बेर्ना तयार नहुँदा सुरु भएन रोपाइँ

शंकर आचार्य

पर्सा — दुई सातायता जिल्लामा नियमित वर्षा भई रहे पनि किसानलाई खासै लाभ हुन सकेको छैन । अधिकांश किसानको अगहनी धान (असारमा रोप्ने) को बेर्ना तयार भइनसकेकाले खेतमा पानी लागे पनि रोपाइँ गर्न सक्ने अवस्था छैन ।

हरपतगंजका अगुवा किसान दामोदरप्रसाद यादवले अधिकांश किसानको धानको बेर्ना तयार नभएकाले जारी वर्ष हर्ष न विस्मात् बनाउने खालको रहेको बताए । ‘किसानको खेतमा पानी लागेको छ, तर रोपाइँ गर्न बेर्ना तयार भइसकेको छैन,’ उनले भने, ‘असारको तेस्रो साता लागेपछि मात्र बेर्ना रोपाइँ गर्ने लायक हुन्छ, बरु बेर्ना नै वर्षले बिगार्ला भन्ने चिन्ता पो अधिकांश किसानको छ ।’ यस वर्ष अनपेक्षित रूपमा जेठ मसान्तदेखि नै वर्ष भइरहेकाले किसानको धान खेती तालिका नै प्रभावित भएको उनले बताए ।

‘सामान्यतया तराईमा असार १५ देखि वर्ष हुने भएकाले रोपाइँ पनि यसै दिनदेखि सुरु हुने गर्छ,’ उनले भने, ‘तर यस वर्ष अनपेक्षित रूपमा जेठ मसान्तदेखि नै भारी वर्ष भइरहेकाले किसानलाई अन्योल भएको छ ।’

कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश चौरसिया पनि असार १५ देखि मात्र जिल्लामा अगहनी धानको रोपाइँ सुरु हुने बताउँछन् । ‘धानको बेर्ना तयार हुन पाएकै छैन,’ उनले भने, ‘यो धानको रोपाइँ अहिले नगण्य मात्रामा भएको छ ।’ गण्डक नहरको उत्तरी भेगमा किसानले थोरै परिमाणमा अगहनी धानको रोपाइँ गर्न भ्याए पनि अधिकांश किसानलाई अहिले रोपाइँभन्दा वर्षले बेर्ना क्षति होला कि भन्ने चिन्ता रहेको उनले बताए । यस वर्ष जिल्लामा ३५ हजार हेक्टर खेतमा अगहनी धानको खेती हुने चौरसियाले जानकारी दिए । यसअघि चैते धान ३ हजार ५ सय हेक्टरमा र भदैया धान ८ हजार ५ सय ५० हेक्टरमा खेती भएको उनले बताए ।

चैते धान अधिकांश किसानले भित्र्याइसकेका छन् । भदैया धानको भने बाला लाग्ने बेला भएकाले जारी वर्षले यो धान बालीलाई भने लाभ हुने उनले बताए । गत आवमा जिल्लामा ४७ हजार ५० हेक्टरमा धान खेती गरिएकोमा प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टनको दरले २ लाख २५ हजार ८ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो ।

अघिल्लो आवमा ४५ हजार हेक्टरमा धान खेती भएकोमा प्रतिहेक्टर ५ दशमलब ५ मेट्रिक टनका दरले २ लाख २७ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित : असार १०, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?