बलात्कारको घटना लुकाउन ‘गाउँमै पञ्चायती’

भूषण यादव

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुर टोलमा बलात्कारको घटना लुकाउन शनिबार राति गाउँपालिका प्रमुखकै अगुवाइमा ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउँमा प्रहरी पुग्दा पीडक युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आरोप लगाएका छन् । 

शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकमै बस्ने ती युवक घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । किशोरीका दाइले करिब ८ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराए । पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरी युवकलाई पक्राउ गर्न गाउँमा पुगेका थिए । स्थानीयले प्रहरीको विरोध गर्न थालेपछि युवक फरार भएका छन् ।

‘गाउँको कुरा गाउँमै मिलाउँछौं भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता जान भनेका थिए,’ नाम उल्लेख नगर्ने सर्तमा एक गाउँलेले भने, ‘स्थानीयलाई उचालेर प्रहरीको विरोधसमेत गर्न लगाए ।’ पीडकको घरनजिकै प्रहरी पुग्दासम्म ती युवक घरमै थिए । होहल्ला र विरोधको मौका छोपी ती युवक घरबाट फरार भए । गाउँपालिका प्रमुख मियाँ जगरनाथपुर टोलकै बासिन्दा हुन् । ‘पीडित युवतीका परिवारलाई समेत प्रभावमा पारिसकिएको रहेछ,’ प्रहरी उपरीक्षक वेलबहादुर पाण्डे भन्छन्, ‘राति गाउँपालिका प्रमुखलाई जसरी पनि युवकलाई हाजिर गराउन भनेका थियौँ, आइतबार बिहान हाजिर गराउने उनले भनेका थिए, तर बिहान गाउँमा प्रहरी पुग्दा ती युवक भेटिएनन् ।’

गाउँलेका अनुसार शनिबार राति प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँले पञ्चायती गरेका थिए । ‘युवतीको विवाह ती युवकसँग गर्ने पञ्चायतीमा निर्णय भएछ,’ ती गाउँलेले भने, ‘बलात्कारको मुद्दालाई कमजोर पार्न गरिएको सहमति हो ।’

गाउँपालिका प्रमुख मियाँले भने बलात्कारको हल्ला वाहियात रहेको बताए । ‘ती सबै वाहियात हल्ला हुन्,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘युवक र युवतीको आपसमा लभ थियो, तर परिवारलाई जानकारी थिएन् । दुवैको विवाह गराउन सबै राजी भएका छन् ।’ एसपी पाण्डेले सरकारी वकिलसँगको सल्लाहमा अगाडि बढ्ने बताए ।

प्रकाशित : जेष्ठ २३, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?