१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दमकल खरिदमा विवाद

प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारलाई प्राथमिकता नदिएको विपक्षीको आरोप
श्यामसुन्दर शशि

जनकपुर — प्रदेश २ सरकार हालै नौ वटा बारुणयन्त्र खरिद गरेको छ । आठ महिनाअघि सरकारले खरिद गरेका पाँच वटा बस सञ्चालन नभई थन्किएका छन् । बस चलाउन नसकेको प्रदेश सरकारले स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने बारुणयन्त्र खरिद गरेको भन्दै आलोचना भइरहेको छ ।

दमकल खरिदमा विवाद

कोभिड महामारी उत्कर्षमा रहेका बेला रोग नियन्त्रण र उपचारलाई प्राथमिकता नदिएर प्रदेश सरकारले वर्षाको मौसममा बारुणयन्त्र खरिद गर्नु बेमौसमी बाजाजस्तै रहेको विपक्षी दलको आरोप छ ।

प्रदेश २ का नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोप लगाए । ‘बारुणयन्त्र र एम्बुलेन्स खरिद गर्ने तथा सञ्चालन गर्ने काम पालिकाको हो । प्रदेश सरकारले कोरोना संक्रमितको उपचार, कृषि तथा शिक्षालगायत क्षेत्रमा खर्च गर्नुपर्छ,’ उनले भने । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बारुणयन्त्र तथा एम्बुलेन्स खरिद गर्ने प्रदेश सरकारको पुरानै निर्णय भएको बताए ।

बर्सेनि बाढी, आगलागी तथा लूलगायतका विपद्को सामना गर्दै आएको प्रदेशवासीलाई समयमा उद्धार तथा ज्यान जोगाउने उद्देश्यले बारुणयन्त्र खरिद गरिएको उनले जानकारी दिए । ७ वटा एम्बुलेन्ससमेत खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनले बताए ।

खरिद गरिएका बारुणयन्त्रको सञ्चालन प्रदेशस्थित विपद् व्यवस्थापन संयन्त्रमार्फत हुने उनले बताए । मन्त्री यादवका अनुसार खरिद गरिएका ९ वटा बारुणयन्त्रमध्ये ६ वटा नेपाल प्रहरी र ३ वटा सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिनेछ । बारुणयन्त्र सञ्चालनका लागि आवश्यक नियम कानुन तथा निर्देशिका निर्माण भइसकेको उनले बताए । एउटा बारुणयन्त्र करिब ५३ लाख रुपैयाँमा खरिद गरिएको हो ।

‘प्रदेशका आठ वटै जिल्लाका जुनसुकै गाउँसम्म १५ देखि २० मिनेटमा पुग्न सक्ने रणनीति बनाएर बारुणयन्त्र वितरण गर्न लागेका हौं,’ मन्त्री यादवले भने । विपद् व्यवस्थान, बारुणयन्त्र तथा एम्बुलेन्स सञ्चालन, उद्धार, पुनर्वासका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानको संयुक्त तालिमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए । ‘गाउँपालिका र नगरपालिकामा चालकको अभाव हुन सक्छ । आवश्यक परेको बेला कर्मचारी उपलब्ध नहुन पनि सक्छन् । बारुणयन्त्र र एम्बुलेन्स सञ्चालनको जिम्मेवारी सुरक्षा निकायलाई दिँदा २४ सै घण्टा सेवा प्राप्त हुन्छ,’ उनले भने ।

यता, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आठ महिनाअघि खरिद गरेको पाँच वटा बस हालसम्म सञ्चालन हुनसकेको छैन । पहिले ढल्केवरस्थित ग्यारेजमा राखिएका बसहरू जनकपुरस्थित प्रदेश मुख्यालयभित्र खुला आकाशमुनि अलपत्र छन् । कांग्रेस संसदीय दलका नेता यादवले बस चलाउन नसक्ने प्रदेश सरकार बारुणयन्त्र तथा एम्बुलेन्स सञ्चालन गर्न नसक्ने दाबी गरे । बस चलाउने काम सरकारको नभएको यादवको भनाइ छ । ‘बस किन सञ्चालन भएन ? भनेर मैले पटकपटक सोधेको छु । तर सम्बन्धित मन्त्रालयबाट कुनै जवाफ पाएको छैन,’ उनले भने ।

भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश परिवहन गठन गरी प्रदेशभित्र तथा बाहिर बस सेवा सञ्चालन गर्ने योजना बनाएको छ । पहिलो चरणमा प्रदेश राजधानी जनकपुरबाट पाँच जिल्ला सदरमुकामसम्म बस सञ्चालन गर्ने रणनीति छ । प्रदेश परिवहनको विधान तथा निर्देशिकामै विवाद रहेकाले बस सञ्चालन हुन नसकेको मन्त्रालयल जनाएको छ । ‘परिवहनको विधानमा पदाधिकारीहरूको नियुक्तिदेखि खर्चिलो संरचना प्रस्ताव गरिएको छ । यसबाट नाफाभन्दा पनि घाटा धेरै हुने देखिन्छ,’ प्रदेश सरकारका एक मन्त्रीले भने ।

प्रकाशित : जेष्ठ १८, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?