कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

भरत जर्घामगर

सिरहा — अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ को नेपाल कार्यालयले सिरहाका दुई अस्पताललाई ६५ लाख रुपैयाँभन्दा बढीका स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग गरेको छ ।

कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

संस्थाले गोलबजार नगरपालिकाद्वारा सञ्चालित गोलबजार अस्थायी कोभिड अस्पताललाई करिब ४२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण शनिबार उपलब्ध गराएको हो । त्यस्तै, धनगढीमाईस्थित नयनपुर अस्थायी कोभिड अस्पताललाई शनिबारै २५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ती सामग्रीहरू सेवा तथा उद्धार संघ (हेस्रा नेपाल) मार्फत उपलब्ध गराइएको हो ।

गोलबजार अस्पताललाई उपलब्ध गराइएका १ सय २९ प्रकारका स्वास्थ्य उपकरण नगरप्रमुख देवनाथ साहलाई हस्तान्तरण गरियो । नगरको विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको थियो । स्वास्थ्य सामग्री बुझ्दै नगरप्रमुख साहले अस्पताललाई पाएको उपकरण सहयोगले अबका दिनहरूमा स्तरीय उपचार सेवाका लागि सिरहा बाहिर जान बाध्य बिरामीले राहत पाउने बताए । कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीय स्तरको ट्रमा सेन्टरसहित करिब एक अर्ब रुपैयाँ लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजनासहित डीपीआर बनाइएको साहले जानकारी दिए । यसअघि पनि हेल्पिङ ह्यान्डले २४ जेठमा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब तीन लाख रुपैयाँ मूल्यको अक्सिजन सिलिन्डर, थर्मोगन, पीपीई, सेनिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र तीन सय थान कपडाको मास्क उपलब्ध गराएको नगरप्रमुख साहले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अस्पताल सञ्चालन विपत् प्रतिकार्यका लागि जरुरी रहेको औंल्याउँदै संक्रमित बिरामीले सहज उपचार सेवा पाउने गरी स्वास्थ्य सामग्रीको उपयोग गर्न आग्रह गरे । उनले जिल्लामा कोभिड संक्रमण विस्तारै कम हुँदै गए पनि अझै नियन्त्रणमा आउन नसकेको बताए । ‘कुनै बेला दैनिक ७ जनासम्म मृत्युको दर घटेर अहिले दैनिक १ जनामा झरेको छ,’ उनले भने, ‘संक्रमण दर घटेको छ, निको हुनेको दर बढेको भएपनि संक्रमण जोखिम अझै कायम छ ।’

हेल्पिङ ह्यान्ड नेपाल कार्यालयका प्रोग्राम म्यानेजर जीव पोखरेलले उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरूमा विद्युतीय बेड, आईसीयू बेड, इसिजी मेसीन लगायत अस्पतालका लागि आवश्यक १ सय २९ प्रकारका उपकरणहरू रहेको बताए । ‘कोभिड–१९ को महामारीका बेला अस्पताललाई दिइएका स्वास्थ्य सामग्रीबाट नगरवासीले स्तरीय स्वास्थ्य उपचार सेवा पाउन मद्दत मिल्नेछ,’ प्रमुख पोखरेलले भने, ‘सहयोगस्वरूप दिइएका सामग्रीमध्ये केही अस्पतालले गरिब विपन्न कोषमा राखेर उपचारका लागि आउने निम्न आर्थिक अवस्थाका बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।’

हेस्रा नेपालका प्रमुख कार्यकारी अधिकृत जियाउद्दिन खानले गुणस्तरीय स्वास्थ्य उपचारमा सघाउ पुग्ने गरी दातृ निकायहरूसँगको सहकार्यमा संस्थामार्फत प्रदेश नम्बर २ का सरकारी स्वास्थ्य संस्थाहरूलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउँदै आएको बताए । कोभिड–१९ महामारीको दोस्रो लहरमा जिल्लामै सबैभन्दा बढी प्रभावित बनेको सिरहाको गोलबजार नगरपालिकाले आफ्नै लगानीमा १६ जेठदेखि विधिवत् रूपमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । पोखरेलका अनुसार हेल्पिङ ह्यान्डले यसपटक सिरहालगायत मुलुकका ७ जिल्लाका १६ अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई करिब ५ करोड रुपैयाँ बरारको स्वास्थ्य सामग्री तथा उपकरणहरू उपलब्ध गराउन लागेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?