२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बलरा उच्च जोखिममा

ओमप्रकाश ठाकुर

काठमाडौँ — सर्लाहीको बलरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित एक पुरुषको शनिबार मृत्यु भएको छ । बलरा नगरपालिका–३ लक्ष्मीपुरका ६० वर्षीयको मृत्यु भएको हो ।

उच्च ज्वरो र रुघाखोकीसहितको लक्षण देखिएका उनलाई वैशाख २१ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसयता होम आइसोलेसनमै बसेका थिए । वडाध्यक्ष सुशीलकुमार मिश्रका अनुसार शनिबार राति नै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ७० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । उनी पनि १० दिनदेखि ज्वरो र रुघाखोकीले घरमै थलिएका थिए । यसअघि उच्च ज्वरोका कारण बलरामा चार जनाको घरमै ज्यान गएको थियो ।

आइतबार बिहान ६० वर्षीय एक महिलाको अक्सिजन लेभल घटेर श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । महिलाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको वडाध्यक्ष मिश्रले जानकारी दिए । उनले बलरा कोरोनाको हटस्पट बनेको बताए । ‘भारतीय सीमासँग जोडिएको बलरा कोरोनाको हटस्पट बनेको छ, संक्रमण समुदायमा फैलिसकिएको छ,’ उनले भने । पालिकाका केही स्थानमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढेको जानकारी आएसँगै जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागिएको थियो । स्वास्थ्य कार्यालयले एक टोली पठाएर लक्षण देखिएकाको एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १८ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरू सबैलाई होम आइसोलेसनमा राखिएको बलरा नगरपालिका स्वास्थ्य शाखाका संयोजक कौशलेन्द्र मिश्रले बताए ।

उनले बेला बेला आइसोलेसनमा रहेका सबैको स्वास्थ्य जाँच भइरहेको दाबी गर्दै मृतकमा ज्वरो र खोकीबाहेक समस्या नदेखिएको जानकारी दिए । ‘स्वास्थ्य मापदण्ड पालना नगर्दा र सीमा समयमै बन्द नहुँदा बलरा कोरोनाको जोखिम क्षेत्र बनेको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले भने ।

गत साता बलरा नगरपालिका–६ मिर्जापुरमा चार जनाको उच्च ज्वरोका कारण मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले मृतकसँग सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्दा २१ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरू सबै होम आइसोलेसनमा बसिरहेका छन् । बलरा नगरपालिकाले कोरोनाका गम्भीर बिरामीलाई राख्न आइसोलेसन निर्माण गर्न सकेको छैन ।

बलराका मेयर अभयकुमार सिंहले होम आइसोलेसनको अवधारणाअनुरूप आफूहरू अघि बढिरहेको जानकारी दिए । उनले गम्भीर बिरामीको हकमा जिल्लासँग समन्वय र सहकार्य भइरहेको बताए ।

प्रकाशित : वैशाख २८, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?