कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नाला निर्माणमा गुणस्तरहीन काम : कमसल इँटा, कमजोर ढलान

अवधेशकुमार झा

राजविराज — सप्तरीको तिलाठी कोइलाडी–८ मा निर्माणाधीन नालामा गुणस्तहीन काम भएको पाइएको छ । स्टिमेटमा तीन इन्च पीसीसी ढलान गर्नुपर्ने उल्लेख भए पनि अहिले एक इन्च ढलान मात्रै गरिएको छ । 

नाला निर्माणमा गुणस्तरहीन काम : कमसल इँटा, कमजोर ढलान

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको ५० लाख रुपैयाँ लागतको नालामा इँटासमेत कमसल प्रयोग गरिएको छ । यस्तो बेथितिबारे उपभोक्ता समिति अध्यक्ष, स्थानीय जनप्रतिनिधि र सम्बन्धित योजनाका प्राविधिकसम्म जानकार छन् । तर काम निरन्तर चलिरहेकै छ ।

भवन निर्माण आयोजनाको एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ८ तोपास्थित सडकदेखि उत्तर दुवैतर्फ २ सय ५७ मिटर नाला निर्माण भइरहेको हो । नाला बनाउन खनिएको खाल्डोमा वर्षाका कारण जमेको पानी र हिलोसम्म नहटाई इँटाको सोलिङ लगाएर ढलान गरिँदै छ । प्रयोग गरिएको इँटा पनि एक नम्बर गुणस्तरको हुनुपर्नेमा दुई र तीन नम्बरको पाइएको छ ।

मंगलबार निर्माणस्थल पुगेका योजनाका इन्जिनियर रोशन झाले पीसीसी ढलान स्टिमेटमा तीन इन्च रहे पनि एकदेखि डेढ इन्च मात्र गरिएको र कमसल खालको इँटा प्रयोग भइरहेको स्विकारे । ‘स्टिमेटअनुसार तीन इन्च पीसीसी ढलान हुनुपर्ने हो तर मंगलबार केही ठाउँमा खनेर जाँच गर्दा एक इन्च मात्र देखियो,’ झाले भने, ‘इँटा पनि कमसल खालको आएको छ ।’ कमसल खालको इँटा हटाएर स्टिमेटअनुसार काम गर्न उपभोक्ता समितिलाई भनिसकिएको उनले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका–८ का वडा सदस्य शिवनारायण मण्डलले पनि नाला निर्माणमा कमसल इँटा प्रयोग भइरहेको बताए । ‘हामीले पनि त्यस्ता इँटा प्रयोग नगर्न भनेका छौं,’ उनले भने ।

उक्त नाला निर्माण गर्न गठित उपभोक्ता समितिमा सोही वडाका शंकर खंग अध्यक्ष छन् । उनले ठेकेदारले नै कमसल काम गरेको आरोप लगाए । ‘म नाम मात्रको उपभोक्ता समिति हुँ,’ उनले भने, ‘खराब इँटा प्रयोग भइरहेको छ, तर ठेकेदार सुन्दैनन् ।’

स्थानीयका अनुसार उपभोक्ता समिति बनाइए पनि कार्यालयले आफ्नै अनुकूलको ठेकेदारलाई उक्त योजना जिम्मा दिएको हो । भवन निर्माण आयोजनाका प्राविधिकको समेत मिलेमतोमा गुणस्तरहीन काम भइरहेको उनीहरूको दाबी छ ।

आयोजनाका निमित्त प्रमुख सुरेन्द्रकुमार साहले भने नाला निर्माणमा गुणस्तरहीन काम भइरहेको पाइए त्यसलाई रोकेर गुणस्तरीय बनाउने बताए ।

प्रकाशित : असार १६, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?