प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलद्वारा अवरुद्ध
धनुषा — प्रदेश २ का विपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले सरकारले ल्याएको बजेट टेबल हुन रोकेका छन् ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि ३० मिनेटका लागि स्थगित भएर पुन: बसेको प्रदेश सभा बैठक विपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ एमाले र माओवादीका सांसद उभिएर बैठक अवरुद्ध गरेका छन् ।
प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले निर्वाचित प्रदेश सांसदलाई निर्वाचन क्षेत्र विकासका लागि ५ करोड र समानुपातिकका सांसदलाई २ करोड ५० हजार बजेट दिनु पर्ने माग गरे ।
प्रदेश सरकारको बजेट खर्च नभएर फ्रिज भइरहेको अवस्थामा प्रदेशको विकास प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट मात्र भएको दाबी गर्दै प्रदेश सांसद निर्वाचन क्षेत्र विकासको बजेट बढाउनु पर्ने अडान राखे । दुई वर्षदेखि एकैनासको ३ करोड बजेट पाइरहेको र चालु आर्थिक वर्षमा रकम बढाउनु पर्ने विश्वकर्माले माग गरे । 'समानुपातिक विकासका लागि सरकारको बजेट फ्रिज हुनबाट बचाउन समानुपातिका सांसदलाई २ करोड ५० लाख र निर्वाचित सांसदको ५ करोड दिनु पर्ने पर्छ', उनले भने । एमाले सांसद विश्वकर्माको मागमा माओवादी केन्द्रका सांसद दिलीप साहले समर्थन जनाएर प्रदेश सभा अवरुद्ध गरेका थिए ।
विपक्षी दलका सांसद प्रदेश सभामा बस्न नमानेर उभिएपछि सभामुख सरोज यादवले प्रदेश सभा बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
प्रकाशित : असार १, २०७८ १९:२६