कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बाँध मर्मत अन्तिम चरणमा

वाग्मती र लालबकैया नदीको बाढी रोक्न २८ स्थानमा काम हुँदै
शिव पुरी

रौतहट — बाढीले भत्किएको वाग्मती र लालबकैयाको बाँध मर्मत अन्तिम चरणमा पुगेको छ । वाग्मतीको पश्चिमी र पूर्वी १२, लालबकैयाको पूर्वी र पश्चिमी १६ गरी २८ स्थानमा धमाधम बाँध मर्मत भइरहेको हो ।

बाँध मर्मत अन्तिम चरणमा

बाँध चर्किएर बाढी गाउँ पसेपछि गत वर्षर् जिल्लाका धेरै बस्ती डुबानमा परेका थिए । अहिले नदी कटानबाट जोगाउन ठाउँ/ठाउँमा स्पर र बाँध भइरहेको हो । बजेट अभावले मर्मत हुन नसकेपछि गत वर्ष नै जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराएको थियो ।

गृहको पहलमा वाग्मती, लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरले काम थालेको हो । मर्मतस्थलमा शुक्रबार प्रजिअ इन्द्रदेव यादवको नेतृत्वको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । समयमै बाँध मर्मतले धनजनको क्षतिबाट जोगिने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको जिरोदेखि १७ किलोमिटर उत्तरसम्मको वाग्मतीको बाँध उच्च जोखिममा परेको थियो । उक्त क्षेत्रमा पर्ने वसन्तपुर, मत्सरी, चन्डिया, ब्रह्मपुरी, गंगापिपरा र रजवडा गाउँ जोखिम रहेको नदी नियन्त्रण आयोजना प्रमुख अख्लाख सिद्धिकीले बताए । ‘गत वर्ष पनि बजेट अभाव हुँदाहुँदै मर्मतको काम भएकै हो,’ उनले भने, ‘यस वर्ष पनि बजेट निकासा भएन । तर काम सुरु गरेर अन्तिम चरणमा पुगेको छ । यसले स्थानीयलाई धेरै राहत पुगेको छ ।’

नदी नियन्त्रण कार्यालयले वाग्मती र लालबकैयाको २८ स्थानमा बाँध मर्मतका लागि ४१ करोड ४९ लाख रुपैयाँ खर्च हुने भन्दै विभाग र मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि मन्त्रालयका प्राविधिक टोलीले स्थलगत अनुगमन गरी गत चैतमा नै अर्थ मन्त्रालयमा बजेट माग गरेको थियो । तर अहिलेसम्म निकासा नभएको प्रमुख सिद्धिकीले जानकारी दिए । वाग्मतीको दक्षिण, उत्तरसम्म १७ वटा स्परमध्ये १, २, ५, १०, ११ र १२ लाई तत्कालै मर्मत गर्नुपर्ने देखिएपछि गएको वैशाखदेखि काम सुरु भएको थियो । स्पर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समयमा मर्मत र स्पर निर्माण सकिए बाढी र विपत्बाट क्षति रोकिने प्रजिअ यादवले बताए । ‘यस वर्ष वर्षायाममा औसतभन्दा बढी वर्षा हुने र मनसुन चाँडै सुरु हुने पूर्वानुमान रहेकाले तटबन्धलाई दुरुस्त बनाउन लागिएको हो,’ उनले भने, ‘वाग्मती र लालबकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हरसम्भव प्रयास भइरहेको छ ।’

भारत सरकारले सन १९८९ मा झन्डै ३३.५ किलोमिटर लामो बाँध निर्माण गरेको थियो । त्यही बाँधले बस्ती जोगाए पनि पछिल्लो समय मर्मत अभावले भत्किएर पानी पस्ने गरेको थियो । वाग्मती बाँधको आडैमा झन्डै ३ सय घरपरिवार बसेका छन् । उनीहरू बढी जोखिममा छन् । गत वर्षको जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि २९ स्थानमा भत्किएको थियो । गत वर्ष बाँध भत्किएपछि पानी पसेर जिल्लाको गंगापिप्रा, राजदेवी, ईशनाथ नगरपालिकालगायत धेरैजसो ठाउँ डुबानमा परेको थियो । लालबकैयाले ईशनाथलगायत उत्तरका गाउँहरू र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायतमा सबैभन्दा बढी क्षति पुर्‍याउँदै आएको छ ।

दुवै नदीको सम्भावित खतरा अनुमान गर्न नसक्दा र पूर्वतयारी नहुँदा बढी क्षति हुने गरेको हो । लालबकैयाको पश्चिमी भेगको वैरिया, फतुहा, पोखरिया, तेजापाकड, खोरिया, बुटुवालक्ष्मीनिया, इनर्वा, मर्यादपुर, गम्हरिया, बुनियाद, लक्ष्मीनिया क्षेत्रका स्थानीय वर्षा र बाढीका बेला त्रासमा बस्छन् । लालबकैयाको सीमा क्षेत्र टिकुलियामा गत वर्ष भत्किएको बाँध भारतीय पक्षले मर्मत गर्न दिएको थिएन् । प्रजिअ यादवको पहलमा यस पटक मर्मत गरिएको नियन्त्रण कार्यालयले जनायो ।

प्रकाशित : असार ४, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?