फरार अभियुक्त २७ वर्षपछि पक्राउ

राजविराज — अदालतबाट जन्मकैदको सजाय पाई फरार रहेका अभियुक्तलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

फरार अभियुक्त २७ वर्षपछि पक्राउ

सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ४ का जोगेन्द्र मण्डलको हत्या गरेको ठहर गर्दै अदालतले सोही ठाउँका कारी सदालाई जन्मकैदको सजाय सुनाएको थियो ।

सदालाई आइतबार उनकै गाउँबाट पक्राउ गरेको जिल्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । २०५१ फागुन २० गते रामलीला कार्यक्रम हेर्न गएको बेला झगडा हुँदा सदाले आफ्नै गाउँका जोगेन्द्र मण्डलको हत्या गरेका थिए ।

जिल्ला अदालत सप्तरीले २०५४ साल माघ २२ गते हत्या गरेको पुष्टि गर्दे जन्मकैदको फैसला गरेको थियो । तत्कालीन पुनरावेदन र सर्वोच्च अदालतले पनि जिल्लाको फैसलालाई सदर गरेका थिए । सोमबार अदालतमा उपस्थित गराई सदालाई तत्कालै कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी काफ्लेले बताए ।

पछिल्लो समय सप्तरी प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान चलाएसँगै चालु आर्थिक वर्षको हालसम्म ९ सय ९ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?