कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खडक नगरपालिकाका इन्जिनियर कुटिए

राजविराज — गुणस्तरहीन र अपूरो कामको मूल्यांकन भनेअनुसार नगरेको भन्दै सप्तरीको खडक नगरपालिकाका सव–इन्जिनियर विश्वप्रताप झालाई कुटपिट गरिएको छ । वडा ८ को एक उपभोक्ता समितिका सदस्य अबुल हुसेनले आफूले भनेअनुसारको मूल्यांकन किन नगरेको भन्दै बिहीबार साँझ कोठामै आई कुटपिट गरेको र मोबाइल खोसेर लगेको इन्जिनियर झाले जानकारी दिए ।

खडक नगरपालिकाका इन्जिनियर कुटिए

खडक नगरपालिका–८ स्थित एक सडकमा माटो तथा ग्राभेल गर्नका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आरोपी हुसेन नगर प्रमुख हेमायु हकका काका हुन् । ‘लगत, स्टिमेटअनुसार काम गुणस्तरहीन छ र अपुरो छ,’ सव–इन्जिनयर झाले भने, ‘तर मेयरका काकाले पूरै बजेटअनुसारको मूल्यांकन गर्न दबाब दिए ।’ भएका कामअनुसार मात्र मूल्यांकन गर्ने भन्दै आफूले बताएपछि गालीगलौज गर्दै कोठामा आएर मोबाइल खोसी कुटपिट गरेको झाले बताए । उनले नगर प्रमुखको आफन्तबाटै कुटिन थालेपछि काम गर्न असुरक्षा भएको बताउँदै न्यायका लागि प्रशासन गुहार्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरजकुमार देवले कुटपिट भएको बारे सव–इन्जिनियर झाले जानकारी गराएको बताए । ‘हामी नगरसभामा थियौं, सव–इन्जिनियर झामाथि कुटपिट भयो,’ अधिकृत देवले भने, ‘यो अवस्थामा काम गर्न सहज भएन्, हामी कर्मचारी बैठक बसी आवश्यक निर्णय लिन्छौं ।’ आरोपी अबुल हुसेनले आफूले कुटपिट नगरेको दाबी गरे ।

मूल्यांकन गर्न पैसा मागेको भन्दै आफूले मोबाइल मात्र खोसेको उनले बताए । नगर प्रमुख हकले सव–इन्जिनियर झालाई कुटपिट भएको बारे आफूलाई जानकारी आएको र दुवै पक्षको कुरा बुझिरहेको बताए । कर्मचारीहरूले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत देवलाई पत्र बुझाउँदै हुसेनलाई कारबाहीको माग गरेका थिए । तीन दिनभित्र दोषीलाई कारबाही नगरिए चौथो दिनदेखि कार्यालयको कामकाज ठप्प गर्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित : असार १३, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?