फेरि छावा जन्माउँदै चित्रसेनकली

साढे ३ वर्षअघि हात्तीसारमै पहिलो सन्तानका रुपमा भीमाकलीलाई जन्म दिएकी चित्रसेनकली दोस्रोपटक गर्भिणी

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज हात्तीसारमा यतिबेला खुसियाली छाएको हो । हात्तीसारकी ढोई चित्रसेनकली फेरि गर्भिणी भएको हात्तीसारका नायब सुब्बा जलेन्द्र चौधरीले जानकारी दिए ।

फेरि छावा जन्माउँदै चित्रसेनकली

साढे ३ वर्षअघि हात्तीसारमै पहिलो सन्तानका रूपमा भीमाकलीलाई जन्म दिएकी चित्रसेनकली दोस्रोपटक गर्भिणी भएकी हुन् ।

‘हामी परिवारमा नयाँ सदस्यको आगमनको खबरले खुसी छौं, चित्रसेनकलीले साढे ३ वर्ष नबित्दै हामीलाई खुसीको खबर दिन लागेकी हुन्,’ उनले भने, ‘हाल उनको गर्भ करिब १ महिनाको छ ।’

निकुञ्जअन्तर्गत प्रतापपुर रमौली पोस्टमा रहँदा वैशाखको १५ देखि २० गतेको बीचमा चित्रसेनकलीको संसर्ग निकुञ्जको जंगली हात्तीसँग भएको चौधरी बताउँछन् । ‘त्यस अवधिमा २ पटक चित्रसेनकली र उक्त मत्ता हात्तीको संसर्ग भएको थियो, त्यसै क्रममा गर्भ रहन गएको हो,’ उनले भने, ‘सामान्यतः ढोईको गर्भ रहेपछि मत्ताले ऊसँग संसर्ग गर्दैन, त्यसपछि उक्त मत्ता चित्रसेनकलीको नजिक पनि परेको छैन ।’

२०६२ सालमा हात्ती प्रजनन केन्द्र खोरसोर चितवनमा जन्मिएकी चित्रसेनकलीलाई २०७० सालमा पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको हो । उनलाई निकुञ्ज गस्ती प्रयोजनका लागि रमौली प्रतापपुर पोस्टमा लगिएको थियो । निकुञ्जका ढोइहरू प्रायः यसरी नै जंगली मत्तासँग संसर्ग गरेर गर्भिणी हुन्छन् । खोरसोरमा पनि प्रायः यसै हुने गरेको चौधरी बताउँछन् । हात्तीमा विद्यावारिधि गरिरहेका तथा हाल कोसी टप्पु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक राम चित्रसेनकलीले २०७४ माघ १३ गते पहिलो सन्तानका रूपमा भीमाकलीलाई जन्म दिएको सम्झिन्छन् । उनी त्यतिबेला पर्सा निकुञ्जकै सहायक संरक्षण अधिकृत थिए ।

‘एउटा मत्ताले सामान्यतः आफ्नो जीवनकालमा आधा दर्जनसम्म छावा जन्माउँछन्, उनीहरूको गर्भ अवधि २० देखि २२ महिनासम्मको हुन्छ,’ उनले भने, ‘ढोई गर्भिणी भएको यकिन गर्ने विधि हुन्छ, तर सामान्यतः ढोइको फाँचो र ज्यान ठूलो हुँदै गएपछि उसको गर्भको यकिन हुन्छ ।’ अमलेखगन्ज हात्तीसारमा हाल ५ हात्ती छन् । तिनमा एक मत्ता र सबै ढोई छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यसअनुसार हात्तीसारमा अहिले ५ माहुत, ५ पछुवा र ५ फनैत कार्यरत छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?