कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जनप्रतिनिधिको विवादले नगरपरिषद् प्रभावित

तोकिएको समयमा बजेट निकासा नहुँदा विकास निर्माणमा असर
शिव पुरी

रौतहट — आगामी वर्षको बजेट बाँडफाँट, योजना तर्जुमालगायत मुख्य कामको मुखमा रौतहटका नगरपालिकामा प्रमुख उपप्रमुखबीच झमेला सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी आर्थिक वर्षको बजेट असार १० गते ल्याइसक्नुपर्छ । जनप्रतिनिधिबीचको झमेलाले तोकिएको समयमा परिषद् नहुने स्पष्टजस्तै भएको छ ।

जनप्रतिनिधिको विवादले नगरपरिषद् प्रभावित

जिल्लाको देवाही गोहानी नगरपालिकामा परिषद्का लागि मंगलबार बैठक बस्न लाग्दा उपप्रमुख परनिया देवीले समय नभएको भन्दै अस्वीकार गरिन् । त्यसपछि प्रमुख धर्मेन्द्र पटेल तनावमा परे । ‘मैले समयमा परिषद् गरौँ । सरसल्लाह गर्न बसौं भन्दा उपप्रमुखज्यू समय छैन भनेर पन्छिनुभयो,’ उनले भने, ‘यस्तो पाराले समयमा परिषद् गर्न सकिँदैन । समझदारीमै नीतिगत निर्णयका साथ अघि बढौँ भनेको हो ।’

यो नगरमा सुरुदेखि नै प्रमुख र उपप्रमुखबीच झगडाले समयमै परिषद् हुन सकेको छैन । गत वर्ष पनि ढिलो गरी परिषद् भएको थियो । अहिले फेरि अवस्था उस्तै हुन लागेको नगर प्रमुख पटेलले बताए । उपप्रमुख परनियाले धेरै तयारीहरू गर्न बाँकी रहेकाले हतारमा परिषद् गर्न उचित नहुने दाबी गरिन् ।

राजदेवी नगरपालिकामा राजस्व परामर्श समितिको बैठक नै नबसी परिषद् गरेको भन्दै उपप्रमुख अंशु सिंहले बाहिष्कार गरिन् । नगरपालिका सदस्यहरूलाई जानकारी नदिई नियम प्रक्रियाबिना परिषद् हुन लागेको भन्दै रोक्नका लागि जिल्ला प्रशासन, समान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति रौतहटमा उनले उजुरी दिएकी छन् । ‘हचुवाका भरमा परिषद् गर्न मिल्दैन । यो देशमा नियमकानुन नै नभएको जस्तै भयो,’ उनले भनिन्, ‘परिषद्जस्तो स्थानीय तहलाई दिगो बनाउने सबालमा मेयर साबले एकलौटी गर्नुभयो । यो मान्य हुँदैन ।’

नगरप्रमुख धीरेन्द्र सिंहले बहुमत सदस्यलाई राखेर गएको सोमबार ७ गते परिषद् सम्पन्न गरेको दाबी गरे । यो नगरपालिकामा पनि सुरुकै वर्षदेखि समयमा परिषद् हुन सकेको छैन् । यता, कटहरिया नगरपालिकामा पनि अवस्था उस्तै छ । कटहरियामा मंगलबारसम्म राजस्व परामर्श समितिको बैठक बसेको छैन ।

उपप्रमुख नुरजहा खातुनले प्रमुख सियाराम कुशवाहाले परिषद्का लागि कस्तो खालको तयारी गरेको हो, आफूलाई थाहा नभएको बताइन् । ‘अहिलेसम्म कुनै किसिमको छलफल भएको छैन,’ उनले भनिन्, ‘यस्तो पाराले समयमा कसरी परिषद् होला ? मेयर साहबले बुझ्नुपर्ने कुरा हो ।’ नगरप्रमुख कुशवाहाले परिषद्का लागि व्यापक छलफल चलाइएको दाबी गरे । उनले अरू कुरा बताउन चाहेनन् ।

परिषद्कै विषयमा गत वर्ष फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवीले प्रमुख गोपालराय यादवविरुद्ध उच्च अदालत वीरगन्जमा मुद्दा नै दायर गर्नुपर्‍यो । बहुमत नै नभएको अवस्थामा परिषद् गरेको भनेर दिएको रिटमा अदालतले परिषद्को निर्णय कार्यान्वयन नगर्न भनेर आदेश गर्‍यो । अहिले समयमा परिषद् हुने नगरप्रमुख यादवको दाबी छ । गरुडा नगरपालिका पनि समयमा परिषद् सम्पन्न हुने छाँट छैन । गरुडा, यमुनामाई, कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर, राजदेवी, गुजरा नगरपालिकामा प्रमुख र उपप्रमुखबीच सुरुदेखि नै टकराब छ ।

स्थानीय तहभित्र सञ्चालन भएका विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपप्रमुखलाई दिएको छ । तर, त्यो अधिकार पनि नगर प्रमुखले प्रयोग गर्दै आएको भन्दै दुवैबीच टकराब हुँदै भएको छ । नगरपालिकाको काम कारबाहीमा प्रमुखले हस्तक्षेप गरिरहेको, अधिकांश न्यायिक समिति गठन भए पनि इजलास स्थापना नगरिएको, विवादित उजुरी पर्दा प्रमुख आफैंले तोक लगाएर उपप्रमुखको अधिकारमा ठाडो हस्तक्षेप गरिरहेको जस्ता गम्भीर आरोप लगाउँदै आएपछि दुवैबीच बोलचालसमेत राम्ररी हुन सकेको छैन । यही कारण नगर परिषद् प्रभावित हुँदै आएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले परिषद्कै बेला नगरपालिकाहरूमा झमेला सुरु भएको बताए । ‘राजदेवी नगरपालिकाबाट झमेला सुरु भयो । अरूको हालत उस्तै छ,’ उनले भने, ‘कुन–कुन पालिकामा विवाद र परिषद् हुने अवस्था छैन भन्ने यकिन गर्छु ।’

परिषद् हुनुअघि आन्तरिक आयका लागि राजस्व परामर्श समितिको निर्णयले चालु आर्थिक वर्षको बजेटबारे प्रतिवेदन तयार गर्नुपर्छ । राजस्व परामर्श समितिबाट बजेटबारे प्रतिवेदन बुझाउनुपर्छ । यीमध्ये अधिकांश नगरपालिकामा अहिलेसम्म प्रतिवेदन बुझाएका छैनन् । तोकिएको अवधिमा पारित नभए बजेट निकासा दिन मिल्दैन । हरेक वर्ष यहाँ बजेटकै कारण विकास निर्माणलगायतका नियमति काम प्रभावित हुँदै आएका छन् ।

प्रकाशित : असार ९, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?