रोकिएन अतिक्रमण

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाममा मन्दिर र संघ–संस्थाको नाममा भवन निर्माण गरी निजी प्रयोग गर्ने क्रम रोकिएको छैन । पछिल्लोपटक नगरको मध्य भागमा रहेको ऐतिहासिक तिरहुतिया गाछी र स्वर्गद्वारी वरिपरिको गुठीको जग्गा अतिक्रमण भएको छ । 

ऐतिहासिक स्थलमा इजाजतबिना भवन निर्माण भइरहेकाले तत्काल काम रोक्नुपर्ने उनीहरूको माग छ । स्थानीय सुशीलकुमार कर्ण, रमेशकुमार साह, किशनकुमार मण्डल र रोशनकुमार यादवले गत आइतबार जनकपुर उपमहानगरपालिकामा क्लोथ बैंक, बैंकका अध्यक्ष राजीव झा तथा गुठी संस्थान कार्यालय धनुषालाई विपक्षी बनाएर निवेदन दर्ता गराएका छन् । निवेदनमा तिरहुतिया गाँछीको जग्गा अतिक्रमण गरी नापनक्सा तथा इजाजतबिना नै भवन निर्माण गर्न लागेको उल्लेख छ ।

जनकपुरधाम–४ तिरहुतिया गाँछी वरिपरि रहेको गुठी संस्थानको जग्गामा यसअघि जिल्ला तथा उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल राष्ट्र बैंक, वन कार्यालय, नेपाल रेडक्रस, जेसिज, स्वर्गद्वारी, पर्यटन कार्यालय (हाल प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला), नेकपा एमालेको कार्यालयलगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाको भवन निर्माण भइसकेको छ । हालै शनिदेव मन्दिर निर्माण गरिएको छ । मिथिला नाट्यकला परिषदको नाट्यशाला पनि त्यहाँ निर्माणाधीन छ ।

यसका अतिरिक्त गुठीको झन्डै ५ बिघा जग्गामा अनुमतिबिना नै विभिन्न व्यक्तिहरूले घर टहरा बनाएका छन् । गुठीको जग्गा प्राप्तिका लागि केही संघसंस्थाले भने प्रचलित कानुनअनुसार जग्गा भाडामा लिएर भौतिक संरचना निर्माण गरेका छन् । सुरुमा सानो टहरा निर्माण गरी देवीदेवताको प्रतिमा स्थापित गरिन्छ । त्यसपछि जग्गा थप्दै अस्थायी संरचना निर्माण गरिन्छ । विस्तारै पक्की संरचना निर्माण गरिन्छ अनि ती संरचनामा पसल थाप्ने, पशुपालन गर्ने अनि सपरिवार बस्न थालिन्छ । स्वर्गद्वारीमा हालसालै निर्माण भएका केही संरचनामा विधिवत् पसल सञ्चालन भइसकेको छ भने केही परिवारसमेत बस्न थालेका छन् ।

क्लोथ बैंकका अध्यक्ष राजीव झा भने आफूहरूले केन्द्रीय गुठी संस्थानसँग जग्गा भाडामा लिएर भवन निर्माण गरिरहेको बताए । ‘वार्डको सिफारिस, केन्द्रीय गुठी संस्थानको निर्णय तथा गुठी संस्थान जनकपुरले उक्त जग्गा लिजमा लिन गरेको डाक बढाबढ गरेर ५ वर्षे लिजमा लिएको छु,’ झाले भने । क्लोथ बैंकले भाडामा लिएको १ कट्ठा जग्गामध्ये बजेट अभावमा २ धुरमा मात्र भवन निर्माण गर्न लागेको उनले जानकारी दिए ।

यसैबीच, क्लोथ बैंकको निर्माणाधीन भवनको छत ढलान जिल्ला प्रहरी तथा नगर प्रहरीको संयुक्त टोलीले रोकेको छ । शनिबार ढलानका लागि पुगेका कामदारलाई नगर प्रहरीले फिर्ता पठाएको थियो भने निर्माण सामग्री नियन्त्रणमा लिएको थियो । जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार उपमहानगरपालिकाले निर्माण रोक्नका लागि पत्र पठाएको थियो । नक्सापासबिना निर्माण हुन लागेकाले निर्माण रोकेको उपमहानगरका कानुन व्यवसायी विजयप्रताप सिंहले बताए ।

प्रकाशित : जेष्ठ २, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?