कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्त्रीको स्वागतमा भीड

कोरोना संक्रमणको जोखिम भए पनि स्वास्थ्य प्रोटोकलको सामान्य मापदण्ड पालनामा बेवास्ता
श्यामसुन्दर शशि

जनकपुर — नियुक्त भएयता संघीय सरकारका चार मन्त्री गृहजिल्लामा स्वागत–सम्मान समारोहमा सरिक भएका छन् । बाक्लै भीडभाड गरेर मन्त्री सहर–गाउँ डुलेर सम्मान थापिरहेका छन् । 

मन्त्रीको स्वागतमा भीड

कोरोना भाइरस संक्रमणको जोखिम बाँकी छँदै स्वास्थ्य प्रोटोकलको सामान्य मापदण्ड पनि पालना नगरिएका मन्त्रीका स्वागत–सम्मानमा भने जिल्लाका सुरक्षा, प्रशासनिक र सरकारी कर्मचारीको पनि सहभागिता देखिएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ गतसाता गृहजिल्ला धनुषा आइपुगे । उनी सम्मान थाप्न जनकपुर र उनको निर्वाचन क्षेत्रका विभिन्न गाउँसम्मै पुगे । जहाँ मन्त्री महासेठलाई लस्करै लाइनमा उभिएका सयौंले फूलमाला र गम्छा लगाइदिएर सम्मान गरे । मन्त्री महासेठ पनि भीडमै पुगेर सम्मान थापिरहे ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया पनि गतसाता गृहजिल्ला धनुषामा तीन दिन बसे । यो बसाइका क्रममा उनले पनि बाक्लै भीडभाड गरेर स्वागत र सम्मानका कार्यक्रममा सहभागी भए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले शुक्रबार र शनिबार धनुषा र महोत्तरीका विभिन्न स्थानमा गरिएका स्वागत तथा सम्मान कार्यक्रममा सहभागिता जनाइन् । उनलाई महोत्तरीको मटिहानी, जलेश्वर र जनकपुरमा सम्मान गरियो । उनको सम्मान कार्यक्रममा पनि बाक्लै भीड थियो । मन्त्री चौधरीले त कतिपय स्थानमा मास्कसमेत लगाएकी थिइनन् । मन्त्री नियुक्तिपछि गृहजिल्ला महोत्तरी पुगेकी चौधरी शनिबार पूजापाठ गर्न जनकपुरस्थित जानकी मन्दिर आइपुगिन् ।

जहाँ उनलाई जनता समाजवादी पार्टीनिकट महिला नेत्रीहरूले ५१ किलोको माला लगाइदिए । मन्त्री चौधरीलाई मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले कार्यक्रमै राखेर स्वागत गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि पहिलोपटक गृहनगर जनकपुर आएका अरगरियालाई जसपाका युवा नेताहरूले गत बुधबार उनको भानुचोकस्थित निवासमै पुगेर १ सय १ किलोको माला लगाएर स्वागत गरे ।

माला लगाउन सयौंको संख्यामा युवा मन्त्री अरगरियाको निवास पुगेका थिए । मन्त्री अरगरिया पूजापाठ गर्न सयौंको संख्यामा नेता/कार्यकर्ता लिएर जानकी मन्दिर पुगे । त्यो भीडमा धनुषाका सीडीओ बन्दुप्रसाद बाँस्तोला र एसपी प्रकाश रानाभाट पनि थिए ।

नेतालाई माला लोभ

मन्त्री–नेतालाई फूलमाला, खादा, गम्छा, पाग र फूलको गुच्छा प्रदान गरेर स्वागत गर्ने परम्परा छ । तर पछिल्लोपटक हजारौं मूल्य पर्ने धेरै ठूलो तौलको माला लगाउने प्रतिस्पर्धा नै चलेको छ । मन्त्री बनेलगत्तै यसअघि जनकपुर आएकी जुली महतोलाई एमाले नेता तथा कार्यकर्ताले जनकपुरको विमानस्थलमा १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका थिए । जनकपुरधाम उद्योग वाणिज्य संघको साधारणसभामा सहभागी हुन आएका तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पनि १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

पाहुनालाई फूलको माला लगाएर स्वागत गर्ने मिथिलाको परम्परा भए पनि पछिल्लोपटक महँगो तथा गह्रुँंगो माला लगाएर मन्त्री–नेतालाई खुसी पार्ने प्रतिस्पर्धा नै चलेको छ । ‘आफ्ना नेतालाई स्वागत गर्नु नराम्रो होइन । तर महँगो र ठूला माला लगाउनु भनेको चम्चागिरी नै हो । पञ्चायतकालमा तत्कालीन प्रहरी प्रशासन तथा शासक वर्गलाई चिढाउन लोकतन्त्रवादी नेताको पक्षमा नाराबाजी गरिन्थ्यो । घरघरबाट फूल बटुलेर माला बनाइन्थ्यो । अहिले त फूलमालामै लाखौं खर्च भएको देख्छु,’ राष्ट्रिय सभाका पूर्वसांसद बृषेशचन्द्र लालले भने ।

एक सय किलोको माला बनाउन कम्तीमा १५ हजार रुपैयाँ खर्च हुन्छ । जनकपुर बजारमा उपलब्ध हुने अधिकांश फूल भारतको कोलकाताबाट आयात हुन्छ । आरके प्लावर एन्ड गिफ्ट हाउसका सञ्चालक धर्मवीर भण्डारी पछिल्लोपटक ५१ किलोभन्दा बढी तौलको मालाको माग अत्यधिक बढेको बताउँछन् । ‘दुई–तीन वर्षयता धेरै तौलको मालाको माग बढेको छ । पहिले त सुगन्धित फूलको आकर्षक मालाको माग हुन्थ्यो । हामी स्थानीय फूलबाट आकर्षक माला बनाएर दिन्थ्यौं,’ भण्डारीले कान्तिपुरसँग भने ।

मन्त्रीहरूलाई बढी तौलको माला लगाउनेमा स्थानीय सरकारका जनप्रतिनिधि, ठेकेदार तथा पार्टीको युवा कमिटीका पदाधिकारी हुन्छन् । एक अभियन्ताका अनुसार मन्त्रीहरू आफैं पैसा दिएर माला बनाउन लगाउँछन् अनि पहिरिएर गर्व गर्छन् ।

प्रकाशित : असार ७, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?