३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सर्लाहीमा थप १० दिन निषेधाज्ञा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञा थप गर्न जिल्ला प्रशासनलाई सिफारिस गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा शुक्रबार राति सकिँदै थियो । जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो । जस अनुसार जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिने भएको छ ।

डीसीसीएमसीको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम जारी गरिएको निषेधाज्ञा, अझै संक्रमणको अवस्था नियन्त्रणमा आइनसकेको हुँदा जेठ १० गतेसम्मका लागि निरन्तरता दिन जिल्ला प्रशासनमा सिफारिस गर्ने भनिएको छ ।

निर्णयमा निषेधाज्ञा उलंघन गरेर हिँड्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्न र नियमन गर्न जिल्लाका प्रहरी युनिटलाई निर्देशन दिएको छ । डीसीसीएमसीले अक्सिजन सिलिन्डरको व्यवस्थापनमा पनि ध्यान दिन उल्लेख गरेको छ । सर्लाहीमा बिहिबार मध्यान्हसम्म ४ सय ५३ जना सक्रिय संक्रमित छन् भने ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?