हात्तीको आक्रमणबाट एकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — जंगली हात्तीको आक्रमणबाट सर्लाहीको श्रीनगरमा मंगलबार राति एकजनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ५५ वर्षीय रामअषिस महतोको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मंगलबार अबेर राति जंगलबाट आएको हात्तीको समूहले महतोको छोरा बुहारी बसेको घरको घेराबेरा भत्काउन थालेपछि टर्च बालेर हेर्न आउने क्रममा हात्तीसँग आमुने सामुने भएका थिए ।

हात्तीसँग जम्काभेट भएको महतोलाई हात्तीले लछार पछार पार्दा स्थानीयको हो–हल्लापछि हात्तीको समूह भागेका थिए । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका महतोलाई उपचारको क्रममा लालबन्दीस्थित मोडेल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट महतोको घरमा समेत क्षति पुगेको छ ।

दुई महिनादेखि जिल्लाको उत्तरी चुरे क्षेत्रको जंगलमा बस्दै आएको हात्तीको समूह यसअघि भौतिक क्षति गर्दै आएको थियो ।

प्रकाशित : असार ९, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?