संक्रमितको तथ्यांक दुई थरी- प्रदेश २ - कान्तिपुर समाचार

संक्रमितको तथ्यांक दुई थरी

सक्रिय संक्रमितको संख्या कम देखाएर निषेधाज्ञा खुकुलो गर्न सिफारिस
ओमप्रकाश ठाकुर

सर्लाही — प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र कोरोनाको दैनिक बुलेटिन प्रकाशन गर्दै आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकबीच फरक देखिएको छ ।

सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा डीसीसीएमसीको बैठक । फाइल तस्बिर : कान्तिपुर

प्रशासनको तथ्यांकभन्दा कम सक्रिय संक्रमितको संख्या देखाएर डीसीसीएमसीले निषेधाज्ञा खुकुलो गर्न सिफारिस गरेको हो । आफूखुसी सक्रिय संक्रमित घटबढ गर्दा र तथ्यांक फरक पर्दा नागरिक भने अन्योलमा छन् ।

प्रशासनको दैनिक बुलेटिनअनुसार सोमबारसम्ममा सर्लाहीमा सक्रिय संक्रमितको संख्या ९ सय ३ छ । तर सोमबार प्रजिअ हेमराज तामाङको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकमा उक्त संख्या ४ सय हाराहारी देखाउँदै निषेधाज्ञा खुकुलोको सिफारिस गरिएको थियो । प्रशासनले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरिसकेको छ । सोमबार गरिएको निर्णयमा कोरोनाको दोस्रो लहरमा ४ हजार ३ सय ३७ जनाको स्वास्थ्य परीक्षण भएकोमा २ हजार ४ सय २३ जना संक्रमित भएको, सोमबारसम्ममा ८२ जनाले ज्यान गुमाएको र सक्रिय संक्रमितको संख्या ४ सयको हाराहारीमा मात्र रहेको उल्लेख छ । निर्णयमा यस तथ्यको आधारमा संक्रमणको अवस्था नियन्त्रणमा नआए पनि पछिल्लो एक सातामा २ जनाको मात्र मृत्यु भएकाले जोखिम घट्दो क्रममा रहेको जनाइएको छ ।

जिल्लाभरि सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएकाले केही लचक नीतिसहित कोभिड रोकथामका कदम अघि बढाउने समीक्षा भएको निर्णयमा उल्लेख छ । सोमबारसम्ममा हरिवन नगरपालिकामा मात्र सक्रिय संक्रमितको संख्या २ सय ९७ रहेको यहाका कोभिड फोकल पर्सन रामबाबु चौधरीले बताए । चौधरीका अनुसार कोरोनाको दोस्रो लहरमा सोमबारसम्म नगरभरि कुल ४ सय ७३ संक्रमित देखिएकोमा सक्रिय संक्रमितको संख्या २ सय ९७ रहेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको छलफलको क्रममा स्वास्थ्यका कर्मचारी दुई पटक तथ्यांक सच्याउनुपर्ने भन्दै बाहिरिएको र पछि हचुवाको भरमा चार सयको हाराहारीमा सक्रिय संक्रमितको संख्या रहेको भनेपछि निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको बैठकमा सहभागी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । ‘बैठकको सुरुमै सक्रिय संक्रमितको संख्या नौ सयभन्दा बढी छ, यस्तोमा निषेधाज्ञा खुकुलो गर्न नसकिने भएपछि स्वास्थ्यका कर्मचारी दुई–दुई पटक बाहिर गएका थिए, अन्त्यमा चार सयको हाराहारीमा सक्रिय संक्रमित बताएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गर्नुभयो,’ उनले भने, ‘एकैछिनमा सक्रिय संक्रमितको संख्या पाँच सय घटी कसरी भयो बुझ्नै सकिन, कारोनाको तथ्यांकमा पनि गोलमाल हुँदो रहेछ ।’

चौधरीले झन्डै एक महिनाअघि पनि सक्रिय संक्रमितको संख्या ९ सयको हाराहारीमा रहे पनि त्यसबेला प्रमुख जिल्ला अधिकारी तामाङले निषेधाज्ञा कडीकडाउ गर्दै आएको बताए । चौधरीले जिल्ला प्रशासन र डीसीसीएमसीको तथ्यांक फरक पर्दा नागरिकमा अन्योल देखिएको बताउँदै कोरोनाकालमा तथ्यांकको खेल भइरहेको आरोप लगाए । प्रशासनका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले प्रशासनको तथ्यांक नै सही रहेको दाबी गरे । उनले यसबारेमा कर्मचारी लगाएर फेरि पनि पृष्टि गर्न लागिरहेको जानकारी दिए ।

प्रकाशित : असार १६, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको दसौं  राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको केन्द्रीय कमिटीमा फर्कने औपचारिक निर्णय गर्ने भएको छ । 

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको थियो । सोही निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको छ ।

बैठकमा झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने सहभागी छैन ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २ सय ३ सदस्यीय हो । तर, माओवादीसँग एकता हुँदा जेठ ३ मा ३८ सदस्य थपेर केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाइएको थियो । सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि फागुन २८ मा एमालेको संस्थापन पक्षले पूर्वमाओवादीका २३ जनालाई मनोनयन गर्दै केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय बनाएको थियो । त्यसै दिनको बैठकले सोही केन्द्रीय कमिटीलाई दसौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।

तर, महाधिवेशन आयोजक कमिटीको बैठकले गरेको कारबाहीमाथि प्रश्न उठाउँदै गत जेठ २७ गते कर्णालीका चार सांसदको पद सर्वोच्च अदालतले ब्युँताइदियो ।

महाधिवेशन आयोजक कमिटीलाई राजनीतिक दलसम्बन्धी ऐनलगायतका कुनै पनि कानुनले नचिन्ने व्याख्या अदालतले गरेपछि माओवादीसँग एकतापूर्वको केन्द्रीय कमिटी ब्युँताउनुपर्ने बाध्यात्मक अवस्था एमालेलाई सिर्जना भएको हो । ब्युँतिएको केन्द्रीय कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

प्रकाशित : असार १६, २०७८ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×