१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विरोधबीच पालिकाको बजेट

प्रदेश २ का पालिकाहरुले नाराबाजी र तालाबन्दी झेल्दै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्
करिब एक घण्टासम्म दुवै पक्षबीच ढुंगा हानाहान हुँदा सुरक्षाकर्मीसमेत घाइते भए । झडपकै बीच मौलापुरले नगरपरिषद् सम्पन्न गरेको छ ।

जनकपुर, रौतहट — बजेट र नीति तथा कार्यक्रम ल्याउँदा ‘महाभारत’ नै हुने प्रदेश २ का पालिकामा बिहीबार भएका धेरैजसो नगर–गाउँसभा पनि तनावग्रस्त बन्यो ।

विरोधबीच पालिकाको बजेट

प्रमुख–उपप्रमुख मिल्दा वडाध्यक्ष बिच्किने, प्रमुख–वडाध्यक्ष मिल्दा उपप्रमुख असन्तुष्ट हुने र फरक दलका जनप्रतिनिधिलाई पेलेरै जाने प्रमुख–उपप्रमुखको कार्यशैलीका कारण पालिकाका गाउँ–नगरसभा हरेक वर्ष विवादित र तनावमय बन्ने गरेको हो ।

प्रक्रिया मिचेर नगरपरिषद् गरेको आरोप लगाउँदै रौतहटस्थित मौलापुर नगरपालिकामा बिहीबार दुई पक्षबीच झडप नै भयो । दलहरूसमेत विरोधमा उत्रेपछि त्यहाँ भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गर्नुपर्‍यो । करिब एक घण्टासम्म दुवै पक्षबीच ढुंगा हानाहान हुँदा सुरक्षाकर्मीसमेत घाइते भए । झडपकै बीच मौलापुरले नगरपरिषद् सम्पन्न गरेको छ ।

पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सुरु भएको पाँचौं नगरसभा हलबाहिर कांग्रेस, माओवादी, जसपा (उपेन्द्र समूह) नेकपा एमाले (नेपाल) समूह र वडाध्यक्षले चर्को विरोध गर्न थालेपछि नगर प्रमुख रिनादेवी साह पक्षबीच झडप भएको थियो । दुवै पक्षबीच भिडन्त हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । कार्यपालिकाको बैठक बसेर नगरपरिषद्को मिति तय गर्नुपर्नेमा त्यसो नगरी एकलौटी ढंगले चल्न थालेपछि बाध्य भएर विरोधमा उत्रेको वडानम्बर १ का वडाअध्यक्ष रामप्रवेश यादवले बताए ।

नगर प्रमुख रिनादेवी साहले विकास विरोधीले नगरसभाको विरोध गरेको दाबी गरिन् । उनले सबै प्रक्रिया पूरा गरेर सभाको आयोजना गरेको बताइन् । बाहिर झडप भइरहँदा नगरपालिकामा भने नगरसभा चलिरहेको थियो । मौलापुरमा झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने हुन्छ । रौतहटमा प्रमुख–उपप्रमुखबीचको झगडा बीच अधिकांश नगरपालिकाले बिहीबार परिषद् सुरु गरेका छन् । मौलापुर, कटहरिया, गुजरा, इशनाथ, फतुवाविजयपुर, यमुनामाईमा विवादबीच परिषद् सुरु भएको हो । राजदेवी नगरपालिकाले ७ गते नै परिषद् सकेको जनायो । यो नगरपालिकामा उपप्रमुख अन्सु सिंहले परिषद् बहिष्कार गरिन् । देवाही गोनाही, गरुडा, बृन्दावन र बौधीमाईमा बिहीबार नगरपरिषद् भएन । यी नगरपालिकामा पनि विवाद छ ।

जनकपुरधाम उपमहानगरपालिकाको बिहीबार सार्वजनिक गरिएको बजेटमा धेरैजसो नगर सदस्यले नगरस्तरीय बजेट पारदर्शी गर्नुपर्ने माग गर्दै नगरसभामै नाराबाजी गरे । नगर प्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र र प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का बसेका मञ्च अगाडि पुगेर नगर सदस्यहरूले बजेट पारदर्शी र वडाका योजनाहरू सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरे । विरोध र नाराबाजी झेल्दै जनकपुरधाम उपमहानगरले आगामी वर्षका लागि १ अर्ब ४७ करोड, ३० लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ ।

यस्तै, धनुषाको सबैला नगरपालिकाको नगरपरिषद् भइरहेकै बेला स्थानीय युवाको समूहले चालु आर्थिक वर्षको हरहिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै सभास्थलमै हो–हल्ला गरे । नगरसभाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लछारपछार गर्दै युवाको समूह नगर परिषद्को सभाहलमा प्रवेश गर्न खोजेका थिए । तर, त्यहाँ प्रहरीको बाक्लो तैनाथी गरिएपछि युवा पछि हटेका थिए । धनुषाको मिथिला नगरपालिकामा भने बिहीबार नगरसभा प्रारम्भ भएलगत्तैदेखि स्थानीयले पालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरे । संघीय सरकारले ढल्केवरमा निर्माण गर्न बजेट विनियोजन गरेको ट्रमा सेन्टर अस्पताल नगर प्रमुख हरिनारायण महतोले आफ्नो स्वार्थका लागि लालगढ सार्न खोजेको आरोप लगाउँदै ढल्केवरवासीले नगरपरिषद्मा अवरोध गर्न खोजे ।

यस्तै, महोत्तरीको मटिहानी नगरपालिकाको पनि बिहीबार तालाबन्दी गरियो । कम्प्युटर खरिद, सोलार जडान र अन्य फुटकर योजनामा खर्चिएको बजेट सार्वजनिकको माग गर्दै विभिन्न दलआबद्ध नेता/कार्यकर्ताहरूले मटिहानी नगरपालिकाको कार्यालयमा ताला लगाइदिएका छन् । पालिकाको कार्यालयमा तालाबन्दी गरिए पनि मटिहानी नगरपालिकाको नगरसभा सम्पन्न गरिएको छ ।

गाउँ–नगरसभामा विवाद बढ्ने र स्थिति अप्रिय हुन सक्ने आकलन गर्दै प्रदेश २ का १ सय ३५ वटै स्थानीय तहमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जनकपुरस्थित नेपाल प्रहरी प्रदेश २ कार्यालयका अनुसार रौतहटको मौलापुरमा झडप भएको र अन्य सबैजसो स्थानीय तहमा समान्य विवादबीच नै नगर परिषद् सम्पन्न भएको छ । विवादकै कारण प्रदेश २ को दुई उपमहानगरपालिका कलैया र जितपुर–सिमराको बिहीबार परिषद् हुन सकेन ।

प्रकाशित : असार ११, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?