कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्पताल उद्घाटन, सेवा अनिश्चित

संक्रमितको संख्या ओरालो लागेपछि १० करोड लागतमा अस्थायी कोरोना अस्पताल निर्माण
श्यामसुन्दर शशि

जनकपुर — कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेका बेला असार ३ गते जनकपुरमा कोभिड विशेष अस्पतालको उद्घाटन भयो । मुख्यमन्त्री लालबाबु राउतले भव्य समारोहबीच अस्पताल सञ्चालनमा आएको घोषणा गरे । तर निर्माणकै क्रममा रहेकाले स्वास्थ्य सेवा सञ्चालन अझै अनिश्चित छ ।

अस्पताल उद्घाटन, सेवा अनिश्चित

झन्डै अढाई दशकदेखि उपयोगविहीन रहेको मणिपाल एकेडेमी अफ हायर एजुकेसन (मेडिकल कलेज) को अपूरो संरचनालाई अधिग्रहण गरी प्रदेश सरकारले अस्पताल बनाएको हो । अस्पतालको लागत करिब १० करोड रुपैयाँ छ । सरकारले अस्पताल सञ्चालन गर्ने जिम्मा भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुम्पेको छ । हाल प्रदेश सरकारले संक्रामक रोग ऐन, २०२० प्रयोग गरी मणिपालको भवन अधिग्रहण गरेको छ ।

जेठ मध्यमा प्रदेश २ मा कोभिड संक्रमितको संख्या उत्कर्षमा रहेका बेला संक्रमितहरू बेड, अक्सिजन तथा उपचारको अभावमा ज्यान गुमाउन बाध्य थिए । तर संक्रमितको संख्या निरन्तर ओरालो लागिरहेका बेला अस्पताल उद्घाटन गर्नुलाई स्थानीयले बेमौसमको बाजाको संज्ञा दिएका छन् । अस्पताल उद्घाटन भएर पनि स्वास्थ्य सेवा सञ्चालनमा नल्याउँदा प्रदेश सरकारको आलोचना भइरहेको छ । ‘सञ्चालन गर्नु थिएन भने उद्घाटन नै किन गरियो ? ज्योतिषीले भनेर कि कोभिडबाट त्राहिमाम प्रदेशवासीको घाउमा नुनचुक दल्न ?,’ स्थानीय शुभचन्द्र मण्डलले भने ।

प्रादेशिक अस्पताल जनकपुरका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट डा.गौराङ मिश्र दोस्रो लहरको संक्रमण लगभग समाप्त हुन लागेका बेला करोडौं खर्च गरेर अस्थायी अस्पताल निर्माण गर्नुको अर्थ नभएको बताउँछन् । उनले भने, ‘बरु प्रादेशिक अस्पताल जनकपुरलाई नै अस्थायी कोरोना अस्पतालका रूपमा प्रयोग गर्दा हुन्थ्यो ।’ तर प्रदेशमा संक्रामक रोगको स्थायी अस्पताल निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा.अंकुश साहले कोभिडलगायतका अन्य संक्रामक रोगलाई ध्यानमा राखी कोभिड विशेष अस्पताल निर्माण गरिएको बताए । उनले भने, ‘कोरोनाको तेस्रो लहर आउने सम्भावना पनि त्यत्तिकै छ । यसलाई पूर्वतयारीका रूपमा हेर्दा बेस होला ।’ डा.साहका अनुसार अस्पताल सञ्चालन गर्न ८६ जना स्वास्थ्यकर्मीको नियुक्ति भई तालिम पनि सुरु भइसकेको छ । अक्सिजन पाइपलाइन जडानको काम अन्तिम चरणमा छ । हाललाई कन्सल्टेन्ट चिकित्सकदेखि फिजिसियन, रेडियोलोजिस्ट, मेडिकल अफिसर, नर्स, कार्यालय सहायक पदमा कर्मचारी नियुक्त भइसकेको उनले बताए । ‘कोभिड विशेष अस्पलालमा काम गर्ने वरिष्ठ चिकित्सकदेखि कार्यालय सहायकसम्मलाई स्वास्थ्य प्रोटोकलबारे तालिम दिनु आवश्यक हुन्छ । हामी तालिम दिँदैछौं,’ डा. साहले भने ।

कोभिड–१९ को दोस्रो लहरको क्रममा संक्रमणमुक्त भई घर फर्केकाहरूमा पोस्ट कोभिड सिन्ड्रोम बढी देखिएको तथा तेस्रो लहरमा बालबालिका अधिक प्रभावित हुन सक्ने आकलन गरिएको उनले बताए । डा. साहका अनुसार निर्माणाधीन कोभिड विशेष अस्पतालमा त्यस्ता व्यक्ति तथा बालबालिकाका लागि विशेष व्यवस्था गरिएको छ । कोभिड विशेष अस्पतालमा १५ बेड आईसीयू, ५५ बेड एचडीयू तथा ३० जनरल बेड छन् ।

प्रकाशित : असार १४, २०७८ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?