सर्लाहीमा कांग्रेस सदस्यता विवाद- प्रदेश २ - कान्तिपुर समाचार

सर्लाहीमा कांग्रेस सदस्यता विवाद

ओमप्रकाश ठाकुर

सर्लाही — नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सर्लाहीमा सदस्यता विवाद चुलिएको छ । यहाँ एक पक्षले अर्को पक्षको सदस्यता रोक्ने प्रयास गरिरहेका छन् । आफ्नो पक्षको सदस्यताको डकुमेन्ट पूरा गर्ने अर्को पक्षको डकुमेन्ट र फाराम नै लुकाएर राख्ने जस्ता कामले दुई पक्षबीचको दूरी बढ्दै गएको छ । 

कांग्रेसको अधिवेशन भदौमा तोकिएको छ । कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने निवर्तमान सभापति लक्ष्मण राय रामचन्द्र पौडेल निकट । उनीहरू दुवै गुट उपगुटमै रुमल्लिएका छन् । सभापति रायले पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ ।

सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए । रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए ।

‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’ अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे । उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए ।

सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पुर्‍याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ उनले भने । कांग्रेसका असन्तुष्ट नेताहरूले सदस्यता विवाद तत्काल समाधान गर्दै आफूले गरेको गल्ती सच्याउन आग्रह गरे ।

जिल्ला सभापति रायले निवर्तमान सभापति रायले महाधिवेशन प्रतिनिधिमा हार्ने डरले विभिन्न किसिमको जालझेल तथा प्रपञ्च रचेको आरोप लगाए । उनले जिल्लाबाट क्षेत्र नम्बर २ का सभापति दिनेश मिश्रले सदस्यताका लागि लगिएको फाराम आम सदस्यलाई भर्नुको साटो निवर्तमान सभापतिको घरमा राखेको दावी गरे । सभापति रायले अर्को गुटबाट विभिन्न किसिमको जालझेल हुन थालेपछि आफूले पनि उनीहरूको वर्चस्व रहेको स्थानको नवीकरण र नयाँ सदस्यता रोकेको स्वीकार गरे । उनले विवाद समाधानका लागि पटकपटक पहल गरे पनि उनीहरू नमान्ने र विभिन्न किसिमको प्रपञ्च रच्ने काम गर्दै आएको बताए ।

‘उनीहरूले आठ स्थानमा सदस्यता र नवीकरणका लागि फाराम वितरण गर्न मानेनन्, उनीहरूले त्यसो गरेपछि मैले पनि एक दुई ठाउँमा रोके,’ उनले भने, ‘विवाद मिलाउन केन्द्रीय नेताहरू राखेरसमेत छलफल गरे पनि उनीहरू मान्न तयार भएका छैनन् ।’ जिल्लाका दुवै पक्षका नेता गुट उपगुटमा रुमल्लिँदा कार्यकर्ताको मनोबल भने खस्दै गएको छ । यसले संगठनलाई पनि क्षति पुगिरहेको आम कार्यकर्ताको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा ‘चित्तबुझ्दो’ व्यवस्थापन

ठूला अस्पताल र अक्सिजन प्लान्ट हुँदा कोरोनाका बिरामीलाई अन्यत्रको जस्तो शय्या र अक्सिजन अभाव भएन
रमेशकुमार पौडेल

चितवन — कोरोनाको दोस्रो लहरमा चितवनमा संक्रमित हुनेको संख्या अत्यधिक रह्यो । सक्रिय संक्रमितको संख्या नै ५ हजार आसपास पुग्यो । यहाँका अस्पतालमा बाहिरी जिल्लाका बिरामीको चाप पनि उत्तिकै थियो । तर अन्यत्रको जस्तो शय्या अभाव र अक्सिजन नपुगेर बिरामी छट्पटिनुपर्ने अवस्था सिर्जना भएन ।

