कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमितका घरमै औषधि पुर्‍याउँदै राजविराज नगरपालिका

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई राजविराज नगरपालिकाले आइतबारदेखि घरमै औषधि पुर्‍याउन सुरु गरेको छ । नगरप्रमुख शम्भुप्रसाद यादव संक्रमितका घर–घरमा आफैं पुगी औषधि वितरण थालेका हुन् । 

संक्रमितका घरमै औषधि पुर्‍याउँदै राजविराज नगरपालिका

कोरोना संक्रमण पुष्टि भए पनि अवस्था सामान्य रहेका कारण होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण सुरु गरिएको हो । वितरित औषधिमा सिटामोल, भिटामिन बी, सि, डि र इ, जिंक चक्की र जीवनजल छन् । एकजना संक्रमितलाई करिब एक हजार रुपैयाँ बराबरको औषधि वितरण गरिएको मेयर यादवले बताए ।

‘संक्रमित रहेका घरमा अन्य मानिससमेत कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाले बाहिर निस्कनसक्ने अवस्था नरहेको, केही घरमा परिवारका सबैजना संक्रमित भएका कारण कोही औषधि लिन नसक्ने भएकाले हामीले नै औषधि पुर्‍याउने प्रयास गरेका हौं,’ यादवले भने ।

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि राजविराज नगरपालिकामा मात्र एक २५ जना संक्रमित भएका छन् । तीमध्ये १ सय १५ जना होम आइसोलेसनमै रहेको नगरपालिकाले जानकारी दिएको छ । आइतबार नै गजेन्द्रनारायण सिंह अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पनि राजविराज नगरपालिकाले ती औषधिहरु दिएको छ । अस्पतालमा अहिले २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसैबीच सोमबारबाट राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैय्याको कोभिड अस्पताल समेत संचालनमा आउने भएको छ । अहिले कोरोनाका बिरामीहरुका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा २५ शैय्याको एचडियु युनिटमात्र रहेको थियो । ‘संक्रमित बढ्दै गएकाले साइकृष्णामा पनि शैय्या थप गरि सञ्चालनमा ल्याउन लागिएको हो,’ गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले भने ।

प्रकाशित : वैशाख २६, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?