२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मणिपालमा कोरोना अस्पताल

संरचना निर्माण तथा मर्मत जेठ दोस्रो सातासम्म, अक्सिजन प्लान्ट राखिने
श्यामसुन्दर शशि

जनकपुर — जनकपुरस्थित मणिपाल एकेडेमी अफ हायर एजुकेसन (मेडिकल कलेज) को अपुरो संरचनामा प्रदेश २ सरकारले अस्थायी विशेष कोभिड अस्पताल बनाउने भएको छ ।

मणिपालमा कोरोना अस्पताल

रत्नसागर गुठीको १७ बिघा जग्गा भाडामा लिएर झन्डै दुई दशकअघि अस्पतालको निर्माण सुरु गरिएको थियो । तर, निर्माण कार्यले निरन्तरता नपाउँदा उपयोगविहीन छ ।

दुई दशकअघि नै निर्माण बन्द भएका भवनहरू भत्किन र चुहिन थालेका छन् । मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । प्रयोगविहीन भएकाले मेडिकल कलेजको संरचनालाई प्रदेश सरकारले आफ्नो मातहतमा लिएर अस्थायी कोभिड अस्पताल निर्माण गर्न लागेको हो । यसका लागि प्रदेश सरकारले झन्डै २० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका एक पदाअधिकारीले मणिपाललाई स्थायी अस्पतालकै रूपमा विकसित गर्न लागेको बताए । प्रदेश सरकारले संक्रामक रोग ऐन २०२० अनुसार अधिग्रहण गरेको उनको भनाइ छ । कोभिड विशेष अस्पताल बनाउन तीन चरणमा काम हुँदै छ । पहिलो चरणमा भौतिक संरचना निर्माण, मर्मत, विद्युतीकरण, खानेपानी, सरसफाइ तथा पार्टेसन लगायतका काम लगभग सम्पन्न भइसकेको छ ।

प्रदेश २ का मुख्यमन्त्रीका प्राविधिक सल्लाहकार भगवान् झाले संरचना निर्माण तथा मर्मतको काम जेठ दोस्रो सातासम्म सम्पन्न भइसक्ने बताए । यसैगरी अस्पतालभित्रै अक्सिजन प्लान्ट स्थापना गर्न शुक्रबार बोलपत्र आह्वान भइसकेको छ । डिइ झाका अनुसार दुई साताभित्र दैनिक डेढ सय सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट स्थापना गर्ने लक्ष्य छ । दोस्रो चरणमा गरिने भनिएको कर्मचारी व्यवस्थापनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई तोकिएको छ । मन्त्रालयले मणिपाल अस्पतालका लागि विभिन्न तहका २ सय २७ कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादवका अनुसार मेडिकल सामग्री खरिदको प्रक्रिया पनि पूरा गरिसकिएको छ । डा. यादवका अनुसार अस्पतालमा १०० बेडको एचडीयू, २० बेड आईसीयू तथा ५ वेड इमेर्जेन्सी सञ्चालन हुनेछ । अक्सिजन पाइपलाइनमार्फत आपूर्ति गर्ने तयारी भइरहेको छ । कोरोना विशेष अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले मर्मत सम्भार तथा रंगरोगनमा २ करोड ५७ लाखमा ठेक्का बन्दोबस्त गरिएको छ भन्ने मेडिकल सामग्री खरिदमा १६ करोड बजेट अनुमान गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ फिजिसियन डा.गौराङ्ग मिश्र करोडौं खर्च गरेपछि स्थायी अस्पताल बनाए राम्रो हुने बताए । ‘मणिपाल तयार हुँदासम्म संक्रमितको संख्या घटिसकेको हुन सक्छ । प्रदेश सरकारको लगानीको सदुपयोग नहुन सक्छ । बरु यसलाई स्थायी अस्पताल बनाऔं,’ काव्या अस्पतालका सञ्चालक डा. एके सिंहले भने ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?