कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सर्लाहीका बस्ती डुबानमा

ओमप्रकाश ठाकुर

सर्लाही — अविरल वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय, जिल्लाका अन्य दुई प्रहरी युनिटसहित केही बस्ती डुबानमा परेका छन् । पानीको निकास नभएर गाउँ बस्ती डुबानमा परेका हुन् ।

सर्लाहीका बस्ती डुबानमा

बर्सेनि लखन्देही खोलाको बाढी पसेर डबानमा पर्दै आएको मलंगवा नगरपालिका–५ भाँडसरमा भने यसपटक पानीको निकास नभएर डुबानमा परेको हो । त्यहाँ २५ घर डुबानमा परेका छन् । लखन्देहीमा यसवर्ष तटबन्ध निर्माण भएपछि बाढी नपसेपनि वर्षाको पानीको निकास नभएर पानी गाउँघरमा पसेको हो । कतिपय स्थानमा स्थानीय तहले निकास बिनाका अग्ला सडक निर्माण गरेकाले डुबानमा परेको छ भने कतिपय स्थानमा स्थानीयले नै निकास हुने स्थानलाई ब्लक गर्दा पानीको निकास हुन सकेको छैन ।

कविलासी नगरपालिका–१ पिपरियामा पनि स्थानीयले पानीको निकासलाई आवरोध गर्दा वर्षाको पानी घरभित्र पसेको हो । यहाँ स्थानीयकै कारण एक दर्जन घर वर्षाको पानीले डुबानमा परेको वडाअध्यक्ष दिपलाल रायले बताए । ‘वर्षाको पानीको निकासका लागि पटक–पटक प्रयास गर्दा पनि स्थानीयले जमिन खन्नै दिएन, त्यही भएर वर्षाको पानी केहीको घरमा पसेको छ,’ उनले भने, ‘पानी निकास गर्न दिएन भने डुबानमा पर्नु स्वभाविक हो ।’

यता वर्षाको पानीले सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय पनि डुबानमा परेको छ । वर्षाको पानी कार्यालयको कोठाभित्र समेत पसेको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए । उनले अब पानीको सतह बढे कोठाभित्र राखिएका फाइल नै डुबेर खराब हुने स्थितिमा पुगेको जानकारी दिए । ‘कार्यालयमा घुँडासम्म पानी आइसक्यो, मैले मेयर सा’बलाई पानीको निकासका लागि भनेको छु,’ उनले भने, ‘पानीको सतह बढ्दै छ, फाइलहरु टेबलमाथि राख्न लगाएका छाैं, तर अझै पानीको सतह बढे फाइल खराब हुने चिन्ता छ ।’

वर्षाको पानीले औरही प्रहरी चौकी र खुटौनामा रहेको प्रहरी चौकी डुबानमा परेको छ । डुबानमा परेकालाई उद्धार गर्ने बेला प्रहरी आफै डुबानमा परेको छ । यहाँको प्रहरी चौकी पुरानो घरमा रहेको र सडकभन्दा होचो स्थानमा गइसकेकाले वर्षाको पानी चौकीमा पसेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए । उनले जिल्लाका केही बस्ती वर्षाको पानीको निकास नभएर डुबानमा परेपनि जनधनको क्षति नभएको जानकारी दिए । ‘खोला कतै पनि पसेको छैन, वर्षाको पानीले निकास नपाउँदा कतिपय बस्ती डुबानमा परेको छ,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘डुबान पनि सामान्य छ, उद्धार आवश्यक परेको छैन ।’

प्रकाशित : असार १८, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?