मुसहर बस्तीभर ज्वरोको प्रकोप

भरत जर्घामगर

सिरहा — सिरहाको लहान नगरपालिका–१५ लग्राहास्थित सिंगो दलित मुसहर बस्तीमा ज्वरोको प्रकोप फैलिएको छ । सिंगो बस्तीमा दुई सातादेखि फैलिएको ज्वरोको प्रकोपबाट काखे बच्चादेखि वृद्धवृद्धासम्म थलिएका छन् । ज्वरोबाट एकै घरका ६ जनासम्म थलिएका छन् ।

मुसहर बस्तीभर ज्वरोको प्रकोप

लग्राहामा ३७ घरधुरी दलित मुसहर समुदायको बसोबास रहेको छ । ऐलानी जग्गामा बस्दै आएका बस्तीका उनीहरु दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँछन् । दुई सातादेखि ज्वरोले थलिए पनि कोरोना हो कि भन्ने त्रासका कारण उनीहरुले उपचार गराउन सकेका छैनन् ।

‘आफूबाहेक परिवारका सबै सदस्य दुई सातादेखि ज्वरोले थलिएपनि पैसा अभावमा उपचारका लागि अस्पताल पुर्‍याउन सकेको छैन,’ लग्राहाका मुर्तिदेवी सदायले भनिन् ‘गाउँकै औषधि पसलबाट सिटामोल ल्याएर ख्वाएको छु, दुई साता भइसक्यो ज्वरो घटेको छैन ।’

सुरुमा हातगोडा कटकट खाने, जिउ, टाउको र पेट दुख्ने, झाडापखाला लागेपछि ज्वरो आउने गरेको उनले सुनाइन् । बस्तीका रामे सदायका अनुसार बस्तीका घरपिच्छै बिरामी परेका छन् । ‘कतिपयलाई ज्वरो निको हुँदै केही दिनपछि फेरि दोहोरिएर आएको छ’ उनले भने ‘ज्वरो दोहोरिदा गाउँका बालबच्चादेखि वृद्धवृद्धा थलिएका छन् ।’

बस्तीका अधिकांश बालबच्चादेखि वृद्धवृद्धासम्म ज्वरोले थलिएपछि पानी ल्याएर दिने मान्छेसमेत नभएको ५० वर्षीया आशा सदाय मुसहरले सुनाइन् । आशा समेत ज्वरोले थलिएकी छन् । लहान अस्पताल पुग्न ९ किलोमिटर टाढा रहेकाले बस्तीमा अस्पताल पुर्‍याउने मान्छे समेत नभएको उनीहरुले दु:खेसो पोखे ।

सिंगो बस्तीका अधिकांश ज्वरोले थलिएपछि कोरोना भयो कि भन्ने पिरलो लग्राहा मुसहर बस्तीमा परेको छ । ‘ज्वरोको उपचार गर्न सकेका छैनौं,’ ९ दिनदेखि ज्वरोले थलिएकी सुर्जिदेवी सदायले भनिन्, ‘यदि कोरोना लाग्यो भने हामी उपचार गर्न नसकेर ज्वरोले मर्छौं होला ।’ बस्ती पुगेका जोकोहीलाई उनीहरु उपचार गराइदिन आग्रह गर्छन् ।

कोरोनासंक्रमणको पहिलो लहरमा स्थानीय सरकारले दैनिक ज्यालादारी गर्ने, गरिब, विपन्न परिवारलाई स्थानीय सरकारले राहत सामग्री दिएको भए पनि दोस्रो लहर सुरु भएको दुई साताभन्दा बढी बित्दै गर्दा राहत नपाउँदा चुलो बाल्न अप्ठ्यारो परेको उनीहरू बताउँछन् ।

बस्तीमा ज्वरोको प्रकोप फैलिएर काम गर्न सक्नेजति थलिएपछि बिहान–बेलुका हातमुख जोड्न पनि गाह्रो परिरहेको सुर्जीदेवी सदायले बताइन् । ‘बजारमा ठेला मजदुरी गर्न जानेहरू निषेधाज्ञाले घरमै थुनिएर बस्नुपर्दा रोजीरोटी खोसिएको छ,’ सदायले भनिन्, ‘गाउँमा अन्य काम पनि नपाउँदा अप्ठ्यारोमा छौं ।’

लग्राहा दलित मुसहर बस्तीमा दुई सातादेखि ज्वरोको प्रकोप फैलिएपछि वडा कार्यालयले स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ । उनले ज्वरोले थलिएकामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको उल्लेख गर्दै त्यसका लागि नगर स्वास्थ्य शाखासँग समन्वय गरी दुई–तीन दिनभित्र वडा कार्यालयमा स्वास्थ्यकर्मीको टोली ल्याएर परीक्षण गरिने योजना रहेको बताए ।

बस्तीमा ज्वरोको प्रकोप फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मी टोली परिचालन गरेको लहान नगरपालिका १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । ज्वरो प्रभावित बस्तीमा बिहीबार स्वास्थ्यकर्मी टोली पुगेर उपचार गरिरहेको उनले जानकारी दिए ।

मेनहरवा बस्तीमा समेत ज्वरो

लग्रहासँगै मेनहरवास्थित दलित मुसहर बस्तीमा समेत ज्वरोको प्रकोप फैलिएको छ । स्थानीय रामे सदाय मुसहरका अनुसार केही दिनदेखि बस्तीका धेरैजसोमा ज्वरो देखा परेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?