२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

काँचो इँटालाई पानीले क्षति

शंकर आचार्य

पर्सा — निरन्तर परिरहेको पानीले पर्सा–बाराका इँटा उद्योगलाई नोक्सानी भएको छ । गत वर्ष पनि लामो लकडाउन र वर्षाले इँटा उद्योगमा ठूलो क्षति पुर्‍याएको थियो ।

इँटा उद्योगहरूले यस वर्ष पनि ठूलो नोक्सानी व्यहोरेको बाबा इँटा उद्योग कलैयाका व्यवस्थापक सीताराम आचार्यले बताए । ‘गत वर्षकै क्षतिको हर्जना पाएका छैनौं । यस वर्ष पनि निषेधाज्ञा र वर्षा दुवैले हामीलाई नराम्रोसँग थिच्यो,’ उनले भने, ‘एक त बर्सेनि हुने निषेधाज्ञा र लकडाउनले तयारी इँटा बिक्री गर्नै नपाएर उद्योग चलाउनै नसक्ने अवस्था आएको छ, त्यसमाथि वर्षाले पनि काँचो इँटालाई क्षति गरिरहेको छ ।’ पर्सा र बाराका गरी करिब २५ इँटा उद्योगका काँचो इँटालाई वर्षाले क्षति पुर्‍याएको उनले बताए ।

धेरैजसो उद्योगले यस वर्ष इँटा उत्पादन गरेर मौज्दात राखिसकेका थिए । करिब २५ प्रतिशत उद्योगले काँचो इँटा पकाउन पाएका थिएनन् । ती इँटा वर्षाले नष्ट भएको आचार्यले बताए । करिब २५ प्रतिशत उद्योग गत वर्षकै लकडाउनपछि बन्द भएको उनले जानकारी दिए । निषेधाज्ञाअघि विकास निर्माणको कामले गति लिने सम्भावना थियो । तर, निषेधाज्ञा लम्बिँदै गएको र अब वर्षायाम सुरु हुने भएकाले यस वर्ष विकास निर्माण कम हुने उनी बताउँछन् ।

‘निषेधाज्ञा सकिएकै छैन । वर्षायाम आउन लागिसक्यो,’ उनले भने, ‘वर्षायाममा विकास निर्माणका ठूला र साना कुनै पनि परियोजना अघि बढ्दैनन्, हामीजस्तो ठूलो परिमाणमा इँटा पकाएर राखेका उद्योगले बिक्री गर्न पाएका छैनौं ।’ आचार्यको उद्योगमा करिब २५ लाख गोटा पाकेको इँटा छ । पर्सा र बारामा गरी करिब १ सय इँटा उद्योग छन् । पर्सा–बारा इँटा उद्योग संघका अध्यक्ष असर्फी प्रसाद जयसवालले आफूसँग यस वर्ष बिक्री नभएको १६ लाख वटा इँटा मौज्दात रहेको बताए । पर्सा–बाराका १ सयमध्ये ५० प्रतिशत उद्योगले यस वर्ष उत्पादन गरिसकेको तर निषेधाज्ञाले बिक्री ठप्प भएको उनको भनाइ छ ।

गत वर्षको घाटाको पूर्ति र यस वर्षको लागत मात्र उठाउन कतिपय इँटा उद्योगले प्रतिट्रेलर ४ हजारदेखि ४ हजार पाँच सय रुपैयाँ घाटा व्यहोरेर भए पनि इँटा बेच्न बाध्य भएको जयसवाल बताउँछन् । ‘बर्सेनि कोभिड महामारी र त्यससँगै लकडाउन अनि निषेधाज्ञा लाग्न थाल्यो, इँटा बनाउने र बिक्री गर्ने सिजनमै यस्तो हुन थालेपछि उद्योग धराशायी हुने नै भयो,’ उनले भने, ‘यस्तो अवस्थामा उत्पादन लागतभन्दा पनि सस्तोमा केही उद्योगले इँटा बेच्न थालेका छन् ।’

इँटा उद्योगका मिस्त्री र मजदुर अधिकांश भारतीय नै हुने भएकाले निषेधाज्ञा सुरु हुनुअघि उद्योगले भारतीय मजदुरलाई उनीहरूको पारिश्रमिक दिएर घर पठाउनु परेको जयसवाल बताउँछन् ।

प्रकाशित : जेष्ठ २०, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?