२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गौर र चन्द्रपुर अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

केन्द्र सरकारले बजेट नपठाएको प्रदेश सरकारको भनाइ
शिव पुरी

रौतहट — कोभिड संक्रमणका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । प्रदेश २ सरकारले चासो नदिँदा गौर र चन्द्रपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गत साउनदेखिको जोखिम भत्ता नपाएका हुन् ।

गौर र चन्द्रपुर अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

गौर अस्पतालको पीसीआर ल्याबमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्तालगायत अन्य सेवासुविधा नपाएको गुनासो गरे । त्यस्तै संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मीले समेत भत्ता पाएका छैनन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा सुनुवाइ नभएको उनीहरू बताउँछन् । गौर अस्पताल प्रमुख डा. कृष्ण साहले अस्पतालमा कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीको जोखिम भत्ता बाँकी रहेको जनाए । ‘अस्पताल प्रशासनले सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री लालबाबु राउतलाई जोखिम भत्ता उपलब्ध गराइदिन लिखित तथा मौखिक जानकारी गराइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म भत्ताको रकमबारे कुनै निर्णय भएको छैन ।’

प्रदेशले भने केन्द्र सरकारले बजेट नपठाएकाले जोखिम भत्ता दिन नसकेको जनाउँदै आएको छ । प्रदेश सरकारले अस्पतालको कोभिड वार्ड र पीसीआर ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै खान र बस्नको व्यवस्थासमेत गरेको छैन । संक्रमितको उपचारमा खटिँदा र पीसीआर ल्याबमा काम गर्दा स्वास्थ्यकर्मीलाई पनि संक्रमण हुने उच्च जोखिम छ । अस्पताल र ल्याबमा काम गरेर उनीहरू घर फर्कने गरेका थिए । घर परिवारसम्म संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीको गुनासो छ ।

पछिल्लो केही समययता ल्याबमा कार्यरत स्वास्थ्यकर्मी आफैंले पैसा उठाएर खाना पकाउने भाँडा, ग्यास र खाद्य सामग्री किनेर अस्पतालको एउटा कोठामा बस्ने व्यवस्था मिलाएका छन् । २४ सै घण्टा ल्याब र संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन र खान बस्नको व्यवस्था नगरिएको ल्याबका टेक्नोलोजिस्ट रामकृष्ण रायले गुनासो पोखे । रौतहटका १८ वटा स्थानीय तह र छिमेकी जिल्लाबाट गरी दैनिक २/३ सयको हाराहारीमा परीक्षणका लागि स्वाब आउने गरेको छ । स्वास्थ्यकर्मीले २४ सै घण्टा खटेर दैनिक २ सयको हाराहारीमा परीक्षण गर्छन् । एक पटकमा बढीमा ७२ वटा स्वाव परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा आउन ६ देखि ७ घण्टासम्म लाग्ने गरेको मेडिकल ल्याब टेक्निसियन आयशा सिद्धकीले बताइन् ।

‘जोखिम भत्ताको अत्तोपत्तो नहुँदा पनि काम गरिरहेको अवस्थामा अहिले आएर ओभरटाइमको सुविधासमेत नपाउने भएपछि नर्मल ड्युटी मात्र गरेका छौं,’ उनले भनिन, ‘जति खटे पनि राज्यले मूल्यांकन नगरेपछि कसको के लाग्छ । अब बढी समय खट्दा पनि सुविधा दिने छाँट देखिएन ।’ ल्याबका कर्मचारीले १० देखि ४ बजेसम्म काम गर्दा दैनिक ७२ वटा स्वाब परीक्षण हुन्छ । यसले स्वाबको रिपोर्ट लिन केही दिन कुर्नुपर्ने अवस्था छ । अस्पताल प्रमुख डा. साहलाई ओभरटाइम बापतको पाउनुपर्ने सेवासुविधा दिन मौखिक आग्रह गर्दा सुनुवाइ नभएको उनीहरूको गुनासो छ । चन्द्रपुरस्थित अस्थायी कोभिड अस्पतालमा खटेका स्वास्थ्यकर्मीले समेत साउनदेखि जोखिम भत्ता पाएका छैनन् । उनीहरूले चन्द्रपुरका प्रमुख रामचन्द्र चौधरीलाई गुनासो पोखेपछि भत्ता दिने तयारी गरिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?