कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भेन्टिलेटर चलाउन छैन जनशक्ति

१४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा ४ जना मात्र कार्यरत
ओमप्रकाश ठाकुर

सर्लाही — भेन्टिलेटर अभावमा कोरोना संक्रमितले छटपटाएर ज्यान गुमाइरहँदा जिल्ला अस्पताल सर्लाहीमा राखिएको भेन्टिलेटर भने जनशक्ति अभावमा सञ्चालनमै आउन सकेको छैन । १० आईसीयू र ४ भेन्टिलेटर रहेको अस्पतालमा केही दिनअघि आईसीयू सञ्चालनमा आएको छ, तर भेन्टिलेटर मेसिन अझै थन्किएकै छ ।

भेन्टिलेटर चलाउन छैन जनशक्ति

भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको जटिल केस बाहिर रेफर गर्ने गरिएको छ । अन्तिम अवस्थामा भर्ना भएका कतिपय संक्रमितलाई तत्काल भेन्टिलेटरमा राख्न नसक्दा ज्यानसमेत जाने गरेको छ ।

चक्रघट्टा गाउँपालिका–४ का ५२ वर्षीय संक्रमित पुरुषको भेन्टिलेटर अभावकै कारण छटपटिएर ज्यान गयो । अन्य अस्पतालले भेन्टिलेटर खाली नरहेको भन्दै भर्ना लिन नमानेपछि उनको मृत्यु भएको थियो । बरहथवा नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि भेन्टिलेटरको अभावमा उपचारै नपाएर ज्यान गयो । उच्च ज्वरो र खोकी लागेपछि आफन्तले उनलाई जिल्ला अस्पतालमा भर्ना गराएका थिए । त्यसक्रममा उनी कोरोना संक्रमित रहेको पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई अस्पतालले रेफर गरिदियो । तर आर्थिक स्थिति कमजोर भएकाले आफन्तले भेन्टिलेटरसहितको अस्पतालमा लान नसक्दा उनको ज्यान गयो । यस्तै अन्तिम अवस्थामा जिल्ला अस्पतालमा भर्ना भएकी कविलासी नगरपालिका–४ की ७० वर्षीया एक महिलाको पनि ज्यान गयो । दमकी बिरामी उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटर नभएकाले उनको पनि रेफर गर्दा गर्दै ज्यान गयो ।

जिल्लामा कोभिडका बिरामीका लागि सुविधासम्पन्न अस्पताल नहुँदा गम्भीर बिरामी बाहिर पठाउने गरिएको छ । जनशक्ति अभावमा भेन्टिलेटर सञ्चालनमा आउन नसकेका कारण गम्भीर बिरामीलाई वीरगन्ज, जनकपुरस्थित अस्पतालमा पठाउने गरिएको अस्पतालको कोभिड फोकल पर्सन श्रीप्रसाद साहले बताए । ‘जिल्ला अस्पतालमा राखिएको भेन्टिलेटर जनशक्ति अभावमा थन्केको छ, जसले बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘भेन्टिलेटर सञ्चालनमा आएको भए गम्भीर बिरामीलाई बाहिर लग्नुपर्ने बाध्यताको अन्त्य हुने थियो ।’

अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको अस्पताल प्रमुख डा. नवलकिशोर झाले बताए । उनले अस्पतालमा एमडी र एनेस्थेसियाको दरबन्दी भए पनि चिकित्सक नपाइएको जानकारी दिए । झाका अनुसार जनकपुरबाहेक प्रदेश २ का सबै जिल्लाले भेन्टिलेटरका लागि चिकित्सक अभाव झेलिरहेका छन् ।

उनले जिल्ला अस्पतालमा १४ जना चिकित्सकको दरबन्दी रहेकोमा हाल ४ जना मात्र कार्यरत रहेको जानकारी दिए । यहाँ सञ्चालनमा आएका कोभिड अस्पतालमा पनि चिकित्सकको कमी रहेको उनको भनाइ छ । पीसीआर ल्याब सञ्चालनका लागि पनि दक्ष जनशक्तिको मार अस्पतालले खेपिरहेको झाले बताए । ‘दरबन्दीअनुसारको चिकित्सक जिल्ला अस्पतालमा छैनन्, भेन्टिलेटर चलाउने चिकित्सकको पनि दरबन्दी छ, तर फुलफिल छैन, बाहिर करारमा पनि चिकित्सक पाइरहेको छैन, जसले भेन्टिलेटर सञ्चालनमा ल्याउन सकिएको छैन,’ झाले भने, ‘भेन्टिलेटरकै कारण गम्भीर बिरामीलाई बाहिर रेफर गर्नुको विकल्प छैन ।’

यता जिल्ला प्रशासन कार्यालयले भने दुई साताअघि अस्पतालमा भेन्टिलेटरको ब्यवस्थापन भइरहेको जनाएको थियो । अहिले भेन्टिलेटरका व्यवस्थापन भए पनि जनशक्ति अभावले थन्केर बसेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा जिल्ला प्रशासनको अथक प्रयासमा पनि भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ ।

जिल्लामा १ हजार ७ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ । ६ सय ८० जना निको भएका छन् । जिल्लामा अहिले ९ सय ९५ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमित अधिकांश होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?