जनशक्ति अभावले उपचार असहज

संक्रमितलाई भर्ना गर्न आनाकानी गरिएको र जबर्जस्ती डिस्चार्ज गर्न थालिएको जनगुनासो 
शंकर आचार्य

पर्सा — कोरोनाको दोस्रो लहरमा समेत वीरगन्ज ‘हटस्पट’ बनेपछि यहाँको नारायणी अस्पतालमा संक्रमितको भीड बढेको छ । अस्पताल व्यवस्थापनले संक्रमितको उपचारका लागि झन्डै १ सय ५० शय्या छुट्याएको छ । तर, यीमध्ये एक सय शय्यामात्र भरिँदा पनि उपचारमा ठूलै समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

जनशक्ति अभावले उपचार असहज

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुर अहिले अस्पतालको सबैभन्दा ठूलो समस्या नै जनशक्ति अभाव रहेको बताउँछन् । ‘संक्रमितको संख्या थपिएको थपियै छन्, अन्य अस्पतालले पनि रिफर गरेर अन्तिम अवस्थामा यहीं पठाउँछन्,’ उनले भने, ‘अब त उपचार गर्ने जनशक्तिको अभाव नै भइसक्यो, उपचारमा खटिएका केही संक्रमित पनि भइसके, यस्तो अवस्थामा हामी कसरी धान्न सक्छौं ?’

अस्पतालमा संक्रमितलाई भर्ना गर्न आनाकानी गरिएको र जबर्जस्ती डिस्चार्ज गर्न थालिएको जनगुनासो पनि बढ्दै गएको छ । अस्पतालका प्रवक्ता डा. सरोज सिंह पनि आफूहरू हाल जनशक्ति अभाव झेलिरहेको दाबी गर्छन् । ‘स्वीकृत २ सय ५० शय्यामध्ये १ सय ५० शय्या संक्रमितको उपचारका लागि छुट्याई सकिएको छ, अस्पतालमा जति पनि संक्रमित भर्ना हुन्छन् ती गम्भीर खालकै हुन्छन्,’ उनले भने, ‘आईसीयूमा ७० को हाराहारी अक्सिजन चलिरहन्छ, आईसीयूकै ५ शय्या बराबर एक स्वास्थ्यकर्मी खटिनुपर्छ, यसरी एक सिफ्टमा कम्तीमा १५ स्वास्थ्यकर्मी त आईसीयूमै खटिनुपर्छ ।’

हाल चिकित्सक र अन्य स्वास्थ्यकर्मीसमेत गरी झन्डै २४ जना संक्रमित भएर उपचाररत रहेकाले आफूहरूलाई अस्पताल धान्नै गाह्रो भएको उनले बताए । चिकित्सक कम नभए पनि स्टाफ नर्स, अनमी र अहेवजस्ता बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुने जनशक्ति अभाव रहेको उनले बताए । ‘अस्पतालमा सरकारका तर्फबाट ४४ स्टाफ नर्सको दरबन्दी छ, तर मुस्किलले १८ जना स्टाफ नर्स उपलब्ध छन्, विकास समितिका तर्फबाट १४ स्टाफ नर्सको दरबन्दी छ ती पनि आधा मात्र उपलब्ध छन्,’ उनले भने, ‘स्टाफ नर्सहरू सकेसम्म वीरगन्ज आउनै नचाहने र राजधानीमै बसिराख्ने प्रवृत्तिले समस्या भइरहेको छ ।’

अस्पतालमा अनमीको ८ दरबन्दी रहेकामा ७ र अहेवको ५ दरबन्दी रहेकामा २ मात्र कार्यरत छन् । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयसँग ८० स्वास्थ्यकर्मी माग गरे पनि हालसम्म केन्द्रले नपठाएको उनले बताए । जनशक्ति थप नगरे स्थिति झनै जटिल बन्दै जाने उनको भनाइ छ ।

तर कोरोनाको दोस्रो लहर सुरु हुनुअघि नै अस्पतालमा जनशक्ति अभावको समस्या समाधान गरिसक्नुपर्नेमा त्यसो नगरिएको स्थानीयको आरोप छ । नारायणी अस्पतालको समग्र अवस्था सुधारका लागि लामो समयदेखि कार्यरत अभियन्ता ओमप्रकाश सर्राफले पूर्वतयारी नगरिएको बताए । प्रदेश २ कै प्रमुख अस्पताल नारायणी जनशक्तिको समस्या समाधानमा पहिल्यै प्रयास गरेको भए हालको अवस्था नआउने उनको भनाइ छ ।

‘चुस्त दुरुस्त व्यवस्थापन गर्नु अस्पतालका अधिकारीहरूको पनि जिम्मेवारी हो, समयमै त्यसो गरिएको भए हाल आइपरेको समस्या टर्थ्यो,’ उनले भने, ‘अहिले अस्पतालका धेरै स्वास्थ्यकर्मीहरू संक्रमित पनि भइसके, यस्तो अवस्थामा केन्द्रले अविलम्ब यहाँ आवश्यक जनशक्ति पठाउनुपर्छ ।’

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त जनशक्ति अभावकै कारण नारायणी अस्पतालमा बिरामी भर्ना नगर्ने, संक्रमित बिरामीलाई निको पारेर नभई संक्रमित अवस्थामै जबर्जस्ती डिस्चार्ज गर्ने जस्ता जनगुनासो व्यापक रूपमा आइरहेको बताउँछन् । ‘यदि यस्ता गुनासा सही हुन् भने त्यो मानवताविरुद्धकै अपराध हो,’ उनले भने, ‘अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी भनेको युद्धको मैदानमा सेना जस्ता हुन्, उनीहरू कुनै पनि बहानामा मैदानबाट पछि हटेर कायरता देखाउने होइन ।’

प्रकाशित : वैशाख २६, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?