१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मेसिन थपिएपछि नारायणी अस्पतालमा डायलसिस सहज

मर्मत सम्भार र केन्द्रबाट प्राप्त थप एक गरी एकैसाथ ९ वटा मेसिन सञ्चालन
शंकर आचार्य

पर्सा — डायलसिसका लागि लामै प्रतीक्षामा बस्नुपर्ने नारायणी अस्पतालमा अहिले भने मिर्गौला रोगीले सहजै सेवा पाइरहेका छन् । लामो समयदेखि बिग्रिएर थन्किएका दुईवटा मेसिनको मर्मत सम्भार र केन्द्रबाट प्राप्त थप एक गरी एकैसाथ ९ वटा मेसिन सञ्चालनमा आएपछि उपचार सहज भएको हो ।

मेसिन थपिएपछि नारायणी अस्पतालमा डायलसिस सहज

कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला उपकरण बिग्रिँदा मिर्गौला रोगीलाई समस्या भएको थियो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र प्रधानले एक महिनाअघि केन्द्रबाट थप एक मेसिन ल्याएपछि बिरामीलाई लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘हाल मासिक ३५ बिरामीको डायलसिस गरिँदै छ । जनशक्ति थप गरी अन्य प्राविधिक त्रुटिलाई सच्याएर मासिक ५० जनासम्मलाई सेवा दिने गृहकार्यमा छौं,’ उनले भने ।

निषेधाज्ञाले काठमाडौंबाट प्राविधिक आउन नपाउँदा बाँकी दुईवटा मेसिन मर्मत हुन नसकेको प्रधानले बताए । ‘सवारी आवागमन सहज भएलगत्तै ती मेसिन पनि बनाउँछौं,’ उनले भने । तर रोगीको चाप र उपलब्ध मेसिनका आधारमा डायलसिस कक्ष साँघुरो भएकाले समस्या भइरहेको डा. प्रधान बताउँछन् । ‘अस्पतालमा डायलसिस कक्षकै लागि भनेर भवन उपलब्ध छैन,’ उनले भने, ‘विगतमा दाताले बनाइदिएको बर्न वार्डमा यो कक्ष स्थापना गरी सेवा सुरु गरियो । हाल पनि विगतको आईसीयू कक्षमा डायलसिस कक्ष सञ्चालन गरिएको छ र यो पनि पर्याप्त छैन । यो कक्षको छत थुप्रै ठाउँमा सिपेज भएको छ ।’

हाल उपलब्ध मेसिनमध्ये आधा दर्जन सामान्य मिर्गौला रोगी, दुइटा कोरोना संक्रमित मिर्गौला रोगी र बाँकी आकस्मिक डायलसिसका लागि प्रयोग भइरहेको छ । थप दुइटा मेसिन सञ्चालनमा आए एचआईभी पोजिटिभ र हेपाटाइटिस ‘बी’ भएका मिर्गौला रोगीलाई पनि सेवा दिन सकिनेछ । ती बिरामीलाई साउनदेखि डायलसिस गराउने तयारी अन्तिम चरणमा पुगेको छ । ‘यो हाम्रो लामो समयदेखिकै योजना हो,’ उनले भने, ‘जनशक्ति थप गरेर साउनदेखि सेवा सुरु गर्छौं ।’

२०७१ असोज १३ बाट यो अस्पतालमा डायलसिस सेवा सुरु गरिएको हो । उपचार गराउन आउने अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका हुने गरेका छन् । बिरामीमध्ये महिलाको तुलनामा पुरुष बढी हुन्छन् । बिरामी ३० देखि ८५ वर्ष उमेरसम्मका हुने गरेका छन् । बिरामीलाई सरकारले निःशुल्क उपचार सेवा उपलब्ध गराउँछ । तराईका सरकारी अस्पतालमध्ये वीरगन्जपछि भरतपुर र जनकपुरमा मात्र डायलसिस सुविधा उपलब्ध छ ।

प्रकाशित : असार ८, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?