उखु किसानले पाएनन् मल

मुख्य सिजनमा अभाव हुन नदिन वितरणमा रोक लगाइएको प्रशासनको भनाइ
ओमप्रकाश ठाकुर

सर्लाही — रासायनिक मलको हाहाकार भइरहेका बेला जिल्ला प्रशासन कार्यालय सर्लाहीले साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई मल वितरण गर्न रोक लगाएको छ । जिल्लामा कोटाभन्दा अत्यधिक वितरण भइसकेको भन्दै प्रशासनले मल वितरणमा रोक लगाएको हो ।

उखु किसानले पाएनन् मल

उखु खेतीका लागि किसान मलको जोहोमा छन् । उनीहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट ट्रेडिङमा पुग्ने गरेका छन् । वर्षासँगै किसानलाई उखुमा मल हाल्ने चटारो हुन्छ । त्यो समयका लागि उनीहरू मलको जोहो गरेर ढुक्क हुन चाहन्छन् । चाहेका बेला मल नपाउने समस्याले आजित बनेका किसानले पाएका बेला मल भण्डारण गरेर राख्ने गरेका हुन् ।

तीन बिघामा उखु खेती गरेका हरिपुर्वाका राजनारायण रायले अहिलेसम्म मल हाल्न पाएका छैनन् । मौसम सक्रिय भएपछि मल हाल्ने योजना भए पनि पाउन सकेका छैनन् । मल नपाए उब्जनी घट्ने भन्दै राय यतिबेला चिन्तित छन् । उनले किसानलाई सुविधा दिनुपर्नेमा प्रशासनले मल वितरणमा रोक लगाएर दुःख दिएको बताए । ‘मौसम सक्रिय हुने सुनेको छु, पानी परेका बेला उखुमा मल हाल्न पाएन भने उब्जनी राम्रो हुँदैन, तर मल पाउनै सकिरहेको छैन,’ उनले भने, ‘गोदाममा मल स्टक राखेर प्रशासकले के पाउने हुन्, हामी त मलका लागि छटपटाइरहेका छौं ।’

अर्का किसान विश्वनाथ रायको पनि अवस्था उस्तै छ । उनले पनि मलको जोहो गर्न पाएका छैनन् । २ बिघामा उखु खेती गरेका उनलाई झन्डै चार बोरा मलको आवश्यकता छ । तर कतै पनि मल नपाएको उनको गुनासो छ । उनले भारतीय मल झन्डै दोब्बर मूल्यमा पाइए पनि सरकारी अनुदानको मल गोदाममा थन्किएको बताए । ‘भारतीय बजारबाट लुकीछिपी ल्याएको मल झन्डै दोब्बर मूल्यमा पाइरहेका छन्, तर अनुदानको मल गोदाममा थन्केको छ,’ उनले भने, ‘जसरी पनि किसानलाई नै समस्या पार्ने योजना बुन्दा रहेछन् ।’

प्रशासनले जेठ २० गते सूचना जारी गर्दै अनुदानमा आधारित मलको कोटाभन्दा बढी वितरण भइसकेको हुँदा मौज्दातमा रहेको मल अब मुख्य सिजनका लागि स्टक राख्न भनेको छ । मल भण्डारणसम्बन्धी बैठकमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले मुख्य सिजनमा मल अभाव हुन नदिन रोक लगाइएको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले किसानलाई मल व्यवस्थापनका लागि यो निर्णय गर्नुपरेको जानकारी दिए । उनले अहिलेको समयमा किसानलाई खासै मलको आवश्यकता नरहेकाले मुख्य सिजनमा भण्डारण गरिएको मल वितरण गर्ने जनाए । ‘अहिले किसानलाई खासै मलको आवश्यकता हामीले देखेका छैनौं, मल पाएका बेला किसान तथा व्यापारीहरू स्टक गरेर राख्न चाहन्छन्, त्यसलाई ब्रेक गर्न खोजेका हौं,’ उनले भने, ‘जिल्लामा कोटाभन्दा बढी मल वितरण भइसकेको छ ।’

जिल्लाको नवलपुरस्थित कृषि सामग्री कम्पनीको गोदाममा युरिया तीन हजार ६ बोरा, डीएपी ७ सय ८९ बोरा, पोटास ५ सय १२ बोरा र कृषि चुन १० बोरा रहेको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया ९ सय ५ बोरा, डीएपी एक हजार ५ सय ५९ बोरा, पोटास ६१ बोरा छ । प्रशासनले मल वितरणमा रोक लगाएपछि भारतीय मलको तस्करी बढेको छ । किसानको भेषमा तस्करहरूले भारतीय बजारबाट मल ल्याउन थालेका छन् । किसानको भेषमा मल ल्याउँदा कसैले रोकतोक नगर्ने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?