३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आफन्तलाई जिम्मा लगाइएकी युवती भारतमा मृत फेला

अवधेशकुमार झा

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी युवती भारतमा मृत फेला परेकी छन् । विहार राज्यअन्तर्गत मधुवनी जिल्लाको करियौत महदेवा गाउँमा १८ वर्षीय पुनमकुमारी यादवको शव चारदिन अघि भारतीय प्रहरीले फेला पारेको हो । बगरमा घाँटी थिचिएको र कपडाले बेरिएको अवस्था उनको शव मंगलबार फेला परेको लौकही ब्लकका प्रमुख रामकुमार यादवले जानकारी दिए । उनको शव प्रहरीले मधुवनी जिल्ला अस्पतालमा राखेको छ । 

पुनमकुमारी कसैलाई थाह नदिई केही दिनअघि घरबाट हिँडेकी थिइन् । उनलाई सिमावर्ती बिहार राज्यको भुतहा चोकमा भेटिएपछी त्यहाँको नरैया थानाका थानेदारले नेपालस्थित उनको बुवा आनन्द यादवलाई छोरी बुझ्नका लागि आउन फोन गरेका थिए । भारतीय प्रहरीको फोनपछि आनन्द केही आफन्तसहित छोरी लिन नरैया थाना पुगेका थिए । नरैया चौकीमा कागज गर्दै आनन्दले छोरी पुनमको जिम्मा लिएको थिए ।

नरैया थानाबाट परिवारको जिम्मा लगाइएकी पुनमको शव त्यसको दुई दिन पछि महदेवा–करियौत बस्तीबीचमा फेला परेको हो । प्रहरीका अनुसार बुवा आनन्दले जिम्मा लिएकै क्रममा पुनमले लगाएकी कपडा र उनको हत्या भएको अवस्थामा लगाएको कपडा एउटै रहेको पाइएको छ । पुनको हत्या जिम्मा लिन पुगेका बुवा आनन्दसहितका आफन्तले नै गरेको भारतीय प्रहरीको अनुमान छ । लौकही थानाका प्रभारी रामचन्द्र चौपालले नेपाली युवतीको शव फेला परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले सिमावर्ती बिहारको मधुवनी जिल्लामा सप्तरीकी एक युवतीको शव फेला परेको जानकारी आएको बताए । उनले भारतीय प्रहरीसित समन्वय भइरहेको जानकारी दिए । मृतक पुनमको घरमा प्रहरी टोली पुग्दा उनका हजुरआमाबाहेक कोही नभेटिएको एसपी धमलाले बताए ।

लौकही ब्लकका प्रमुख रामकुमार यादवका अनुसार ७२ घण्टाभित्र कोही आफन्त लिन नआए भारतीय प्रहरीले आफनै तरिकाले शव व्यवस्थापन गर्ने नियम रहेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?