कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चालु वर्षकै भएन गाउँसभा

अवधेशकुमार झा

राजविराज — अन्य पालिकाहरू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटसहितको नगर तथा गाउँसभा गरिरहँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भने चालु आवकै सभा हुन सकेको छैन ।

चालु वर्षकै भएन गाउँसभा

गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र अन्य जनप्रतिनिधिबीचको विवादले गत वर्षको असार १० गते नै हुनुपर्ने गाउँसभा अझै हुन नसकेको हो ।

गाउँसभा नहुँदा चालु आर्थिक वर्षमा विकास निर्माण र ससर्त अनुदानसम्बन्धी रकम खर्च हुन सकेको छैन । लेखापाल बालगोविन्द साहका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक कुनै पनि रकम भुक्तानी भएको छैन । उनका अनुसार चालु आर्थिक वर्षको ससर्त अनुदानको ३ करोड रुपैयाँ फ्रिज हुने अवस्था छ । ‘गत वर्ष नै हुनुपर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसहितको गाउँसभा अझै हुन सकेको छैन,’ लेखापाल साहले भने, ‘आगामी आर्थिक वर्षको कुरा त के गर्नु ?’ उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत आएकाले केही गर्न सक्ने अपेक्षा गरे ।

गाउँसभा नहुनुमा गाउँपालिका अध्यक्ष मण्डल र अन्य जनप्रतिनिधिहरू भने एकअर्कालाई दोषारोपण गर्छन् । ‘गाउँसभा गराउन अध्यक्ष नै जिम्मेवार छैनन्,’ गाउँपालिका उपाध्यक्ष उषाकुमारी मण्डलले भनिन्, ‘कार्यपालिकाको बैठक बोलाउँछन् तर गाउँसभा गर्नेबारे कुरै गर्दैनन् ।’ अध्यक्ष मण्डलले गाउँसभा गर्नुपर्ने आफ्नो मात्र जिम्मेवारी नरहेको बताए । ‘परिषद् एक्लै अध्यक्षले मात्र गर्ने हो कि वडाध्यक्षहरूले पनि ?’ उनले भने, ‘म आफ्नो जिम्मेवारीमा पछाडि छैन ।’ उनले सभा नहुनुको कारण वडाध्यक्षहरूलाई सोध्नुपर्ने बताए । ‘दारु, मासु र पैसा लिएर चुनाव जितेकाहरू कसरी जनताको समस्या पहिचान गर्न सक्छन् त ?’ अध्यक्ष मण्डलले भने, ‘किन सभा हुन सकेन पत्ता लगाउनुपर्छ ।’

गाउँसभा नभए पनि अध्यक्ष मण्डलले पालिकाभित्रका विभिन्न योजनाको डीपीआर गरिएको भन्दै डेढ करोडभन्दा बढी रकम भुक्तानीका लागि निर्णय गर्न उपाध्यक्षसहित वडाध्यक्षहरूलाई दबाब दिएका छन् ।

उनले एकल आदेशमा घोडदह नदीको पुल, स्वास्थ्य चौकी, विद्यालय र सडकहरूको डीपीआर गरिएको भन्दै उक्त रकम भुक्तानीका लागि निर्णय गरिदिन दबाब दिएका हुन् । ‘गाउँसभाबिना कसरी डीपीआर गरिएको भुक्तानीको निर्णय गर्नु ?’ उपाध्यक्ष मण्डलले भनिन् ।

प्रकाशित : असार ११, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?