कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रेम्डेसिभिर खोज्न सीमापारि

भारतीय बजारमा एक भाइलकै ४ गुणा बढी रकम, ५ महिनामा ५७ सय भाइलभन्दा बढी आयात
शंकर आचार्य

पर्सा — पर्साको भिस्वाका अनिल ठाकुरले वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत कोरोना संक्रमित बहिनीलाई बचाउन निकै संघर्ष गरे । नेपालमा रेम्डेसिभिर औषधि नपाएपछि उनी मंगलबार सीमापारि भारतीय सहर रक्सौलसम्म पुगे । 

रेम्डेसिभिर खोज्न सीमापारि

रक्सौलमा दलालमार्फत एक फार्मेसीबाट ५३ हजार रुपैयाँमा उनले एक भाइल रेम्डेसिभिर किने । यसअघि उनले वीरगन्जका सबै अस्पताल धाए । नाम चलेका फार्मेसी चहारेका थिए । तर, औषधि नपाएपछि चर्कै मूल्यमा भए पनि पाइने सुईंको पाएपछि रक्सौल पुगेका हुन् ।

‘बहिनीले दाइ मलाई बचाउनुस्, म बाँच्न चाहन्छु भनेपछि मेरो मन मानेन,’ उनले भने, ‘नेपाल सरकारले आफ्ना जनतालाई सके निःशुल्क नभए कम मूल्यमा औषधि उपलब्ध गराउनुपर्ने हो, थाहा छैन सरकार के गरिरहेको छ ।’ करिब १२ हजार रुपैयाँमा पाइने यो औषधि खरिद गर्न उनले ४ गुणाभन्दा बढी तिर्नुपर्‍यो । संक्रमितको उपचार गर्न प्रायः एक भाइल रेम्डेसिभिरले पुग्दैन ।

यो औषधि प्रयोग गरिएका अधिकांश संक्रमितले २ देखि ३ भाइल औषधि लिन्छन् । ‘आफूले त जसोतसो पैसाको जोहो गरेर बहिनीलाई एक भाइल रेम्डेसिभिर ल्याएँ । आर्थिक अवस्था कमजोर भएका वा भारतसम्म पुगेर ल्याउन नसक्नेहरूको के हबिगत होला ?’ ठाकुरले प्रश्न गरे, ‘गरिब निमुखा र पहुँच नभएकाले संक्रमित भए के अकालमै मृत्युवरण गर्ने सरकार ?’

संक्रमणको हटस्पट बनेको पर्सामा दैनिक रेम्डेसिभिरको खपत बढेको छ । सरकारी तथा निजी अस्पतालमा समेत यो औषधि मौज्दात नरहेकाले संक्रमितका आफन्त भारतीय बजारको भर परेका छन् ।

नेपाल औषधि व्यवसायी संघ नारायणीका सचिव विश्वराज गौतम यो औषधि आयातकर्ताले सरकारलाई दिने र सरकारले सरकारी तथा निजी अस्पताललाई उपलब्ध गराउने गरेको बताए । ‘सरकार आफैंले यो औषधिको आयातदेखि वितरणको कामसमेत नियमन गर्छ,’ उनले भने, ‘निजी क्षेत्रका औषधि विक्रेतालाई यो बिक्रीवितरण गर्न दिइएको छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले अस्पतालसँग यौ औषधि मौज्दात नरहेको बताए । ‘कोरोनाको पहिलो लहर चल्दा नै हामीसँग रहेको रेम्डेसिभिरको मौज्दात लगभग सकिएको थियो,’ उनले भने, ‘बाँकी केही औषधि दोस्रो लहरको सुरुसँगै सकियो ।’ केन्द्रबाट औषधि नआउन्जेलसम्म आफूले पनि केही गर्न नसक्ने उनले बताए । बिरामीका आफन्तले कतैबाट खोजेर ल्याएको खण्डमा भने बिरामीलाई औषधि चलाइरहेको उनले जनाए ।

नारायणी अस्पतलका चिकित्सक डा. उदयनारायण सिंह वीरगन्जमा मात्र नभई देशैभरि यो औषधिको चरम अभाव रहेको बताउँछन् । यस्तो मौका छोपी कालाबजारीले यसलाई महँगोमा बिक्री गरिरहेको गुनासो आफूलाई धेरै बिरामीका आफन्तले गरेको उनले बताए । ‘धेरै बिरामीका आफन्तबाट मलाई यो औषधिको कालाबजारी भएको गुनासो आएको छ,’ उनले भने, ‘सीमावर्ती जिल्लाका बिरामीका आफन्तहरू स्वदेशमा मात्र नभई भारतमा समेत पुगेर ठगिएका छन् ।’ रेम्डेसिभिरको उत्पादन भारत र बंगलादेशले मात्र गर्ने गरेको उनले बताए ।

५ महिनामा ३४३ किलो आयात

वीरगन्ज भन्सार नाकाबाट सन् २०२० को अगस्ट २० देखि डिसेम्बर अन्त्यसम्ममा ३ सय ४३ किलो ९ सय ६० ग्राम रेम्डेसिभिर औषधि आयात भइसकेको छ । प्रतिभाइल ६ ग्राम तौलका हिसाबले यो अवधिमा ५ हजार ७ सय ३२ भाइल आयात भएको देखिन्छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यो अवधिमा भारतबाट ६ वटा कन्साइन्मेन्टमा विभिन्न आयातकर्ताले रेम्डेसिभिर आयात गरेका छन् । जुन ३ करोड २ लाख ८० हजार ३ सय ९३ रुपैयाँबराबरको छ ।

कोरोनोको पहिलो लहर करिब समाप्त भइसकेको पछि यसरी ठूलो परिमाणमा भित्रिएको औषधि दोस्रो लहर सुरु नहुँदै सकिनुमा नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह पनि आश्चर्य व्यक्त गर्छन् ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?