निषेधाज्ञामा लागूऔषध कारोबारी सक्रिय

चालु आर्थिक वर्षमा १ सय ५३ जना पक्राउ
शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा पार्किङ गरिएको ट्रकबाट पर्सा प्रहरीले मंगलबार अपराह्न ५ बजेतिर ६५ किलो गाँजा बरामद गर्‍यो । वाग्मती प्रदेश ०१–००६ख–१८२८ नम्बरको ट्रक चालक मकवानपुर, मनहरी गाउँपालिका–६ नयाँ बस्तीका राजकुमार मोक्तान पक्राउ परे ।

निषेधाज्ञामा लागूऔषध कारोबारी सक्रिय

मालबाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि लागूऔषधका कारोबारीहरू निषेधाज्ञाको समयमा पनि सक्रिय रहेको प्रहरीको अनुमान छ । लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाका प्रयोग गरिन्छ । मुलुकको सर्वाधिक आयात निर्यात हुने नाका वीरगन्ज लागूऔषध ढुवानीको पनि ट्रान्जिटको रूपमा बदनाम छ ।

भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपामजस्ता औषधि बोकेर आउनेहरू प्रायजसो वीरगन्ज तथा छेउछाउका नाकाबाट पक्राउ पर्न थालेका छन् । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेकाहरूभन्दा निकै बढी रहेको अनुमान छ । प्रतिबन्धित लागूऔषध नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ । लागूऔषधको ढुवानीकर्ता प्रायः केही अवधिको जेल सजाय काट्छन् । तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीहरूले यो नाकाबाट भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पुग्छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट गरी १ सय ५३ जना लागूऔषध तस्कर/कारोबारी पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ सय ३४ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६३ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार १ सय २९ थान फेनारगन, ६ हजार ९ सय ३८ थान डाइजिल्याब, ६ हजार ९ सय १७ थान नुर्फिन, ७ हजार ८ सय ८९ थान निट्राभेट ट्याबलेट र १ हजार ९ सय ९९ थान कोरेक्स बोतल बरामद गरेको थियो ।

गत आवभन्दा चालु आवमा गाँजाबाहेक अन्य लागूऔषध झन्डै दोब्बर बढी बरामद भएको छ । आव २०७६/२०७७ मा लामो समय लकडाउन हुँदासमेत १ सय ७२ जना लागूऔषध तस्कर/कारोबारी पक्राउ परेका थिए । उनीहरूका साथबाट ६ सय २४ किलो गाँजा, २८ किलो चरेस, ४१ ग्राम हेरोइन, १ किलो अफिम, ३ हजार ५३ थान फेनारगन, ३ हजार ३ सय ६४ थान डाइजिल्याब, ३ हजार १ सय ११ थान नुर्फिन, ६ हजार १२ थान निट्राभेट ट्याबलेट र ८ सय ३४ थान कोरेक्स बोतल बरामद गरेको थियो ।

सीमा नाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिकजसो वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनी पनि प्रशस्त छन् । उनीहरूले थोरबहुत लागूऔषध बोकेर ल्याउँछन् र बिक्रीसमेत गर्छन् । पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ वर्ष उमेरका छन् । तीमध्ये पनि अधिकांश पर्साभन्दा बाहिर जिल्लाका हुन् । नेपाल र भारतीय प्रहरीले बेलाबेलामा गर्ने दुई पक्षीय बैठकमा रक्सौलमा खुलेआम पाइने नियन्त्रित लागूऔषधको बारेमा चर्चा हुँदैन । अन्य अपराध तथा अपराधी नियन्त्रणका लागि गरिने साझा प्रयासजस्तै लागूऔषधको हकमा उति सारो प्रयास गरिदैन ।

वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेकाहरू मात्र छन् । लागूऔषध ढुवानी गर्नेमा महिला पनि छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनाल प्रहरीले आफ्नो क्षमता र जनशक्तिको अत्यधिक उपयोग गरेर लागूऔषध ढुवानीकर्ता तथा प्रयोगकर्ता पक्राउ गर्न कुनै कसर बाँकी नराखेको दाबी गर्छन् ।

तर पेसेवर कारोबारीहरूले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सक्रियता नछोड्ने, निषेधाज्ञाको समयमा यस्ता वस्तुको माग झनै बढ्ने र महँगो मूल्यमा बिक्री गर्न पाइने भएकाले कारोबारी सक्रिय हुन सक्ने उनले बताए ।

‘नेपाल र भारतमा निषेधाज्ञा रहेकाले लागूऔषध कारोबारीले यस्तो समयको लाभ उठाउन खोजेको हुन सक्छ,’ उनले भने, ‘पर्सामा हाल लागूऔषध गाँजाको खेती नगन्य मात्रामा छ । तर मकवानपुरको विकट पहाडी गाउँहरूमा अझै पनि गाँजा खेती भइरहेकाले कारोबारीले त्यहाँबाट गाँजा ल्याई पर्साको बाटोबाट भारतसम्म लग्ने गरेका छन् ।’

प्रकाशित : असार ५, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?