पहिलो लहरको तुलनामा यसपटक संक्रमितको संख्या धेरै त थियो नै, गम्भीर अवस्थाका बिरामी पनि अत्यधिक थिए । तर मृत्युदर भने कम रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा जिल्लामा संक्रमितमध्ये १.६ प्रतिशतको मृत्यु भएको उल्लेख छ । गत कात्तिक २० मा जारी यस्तै विवरणमा यो संख्या २ प्रतिशत थियो ।

कार्यालयले प्रत्येक पाँच–सात दिनको अवस्था विश्लेषण गर्दै यस्तो विवरण सार्वजनिक गर्दै आएको छ । कात्तिक २० पछि मृत्युदर कम हुँदै वैशाखको अन्तिम दुई साता १.४ प्रतिशतसम्म खुम्चेको थियो । अवस्था बिग्रन सक्छ भनेर पहिल्यैदेखि तयारी गरेका कारण चितवनमा अन्यत्रको जस्तो अस्तव्यस्त अवस्था नआएको चिकित्सक तथा सरकारी अधिकारीहरू बताउँछन् । ‘संक्रमितको संख्या अत्यधिक भए पनि उपचारमा त्यति धेरै भद्रगोल हुन पाएन । भरतपुरमा उपचार गर्न सक्ने क्षमता रहेछ भन्ने योपटक देखियो,’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने । खोप लगाएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्धक्क भई संक्रमितको राम्रो स्याहार र निगरानी गरेको उनको दाबी छ । ‘राम्रो उपचार पाएका कारण पनि मृत्युदर कम भएको हो,’ उनले भने ।

चितवनमा जेठ १४ मा अहिलेसम्मकै सर्वाधिक चार हजार ९ सय ३५ जना सक्रिय संक्रमित थिए । यहाँका अस्पतालमा कम्तीमा १४ जिल्लाका संक्रमित उपचारका लागि आएका तिवारीले जनाए । उनका अनुसार जेठ ४ मा ५ सय ३७ जनासम्म बिरामी भर्ना थिए । तर शनिबार सक्रिय संक्रमित १७ सय र अस्पतालमा ३ सय ६ जना मात्रै उपचाररत छन् । ‘पछिल्लो समय संक्रमण दर पनि घटेको छ । अहिले संकलित नमुनामध्ये १५ प्रतिशतमा संक्रमण देखिन्छ । एक समय ५४ प्रतिशतसम्म पुगेको थियो । ४० प्रतिशतको हाराहारीमा धेरै समय रहयो,’ उनले भने ।

कसरी गरियो व्यवस्थापन ?

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी पनि चितवनमा संक्रमण घट्न थालेको संकेत देखिएको बताउँछन् । ‘ठूला तीन–चारवटा अस्पताल हुनुको फाइदा हामीलाई भयो । त्यसमाथि पहिलो लहरबाट सिकेर हामीले अस्पतालहरूको क्षमता बढाउँदै लगेका थियौं । विभिन्न अस्पतालका आफ्नै अक्सिजन प्लान्ट छन् । नपुग अक्सिजन दिन यहीं थप अक्सिजन उद्योग पनि थिए,’ डा. अधिकारीले भने ।

यसले गर्दा राजधानी काठमाडौं र अन्यत्रका अस्पतालमा जस्तो शय्या नपुग्ने, चौर र बरण्डामा राखेर बिरामी जाँच्नुपर्ने अवस्था भरतपुरमा नआएको उनले बताए । उपचार नै प्रभावित हुने गरेर अक्सिजनको आपूर्ति पनि नरोकिएको उनको भनाइ छ । ‘अक्सिजनको वितरणमा चितवनका प्रमुख जिल्ला अधिकारीको भूमिका साह्रै राम्रो भयो । सबैले काम गर्दा यहाँ सहज भएको हो,’ चितवन मेडिकल कलेज (सीएमसी) का अध्यक्ष डा. हरिश न्यौपानेले भने ।

