१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘कार्यकर्ता पोस्ने बजेट’

जनकपुर — प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट राजनीति दलका नेता–कार्यकर्ता पोस्ने र धार्मिकस्थल वरिपरि मात्रै केन्द्रित रहेको अर्थविद्ले बताएका छन् । बजेटमा ‘अबन्डा’ शीर्षकमा धेरै रकम राखेकोमा पनि उनीहरूले आश्चर्य मानेका छन् ।

‘कार्यकर्ता पोस्ने बजेट’

धर्मनिरपेक्ष मुलुकमा धार्मिक क्षेत्रको विकास र प्रवर्द्धन तथा मठमन्दिर, गुम्बा, मस्जिद, मदरसा, कब्रगाह र पोखरी संरक्षणलगायतमा बजेटको एक हिस्सा नै रकम विनियोजन गरिएको अर्थविद् प्राध्यापक सुरेन्द्र लाभले बताए । बजेट विकासभन्दा बढी नेता–कार्यकर्ता पोस्ने खालको रहेको उनको आरोप छ ।

‘प्रदेश सरकारले बजेटमा योजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सकेको छैन । कोरोनाले थला परेको अर्थतन्त्र उकास्न, स्कुल जानबाट वञ्चित बालबालिकाको शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्थ्यो,’ उनले भने ।

बजेटमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन शीर्षकमा एक अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । धार्मिक क्षेत्रको विकास र प्रवर्धनका लागि १६ करोड, प्रत्येक निर्वाचन क्षेत्रमा एक जलाशय/पोखरीको संरक्षण संवर्द्धन एवं व्यवस्थापनका लागि ३२ करोड, निर्माणाधीन मठमन्दिर, गुम्बा, मस्जिद, कब्रगाहलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा निर्माणका लागि १८ करोड र पौराणिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाका लागि १५ करोड रकम छुट्याइएको छ ।

यस्तै, अबन्डा शीर्षकमा राखेको बजेट सत्तारूढ पार्टीका नेता–कार्यकर्ता तथा पहुँचवालाले आफूअनुकूल विनियोजन गराउँदै आएका छन् । ‘अर्थशास्त्रमा अबन्डा बजेट राम्रो मानिँदैन । शीर्षकअनुसार बजेट आउँदा पारदर्शी पनि हुने, अनि सरोकारवालाले छलफल पनि गर्न सक्छन्,’ प्रदेश २ सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले भने । बजेटमा एक वर्षदेखि नियमित पठनपाठन गर्न नपाएका बालबालिकाका लागि सम्बोधन नगरेको नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवको आरोप छ ।

बजेटमा शिक्षा र स्वास्थ्यका लागि थोरै रकम छुट्याइएको अर्थविद् प्रा. लाभको भनाइ छ । उनले कोरोनापीडितको राहत, निजी क्षेत्रको योगदान तथा सहकारी संस्थासँग भएको पुँजीको उपयोगबारे पनि सरकारले नसोचेको बताए । आयोगका उपाध्यक्ष झाले स्वास्थ्य क्षेत्रमा साढे १२ प्रतिशत तथा शिक्षाका लागि झन्डै ८ प्रतिशत रकम विनियोजन गरिएको दाबी गरे । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिए पनि आम नागरिकको ध्यान अबन्डा बजेटतिर मात्र आकर्षित भएको देखियो,’ उनले भने ।

बजेटमा अर्थशास्त्रभन्दा पनि राजनीतिक अर्थशास्त्र हाबी भएको उनले स्वीकार गरे । प्रदेश सरकाले मंगलबार ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको हो ।

प्रकाशित : असार ३, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?