१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडकमै भोजभतेर

निषेधाज्ञा उल्लंघन गर्दै सयौं व्यक्ति बिहे र व्रतबन्धमा सहभागी भए पनि प्रशासनको बेवास्ता
ओमप्रकाश ठाकुर

सर्लाही — कविलासी नगरपालिका–२ पिपरियाको मुख्य सडक सोमबार अबेर साँझ मोटरसाइकल तेर्स्याएर अवरुद्ध पारियो । अनि सुरु भयो सडकमै बिहे भोज । सयौं स्थानीय भोज खाइरहेका थिए । एक दर्जनभन्दा बढी व्यक्ति परिकार पस्कनमा व्यस्त थिए ।

सडकमै भोजभतेर

भोज चलिरहेकै बेला सदरमुकाम मलंगवाबाट एम्बुलेन्स हुइँकिँदै आइपुग्यो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बोक्न एम्बुलेन्स आएको थियो । बाटो नभएपछि गल्लीबाट एम्बुलेन्स निकालियो । चालक नागेन्द्र साहले गाउँमै भीडभाड गरेर भोज भइरहेको प्रति चिन्ता व्यक्त गरे । ‘बिरामी बोक्न आएको, गाउँमा भीडभाड पारेर भोजभतेर चलिरहेको देखे, त्यो पनि सडक अवरुद्ध पारेर, एम्बुलेन्स निकाल्न पनि गाह्रो भयो,’ उनले भने, ‘नागरिक अझै पनि जागरुक भइसकेका छैनन्, जिम्मेवार निकाय पनि उदासीन भएको महसुस भयो, यो चिन्ताको विषय हो ।’

संक्रमण बढ्दै गएपछि प्रशासनले सर्लाहीमा शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ । तर, स्थानीय निषेधाज्ञा उल्लंघन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रणभन्दा बहिर छ । भीडका बीच संक्रमण अझै फैलिने सम्भावना छ । यसतर्फ त स्थानीयलाई चिन्ता छ न त जनप्रतिनिधिलाई वास्ता । डीसीसीएमसी र स्थानीय प्रहरी प्रशासन पनि बेखबर छन् । प्रहरीको उपस्थिति रहेको स्थानमा अलि कडीकडाउ देखिए पनि बाँकी स्थानमा निषेधाज्ञाको पालना हुनसकेको छैन ।

आइतबार भएको बिहेमा जन्तीको संख्या पनि उल्लेख्य थियो । उनीहरू डिजे बाजा र पटाका पड्काएर आतिशबाजी गरिरहेका थिए । सयौंको संख्यामा रहेका जन्तीले मास्क समेत प्रयोग नगरेको स्थानीय राजकुमार साहले बताए । प्रहरीको पनि पहुँच नरहेकाले गाउँका पसल र हाट बजारमा पनि भीडभाड नघटेको उनको भनाइ छ । ‘प्रशासनले सामाजिक कार्य गर्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको संख्यामा जम्मा हुने गरेका छन्,’ उनले भने, ‘व्यापार व्यवसाय पनि चलेकै छ, निषेधाज्ञा जारी गर्ने र नियमन गर्ने निकाय पनि मौन बसेका छन् ।’

कतिपय जनप्रतिनिधिले नै बिहे जस्ता कार्यमा अलि छुट दिन दबाब दिने गरेको प्रहरी स्रोतले जनाएको छ । ‘कोरोना माहामारी नियन्त्रणमा अग्रस्थानमा रहनुपर्ने जनप्रतिनिधि उल्टै हामीमाथि दबाब दिन खोजिरहेका छन्,’ प्रहरी स्रोतले भन्यो । यता, भारतीय सीमासँग जोडिएको हरिपूर्वा नगरपालिकाभित्र पनि निषेधाज्ञा पालना नभएको नागरिकको गुनासो छ । हरिपूर्वामा पनि भीडभाडका साथ बिहे, व्रतबन्ध र भोजभतेर चलिरहेको प्रति युवाले चिन्ता जनाएका छन् ।

पछिल्लो समय भारतसँग सीमा जोडिएका पालिकाहरूमा संक्रमितको संख्या बढिरहे पनि सचेतना र नियन्त्रणमा पालिका प्रमुखहरू नजुटेको गुनासो छ । हरिपूर्वाका स्थानीय गणेशकुमार यादवले गाउँमा भीडभाडका बीच सामाजिक कार्य र भोजभतेर चलिरहेको बताए । उनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भए पनि भीडभाड नरोकिएको जानकारी दिए । हरिपूर्वामा सोमबार सम्पन्न बिहेमा डिजे बाजा बजाएको र भीडभाडका साथ भोजभतेर भएको सूचना आएपछि प्रहरी बन्द गराउन पुगेका थिए । तर सयौंको संख्यामा स्थानीय जाइलागेपछि प्रहरी पछि हट्नुपरेको थियो ।

हरिपूर्वा नगरपालिकाका मेयर सियाराम रायले बिहे जस्ता कार्यमा जिल्ला प्रशासनले तोकेको भन्दा अलि बढी संख्या देखिए पनि निषेधाज्ञाको पूर्ण पालना भइरहेको दाबी गरे । उनले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र निक्लिनै परे मास्क लगाउन सचेतना फैलाइरहेको जानकारी दिए । कोरोनाको दोस्रो लहरमा हरिपूर्वामा खासै समस्या नदेखिएको मेयर रायको भनाइ छ । ‘यहाँ स्थिति पनि कन्ट्रोलमै छ,’ मेयर रायले भने, ‘बिहे जस्ता सामजिक कार्यमा तोकिएको भन्दा बढी भीड देखिएको छ, अरू सामान्य छ ।’

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गरे । ‘चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौं, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’ उनले भने, ‘स्थानीय तह पनि जिम्मेवार बन्नुपर्छ ।’ सर्लाहीमा मंगलबारसम्म सक्रिय संक्रमित संख्या ३ सय ७० छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?