यहाँका अस्पतालहरूमा काठमाडौंसहित पूर्व र पश्चिमका विभिन्न जिल्लाका बिरामी हेलिकप्टर चार्टर गरेरै आउन थालेका थिए । सीएमसीमा मात्रै ६४ जिल्लाका संक्रमितहरू उपचारका लागि आएको अध्यक्ष डा. न्यौपानेले बताए । ‘एक दिन त भेन्टिलेटरमा ६२ जना बिरामी थिए । त्यस दिन देशभरकै अस्पतालहरूमा भेन्टिलेटरमा रहनेमध्ये यो सख्या उच्च हो,’ उनको दाबी छ, ‘भरतपुरमा पूर्वाधार पनि राम्रै छ । क्रिटिकल केयर पनि यहाँ उत्कृष्ट छ । डा. शीतल अधिकारीजस्तो क्रिटिकल केयरका दक्ष जनशक्ति यहाँ छन् । त्यसैले सबै कुरा नियन्त्रणमा रह्यो ।’

तेस्रो लहरको तयारी सुरु

संक्रमण घट्दै गए पनि निश्चिन्त हुन भने अझै नसकिएको चिकित्सकहरू बताउँछन् । संक्रमण बढेसँगै वैशाख १६ देखि चितवनमा निषेधाज्ञा लाग्यो । केही खुकुलो हुँदै गएको निषेधाज्ञा असार ३ सम्म जारी रहनेछ । चहलपहल बढ्दा फेरि संक्रमण बढ्न सक्ने खतरा कायमै छ । त्यसैले सावधानी अपनाउन आवश्यक भएको डा. अधिकारी बताउँछन् ।

‘विस्तारै चहलपहल बढ्छ । कोरोना भाइरस त यहाँ छ । हाम्रो व्यवहारले जोखिम बढाउनु भएन । नभए समस्या थपिन्छ,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने । तेस्रो लहर आउन सक्ने अवस्थालाई ख्याल राखेर केही तयारीहरू सुरु भइसकेको उनले बताए । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने आकलनसहित शय्या र आईसीयू थप्न सुरु गरिएको उनले जनाए ।

‘भोलिको तयारी आजैबाट गरे समस्या जटिल बन्दैन । हिजो पहिलो लहर आउँदा हामीले दोस्रो लहर पनि आउन सक्छ भनेर तयारी गरेका थियौं । हाम्रो अस्पतालमा जम्मा तीनवटा भेन्टिलेटर थिए । थपेर १६ वटा पुर्‍याएका थियौं । अब बच्चाहरूलाई ख्याल गरेर पूर्वाधार तयार गर्नुपर्छ,’ भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीले भने । बालबालिकाका लागि १५ वटा आईसीयू बनाउन बजेट आएको उनले जनाए ।

‘पूर्वाधार थप्नुका साथै बच्चालाई क्रिटिकल केयर कसरी गर्ने भन्ने तयारीमा हामी छौं । तालिमहरू दिइएको छ । भोलिको तयारी सुरु भइसकेको छ,’ सीएमसी अध्यक्ष डा. न्यौपानेले भने । तर कोरोनाको चरित्रका बारेमा राम्रोसँग जानकार कोही नभएका कारण संक्रमण नै नहुने गरी जीवनशैली अपनाउनु उत्तम हुने तिवारीको सुझाव छ । ‘संक्रमित नै नहुनु सबैभन्दा राम्रो हो । जनस्वास्थ्यका मापदण्डहरू पालना गरे जोगिन सकिन्छ । त्यता ध्यान नदिने, सामूहिक गतिविधि बढाए तेस्रो लहरअघि नै फेरि संख्या बढ्छ, समस्या बल्झिन्छ,’ उनले भने ।

चितवनमा हालसम्म कुल संक्रमित संख्या १४ हजार ९ सय पुगेको छ । तीमध्ये २ सय ४२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×