामो समय नाका बन्द भयो । नाका बन्द भएकै अवस्थामा समेत उपचार, रोजगारी, अध्ययन र पेन्सन बुझ्न जानेहरूलाई भने आउजाउ गर्न दिइएको थियो । यसरी भारततर्फ जानेको सामान्य स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण पनि गरिन्थ्यो । सरकारले गड्डाचौकीलगायतका नेपाल र भारतका प्रमुख सीमानाकामा आवागमन खुला गरेपछि सामान्य स्वास्थ्य जाँच पनि बन्द गरिएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर बढिरहेका बेला दुवैतर्फ निषेधाज्ञा सुरु भएपछि भारततर्फ जानेको संख्या नगण्य थियो । केही दिनयता संक्रमणको दर घटेपछि भारत जानेको संख्या बढेको छ । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार मंगलबारदेखि नेपालीहरूबाट ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट माग्न थालिएको हो ।

नाकामा मंगलबारदेखि एकाएक परीक्षण रिपोर्ट माग्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा जानेहरू बढी समस्यामा छन् । जेनतेन नाकामा पुगेकाहरू पुनः परीक्षण गराउन फर्किनुपर्दा अलपत्र परेका छन् । परीक्षण गराउन कहाँ जाने र फेरि कसरी फर्किने भन्नेमै अन्योल छ । सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरले भने, ‘एकाएक भारततर्फ जानेको संख्या बढेका कारण रोक्नका लागि यस्तो गरेको पनि हुन सक्छ ।’ भारतीय नागरिकलाई नेपाल प्रवेश गर्दा गत वर्षदेखि नै कोरोना परीक्षण रिपोर्ट र सीसीएमसी फाराम भर्नुपर्ने अनिवार्य गरिएको छ । यही किसिमको रिपोर्ट माग गर्दै भारतले पनि परीक्षण रिपोर्ट अनिवार्य गरेको हुन सक्ने सुरक्षाकर्मीहरू बताउँछन् । नाकाबाट फर्काइएकाहरू केहीले महेन्द्रनगरमा पीसीआर गराउँदै आएका छन् । केही कैलालीको गौरीफन्टा नाका हुँदै गइरहेका छन् । पहाडी जिल्लाबाट जेनतेन पुगेकाहरू भने नाकामै अलपत्र परेका छन् ।

कैलालीको गौरीफन्टा नाकामा भने पारि रिपोर्ट माग नगरिएको सशस्त्रका एसपी ऐरले बताए । गौरीफन्टा नाका उत्तरप्रदेश र गड्डाचौकीपारिको बनबासा उत्तराखण्डमा पर्छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीका अनुसार सुरक्षा निकायको समन्वयमा केही सहज पार्ने प्रयास भइरहेको छ । बिहीबार गड्डाचौकीबाट १ सय १७ पुरुष, २९ महिला र ५ बालबालिका गरी १ सय ५१ जना नामदर्ता गराएर भारततिर गए पनि उनीहरूमध्ये परीक्षण रिपोर्ट नभएर कति जना फर्किए भन्ने प्रशासनसँग तथ्यांक छैन ।

यसैगरी गौरीफन्टा नाकाबाट बिहीबार १ हजार ४ सय १ पुरुष, ३ सय ९० महिला र २ सय ७ बालबालिका गरी १ हजार ९ सय ९८ जना भारततर्फ गएका छन् । उक्त नाकाबाट १ सय ७० पुरुष ८५ महिला र ४५ बालबालिका गरी ३ सय जना भित्रिएका छन् । उनीमध्ये १ सय २ जनाको एन्टिजेन परीक्षणमा कसैमा पनि संक्रमण देखिएन ।

प्रकाशित : असार १९, २०७८ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×