१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पालिकाको बजेटमा विपक्षीको आपत्ति

ससर्त बजेटमा सरकारले कार्यकर्ता पाल्न खोजेको आरोप लगाउँदै प्रदेशसभा अवरूद्ध
सन्तोष सिंह

जनकपुर — प्रदेश सरकारले स्थानीय तहलाई पठाएको ससर्त बजेटमा मनपरि भइरहेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । स्थानीय तहलाई आर्थिक वर्षको अन्तिमतिर पठाएको ससर्त अनुदान सच्याउन माग गर्दै विपक्षी सांसदहरूले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । 

पालिकाको बजेटमा विपक्षीको आपत्ति


नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले प्रदेशसभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएका थिए । सरकारका मन्त्री, विपक्षी दलका नेतालाई राखेर सभामुख सरोजकमुार यादवले बैठक सञ्चालन गर्न छलफल गरे पनि सहमति हुन नसकेको कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले बताए । बुधबार बिहान हुने छलफलमा पनि सहमति नभए बैठक चल्न नदिने विपक्षी दलहरूले निर्णय गरेका छन् ।

बैठकमा एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभा र प्रदेश सांसदलाई अपमान गरी स्थानीय तहमा ससर्त अनुदानको बजेट पठाएको भन्दै आपत्ति जनाए । आर्थिक वर्षको अन्तिम समयमा ससर्त अनुदान पठाएर प्रदेश सरकारले बहादुरी देखाएको टिप्पणी गर्दै विश्वकर्माले बजेट नसच्चिए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिए । ‘प्रदेश सांसद र स्थानीय तहका प्रमुखलाई थाहै नदिई योजना कसरी छनोट भयो,’ विश्वकर्माले भने, ‘सांसदको एउटा पनि योजना परेको छैन । सरकारले सांसदलाई मूर्ख बनाएर अपमान गरेको छ । कसको सिफारिसमा सरकारले योजना तोकेर पठायो ?’

कांग्रेस सांसद वीरेन्द्र सिंहले मुख्यमन्त्रीले प्रदेशसभामा बोलेको कुनै पनि प्रतिबद्धता पूरा नभएको आरोप लगाए । ‘सांसद र स्थानीय तहले छनोट नै नगरी सरकारले योजना लादेको छ,’ सांसद सिंहले भने, ‘स्थानीय तहका प्रमुख र प्रदेश सांसदलाई थाहा छैन । योजना कसले छान्यो ? मुख्यमन्त्रीले जवाफ दिनुपर्छ ।’ प्रदेश सांसदले सिफारिस गरेका योजना स्थानीय तहमा नगएसम्म प्रदेशसभा सञ्चालन हुन नदिने उनले चेतावनी दिए । माओवादी केन्द्रका सांसद रामकुमार यादवले सरकारले पार्टीका नेता पाल्ने योजना स्थानीय तहमा पठाएको आरोप लगाए ।

प्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरी उठेका प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जवाफ दिने कार्यसूची थियो । प्रदेश सरकारले गत साता अधिकांश योजना मठमन्दिर र धार्मिक क्षेत्रका राखेर ससर्त बजेट अनुदानअन्तर्गत पालिकाहरूलाई पठाएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?