दम्पती हत्याका अभियुक्त ७ वर्षपछि पक्राउ- प्रदेश २ - कान्तिपुर समाचार

दम्पती हत्याका अभियुक्त ७ वर्षपछि पक्राउ

अवधेशकुमार झा

राजविराज — सप्तरीको हनुमाननगरमा व्यवसायी बेगवानी दम्पतीलाई हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी दम्पतीलाई हत्या गरी फरार हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३४ वर्षीय बब्लु मण्डललाई आइतबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमाननगर–५ का ५५ वर्षीय प्रेमसुख बेगवानी र उनकी श्रीमती ५२ वर्षीया सरोज बेगवानीलाई ०७१ जेठ २१ हत्या गरी फरार भएका मण्डललाई गोप्य सूचनाको अधारमा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवसायी बेगवानी दम्पतीको हत्या गरी लुटपाट गर्ने घटनामा संलग्न ८ जना प्रतिवादीमध्ये तत्कालीन समयमा ६ जना पक्राउ परेको अन्य फरार रहेका प्रतिवादीमध्ये मण्डललाई ७ वर्षपछि पक्राउ गरिएको हो ।

गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका मण्डललाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । कपडा व्यवसायी बेगवानी दम्पती आफ्नै घरमा धारिलो हतियार प्रहार भइ मृत अवस्थामा फेला परेका थिए ।

दम्पतीलाई हत्या गरी ८ जनाको समूहले घरभित्र रहेका नगद, सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख बराबराको लुटपाट गरेका थिए ।

हत्या गरी लुटपाट गर्नेमध्ये विभिन्न समयमा ६ जना पक्राउ परे पनि मण्डल फरार थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले बोलायो स्थायी कमिटी बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान भएको स्थायी कमिटी सदस्य लेखराज भट्टले जानकारी दिए ।

सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको छ । स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन पक्षले पुनरावलोकनमा जाने बताएको छ ।

नेकपा भंग भएसँगै ओलीले फागुन २८ मा नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दसौं महाधिवेशन आयोजक कमिटी बनाएका थिए । तर, खनाल-नेपाल समूहले यसलाई अस्वीकार गर्दै समानान्तर गतिविधि र कमिटी निर्माणमा लागेको थियो ।

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्तावलाई झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अस्वीकार गरेसँगै एमाले एकता थप संकटमा परेको छ ।

स्थायी कमिटीका अर्का एक सदस्यले खनाल–नेपाल समूहले भिन्दै पार्टी बनाउन सक्ने आफूहरुको निष्कर्ष रहेको भन्दै बैठकमा त्यसबारे छलफल हुने बताए । उनका अनुसार बैठकमा गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारको बहिर्गमनको पनि समीक्षा हुनेछ । यहीबीचमा खनाल–नेपाल समूहको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ ।

खनाल–नेपाल पक्षले परिणामविहीन, अर्थहीन जालझेलको वार्तामा अलमलिने समय नभएको भन्दै बाध्य भएर नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन लागेको बताएको छ ।

खनाल–नेपाल समूह सरकारमाथि दबाब बनाउने रणनीतिमा छ । यो समूह भिन्दै पार्टी जस्तै विपक्षी गठबन्धनमा छ । संसद् विघटन गर्ने प्रधानमन्त्रीको पछिल्लो कदमपछि खनाल–नेपाल समूह घोषित रुपमा गठबन्धनमा सहभागी छ । यो समूहका २३ सांसद संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा समेत पुगेका छन् ।

सरकारमाथि सत्ता बचाउन बाह्य शक्तिसँग साठगाठ गरेको समेत आरोप लागेको छ । यद्यपि दुवै पक्षका दोस्रो तहका नेताहरु पार्टी एकताको पहलका लागि संवादमा पनि छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×