सिरहामा ६ जना कोरोना संक्रमितको मृत्यु

भरत जर्घामगर

सिरहा — कोभिड– १९ संक्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना दोस्रो लहर सुरु भएयता सिरहामा ६५ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड स्रोतव्यक्ति उमेश यादवका अनुसार कल्याणपुर नगरपालिका–७ का ५९ वर्षीय पुरुषको कोशी अञ्चल अस्पताल विराटनगरमा, लहान नगरपालिका–२२ का ४० वर्षीय पुरुष र २७ वर्षीया महिलाको लहान अस्पताल, धनगढीमाई नगरपालिका–१० का ७० वर्षीय पुरुषको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, सिरहा नगरपालिका–५ का ४६ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुर तथा मिर्चैया नगरपालिका–११ का ५३ वर्षीय पुरुषको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दोस्रो लहर सुरु भएयता सिरहा जिल्लामा कोभिडका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । जसमध्ये पुरुष ४४ जना र महिला २१ जना छन् । ३ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गर्दा जिल्लामा संक्रमितको संख्या ९ सय ९४ जना पुगेको छ । त्यसमध्ये अहिलेसम्म ३ सय ८२ जना निको भइसकेका छन् भने ५ सय ४७ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये ४ सय ९९ जना होम आइसोलेसनमा, ३८ जनाको समान्य उपचार, ६ जनाको आइसियूमा तथा ४ जनाको एचडियूमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?