कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमआरआई खरिद प्रक्रियामा विवाद

बोलपत्रमा एक कम्पनीसँग मात्र मिल्ने मापदण्ड राखेर अन्यलाई प्रतिस्पर्धा नै गर्न नदिने चलखेल भएको आरोप
सन्तोष सिंह

धनुषा — प्रादेशिक अस्पताल जनकपुरको एमआरआई खरिद टेन्डर विवादित बनेको छ । अस्पतालले जेठ ७ गते आह्वान गरेको बोलपत्रमा राखिएको स्पेसिफिकेसन एक कम्पनीसँग मात्र मिल्ने र छनोट हुने देखिएकाले खरिद प्रक्रिया विवादित बनेको हो ।

एमआरआई खरिद प्रक्रियामा विवाद

अस्पताल र सामाजिक विकास मन्त्रालयले फिलिप्सको इन्डिपिडेन्ट इन्जिनियाएम्बिसन खरिद गर्न मिल्ने गरी बोलपत्रमा सर्त राखेका हुन् । अस्पतालले बोलपत्रमा न्यूनतम आरएफ च्यानल ४० वाइन्डिपिडेन्ट सर्त राखेको छ । यस्तो सर्त राखेर खरिद प्रतिस्पर्धामा अन्य कम्पनीलाई सहभागी नै गर्न नदिने चलखेल भएको सप्लायर्सहरूको आरोप छ । एउटा कम्पनीसँग मेल खाने शब्द च्यानेल इन्डेपेन्डेन्ट टर्म फिलिप्स कम्पनीको हो । च्यानेल ३२ र यसभन्दा बढी राखेको भए सिमेन्स कम्पनी र जिई कम्पनीले प्रतिस्पर्धा गर्ने पाउँथे ।

‘आर्थिक चलखेल गरी अस्पताल प्रशासनले एक मात्र कम्पनी क्वालिफाइड हुने स्पेसिफिकेसन राखेका छन्,’ एक सप्लायर्सले भने, ‘अस्पतालले देखावटी रूपमा बोलपत्र आह्वान गरेको छ ।’ सिमेन्सको ३२ च्यानल र जिईको ३६ च्यानल उपलब्ध हुन सक्ने एमआरआई उपकरणलाई छनोटको प्रक्रियामा सहभागी नगराउन आरएफ च्यानल ४० वाइन्डिपिडेन्ट सर्त राखिएको अस्पताल स्रोतको दाबी छ । एमआरआई खरिदका लागि करिब १७ करोडमा बोलपत्र आह्वान भएको हो । बोलपत्रमा उल्लेख भएको सर्तअनुसार खरिद हुने फिलिप्सको इन्डिपिडेन्ट इन्जिनियाएम्बिसन १४ करोड रुपैयाँको आसपासमा उपलब्ध हुन सक्ने प्राविधिकको दाबी छ । १७ करोड बजेटमध्ये अन्य रकम बाँडफाँट गर्ने तयारी भएको अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए ।

स्रोतका अनुसार सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साहले मधेस स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई मिलाएर फिलिप्स कम्पनिको रिफर्मिस (प्रयोगमा आएको पुरानालाई नयाँ बनाएर) एमआरआई खरिद गर्न सेटिङ मिलाएका छन् । नयाँ उपकरणलाई पर्ने मूल्यको ७० प्रतिशतमात्रै दिएर अन्य रकम मन्त्रीका छोरा साहले आफैं राख्न प्राविधिकलाई प्रलोभनमा पारेर एमआरआई खरिद गर्न लागेको आरोप छ ।

साहले खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको र आफूमाथि लागेको आरोप निराधार र गलत रहेको बताए । ‘उपकरण खरिद भइरहेकोबारे थाहा छ । अन्य विस्तृत विवरण अस्पतालबाट बुझ्नुपर्छ । खरिद प्रक्रियाबारे र बोलपत्रको सर्तबारे मलाई जानकारी भएन,’ उनले भने, ‘खरिद प्रक्रियामा मेरो नाम जोड्नुको कुनै तुक छैन । मेरो संलग्नता छैन ।’

जेठ २४ गते बोलपत्रको प्रिविड बैठकमा सप्लायर्सले उठाएको प्रश्नको जवाफै नदिई अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडि बढाएको हो । खरिद प्रक्रिया विवादास्पद भएको भन्दै सप्लायर्सहरूले प्रक्रिया सच्याएर बोलपत्रको म्याद थप गर्न माग गरेको छन । सप्लायर्सहरूले उठाएको प्रश्नमाथि छलफल गर्न बायोमेडिकल इन्जिनियरलाई जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रमोद यादवले बताए । तीन कम्पनी फिलिप्स, सिमेन्स र जिईसँग छलफल गरी आवश्यक मापदण्ड अनुसारको उपकरण खरिद गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले प्रादेशिक अस्पताललाई एमआरआई खरिद गर्न अनुमति दिएको बताए । गत आर्थिक वर्षकै बजेटमा लागत स्टिमेटसहित अस्पतालले मन्त्रालयलाई जानकारी गराएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय, सुझाव माग गरेर खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । यसमा प्राविधिकहरूले पनि सहमति जनाएको दाहालको जानकारी दिए । ‘खरिदको सम्पूर्ण जिम्मेवारी अस्पताललाई दिएको र प्राविधिक कुरा मन्त्रालयलाई जानकारी पनि हुँदैन,’ उनले भने ।

प्रकाशित : असार ६, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?