नाकामा परीक्षण झन्झटिलो

पर्सा — एन्टिजेन किट सकिएपछि वीरगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट भित्रिनेको पीसीआर परीक्षण थालिएको छ । गत चैत २३ देखि सीमामा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

नाकामा परीक्षण झन्झटिलो

किट सकिएपछि वैशाख २८ पछि पीसीआर परीक्षण गर्न थालिएको सीमास्थित हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले बताए ।

पीसीआर परीक्षण नतिजा आउन २/३ दिनसम्म लाग्दा सीमाबाट भित्रिएकाको व्यवस्थापनमा समस्या भइरहेको छ । ‘एन्टिजेन परीक्षण गर्दा आफ्नै ल्याबमा १० देखि १५ मिनेटमै नतिजा निकाल्थ्यौं, त्यसले संक्रमितको पहिचान तत्कालै हुन्थ्यो,’ हवारले भने, ‘अहिले स्वाब नारायणी अस्पताल पठाउनुपर्छ । नतिजा आउन तीन दिनसम्म पनि लाग्छ ।’ नतिजा नआउन्जेल स्वाब दिएकालाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यहींको क्वारेन्टाइनमा पठाइने गरिएको उनले बताए ।

‘त्यसपछि स्वाब लिइएकाको अवस्थाबारे हामी जानकार हुँदैनौं, सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा बसे नबसेको बारे पनि यकिन हुँदैन,’ उनले भने, ‘यसरी जोखिम बढ्छ, उनीहरूमा संक्रमण भए परिवार र समाजमा कोरोना बिस्तार हुने ठूलो जोखिम हुन्छ ।’ चैत २३ देखि वैशाख २८ सम्म डेस्कमा १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १ सय ७ जना नेपाली र ८० भारतीय थिए । हाल पनि भारतबाट दैनिक भित्रिनेको संख्या ३० देखि ३५ जनासम्म छ ।

यो नाकाबाट दैनिक ४ सयको हाराहारीमा भारतीयहरू फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांश राजधानी काठमाडौंका विभिन्न फर्निचर तथा इँट्टा उद्योगमा काम गर्ने मजदुर छन् । वीरगन्ज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले एन्टिजेन किट माग गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक आग्रह गरे पनि नआएको बताए । जिल्ला स्वास्थ्य प्रमुख कामेश्वर चौरसियाले एन्टिजेन किट सकिएको र प्रदेश आपूर्ति केन्द्रबाट एक/दुई दिनभित्र आउने बताए ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?