रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा 

शिव पुरी

रौतहट — रौतहटमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । जेठ ३१ गतेसम्म जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । प्रशासनले यस पटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित संचालनको अनुमति दिइएको छ ।

विद्युत्, खानेपानी, ग्यास, स्वास्थ्य, दूरसञ्चार, दूध, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका सबै निकाय र सेवालाई निषेध गरिएको छ । एम्बुलेन्स, शव वाहन, दमकललगायत पास प्राप्त सवारीलाई मात्र सचालनको अनुमति दिइएको प्रजिअ यादवले बताए । ‘विवाह, व्रतबन्ध र मृत्यु संस्कार लगायतका काममा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ,’उनले भने,‘स्वास्थ्य मापदण्ड अपनाउँदै प्रशासनले जारी गरेको निर्देशनबाहेक गर्न दिँदैनौं । संक्रमण अझै टरीसकेको छैन ।’

कोरोना महामारीको श्रृंखला रोक्न उपयोगी देखिएको भन्दै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिइएको जनायो । प्रशासनले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते रातिबाट सकिएको थियो । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ । संक्रमण रोक्न प्रशासनले पाचौ पटक निषेधाज्ञाको अवधि थपेको हो ।

संक्रमणले जिल्लामा मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७ सयबाट घटेर १ सय ४८ मा झरेको छ । १ हजार २ सय ९१ संक्रमण पुष्टि भएकोमा अहिलेसम्म १ हजार ९० जना निको भएर घर फर्कका छन् । अब संस्थागत आईसोलेसनमा ३ जनामात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : असार १, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा असार १० सम्म निषेधाज्ञा

विप्लव महर्जन

सल्यान — सल्यानमा पाँचौ पटक निषेधाज्ञा थपिएको छ । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तथा मृत्युदरमा पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै एक साताका लागि पाँचौ पटक निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको मंगलबार बसेको बैठकले असार ३ गते बिहान १ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । उनका अनुसार बैठकले जिल्लामा रहेका बैंकहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दैनिक सञ्चालन गर्न पाउने र सरकारी कार्यालय कर्मचारी आलोपालो गरी सञ्चालन गर्ने निर्णय गरेको छ । सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उनले जानकारी गराइन् ।

सरकारी कार्यालय तथा बैंक, टेलिकमका सवारीसाधन बिहान ८ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म कार्यालयमा आउजाउ गर्न पाउने र अन्य अत्याबस्यक सवारी साधनमा ब्यानर राखेर सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी हुमागाईले बताइन् । ‘बैठकले गरेको निर्णय अनुसार तरकारी, फलफूल, माछामासु, दाना, एग्रोभेट, डेरी, खाना पकाउने ग्यास तथा खाद्यान्न पसल दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने छन्’ उनले भनिन् ।

कोरोना महामारी पुर्ण रुपमा नियन्त्रण नभएकाले अनिबार्य काम बाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कन तथा घरबाट बाहिर निस्कन पर्दा अनिवार्य रुपमा मास्क तथा स्वास्थ्य सचेतना अपनाइ आउजाउ गर्न उनले आग्रह गरेकी छन् । कोरोनाको संक्रमण बढदै गएपछि वैशाख १९ देखि जिल्लामा निषेधाज्ञा सुरु गरिएको थियो ।

प्रकाशित : असार १, २०७८ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×