अस्तव्यस्त कोरोना अस्पताल

जनशक्ति भर्ना, उपकरण र औषधि आपूर्ति गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन
सन्तोष सिंह

धनुषा — जनकपुर नर्सिङ कलेजमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको प्रादेशिक कोभिड अस्पतालनजिकै बिहीबार बिहानैदेखि भीड थियो । अस्पतालमा भर्ना भएका संक्रमितका आफन्त औषधिका पोका, पानी, खाजालगायत सामग्री लिएर अस्पताल परिसरमा भेटिए ।

अस्तव्यस्त कोरोना अस्पताल

संक्रमितलाई हेरचाह गर्न २ जना कुरुवा खटिएका छन् । एक जना संक्रमितलाई स्याहार्न, रेखदेख गर्न र अर्को बाहिरबाट औषधि, खानापानी ल्याउन र डाक्टर बोलाउन खटिएका छन् ।

कोभिड अस्पताल १ सय शय्याको भनिए पनि त्यति शय्या देखिएन । निःशुल्क उपचार भनिए पनि औषधि खरिद गर्नुपरेको संक्रमितका आफन्तहरूले बताए । कोभिड अस्पतालका लागि छुट्टै डाक्टरसहितका स्वास्थ्यकर्मीसमेत उपलब्ध छैनन् ।

प्रादेशिक अस्पतालको जिम्मेवारी वहन गरिरहेका स्वास्थ्यकर्मीले नै दुवैतर्फ काम गरिरहेका प्रादेशिक कोभिड अस्पताल जनकपुरका प्रवक्ता डा.मनीष पाण्डेले बताए । प्रदेश सरकारले अस्पताल सञ्चालन गर्न आदेश दिए पनि जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन नगरेको पाण्डेले बताए । ‘सीमित जनशक्तिबाट अस्पताल सञ्चालन गर्नुपरेको छ,’ डा.पाण्डेले भने, ‘कोभिड अस्पतालले अक्सिजन र बेड निःशुल्क उपलब्ध गराएको छ । औषधि, खाना, पानीलगायतका सामग्री संक्रमितले आफैं जुटाउनुपरेको छ ।’

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संक्रमितको निःशुल्क उपचार भइरहेको दाबी गर्दै औषधि पनि उपलब्ध गराउँदै आएको बताए । जनशक्ति अभावका कारण खानाको व्यवस्थापन हुन नसकेको उनले स्विकारे । प्रदेश सरकारसँग एचडीयूका लागि ९१ र कोभिड अस्पतालका लागि ९१ कर्मचारी माग गरे पनि जनशक्ति उपलब्ध गराउन नसकेको अस्पतालका प्रवक्ता डा.पाण्डेले बताए । कोभिड अस्पतालमा ६३ बेड तयारी अवस्थामा रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रमोद यादवले बताए । अस्पतालमा १२ आईसीयू र ४१ बेडमा अक्सिजन उपलब्ध छ ।भेन्टिलेटर छैन ।

महोत्तरी मटिहानीकी ५४ वर्षीया संक्रमित महिला बुधबार दिउँसो कोभिड अस्पताल जनकपुरमा भर्ना भइन् । अवस्था गम्भीर भएका कारण उनलाई भेन्टिलेटरमा राखियो । तर, दिउँसो केहीबेर चलेको भेन्टिलेटर बिग्रिएपछि ती महिलाको बिचल्ली भएको छ । उनलाई रेखदेख गर्न अस्पतालभित्र र बाहिर २ छोरा खटिएका छन् । भेन्टिलेटरले काम नगर्दा आमाको अवस्था बिग्रिन थालेको छोराले बताए । साँझसम्म चिकित्सकसँग हारगुहार गर्दा पनि पहल नभएको पीडित परिवारले जनाएको छ ।

पाँचवटै भेन्टिलेटर बिग्रिएको अस्पतालका प्रवक्ता डा. पाण्डेले बताए । ‘गत वर्ष अस्पताल स्थापनाका बेला किनिएका भेन्टिलेटर प्रयोग गरिरहेका थियौं,’ उनले भने, ‘एउटै पनि प्रयोग गर्ने अवस्थामा छैन । मर्मतको प्रयास भइरहेको छ ।’ अस्पतालमा धनुषा र महोत्तरीका ३१ जना सिकिस्त संक्रमित भर्ना छन् । अस्पतालका मेसु यादवले प्रदेशबाट नयाँ माग गरिएको बताए । ‘२ थान भेन्टिलेटर उपलब्ध भएको छ । तत्काल प्रयोगमा आउनेछ,’ उनले भने ।

निर्णय कार्यान्वयन फितलो

संक्रमण रोकथामका लागि प्रदेश सरकारले दिनहुँ निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कोभिड अस्पताल व्यवस्थापन, आवश्यक जनशक्ति भर्ना, उपकरण र औषधि आपूर्ति गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको हो । प्रदेश सरकारले प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप निर्णय गरे पनि कर्मचारी भर्ना हुन सकेको छैन ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय भएको छ ।

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा बिहीबार स्वाब जाँच गराउन लागेको भीड । तस्बिर : श्यामसन्दर शशि/कान्तिपुर

जनकपुरको मणिपालमा निर्माण गर्न लागिएको विशेष कोभिड अस्पतालका लागि २२७ दरबन्दी स्वीकृत गरे पनि प्रक्रिया सुस्त छ । प्रदेश सरकारले मन्त्रीहरूलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत निर्धारण गरेको छ । तर उनीहरूको भूमिका चित्तबुझ्दो छैन । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले २० दिनभित्र मणिपालमा कोभिड अस्पताल सञ्चालन गर्ने गरी युद्धस्तरमा काम भइरहेको बताए । सरकारले गरेका निर्णयहरू केही दिनभित्रै कार्यान्वयन हुने उनले दाबी गरे ।

सप्तरीमा निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि सप्तरी प्रशासनले वैशाख २५ गतेदेखि जिल्लाका बजार क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार राजविराजमा भएको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले राजविराजसहित तोपा, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, महुली, वीरेन्द्रवजार, रूपनी, कठौना, कल्याणपुर, खरचुहिया, कुसहा, कदमाहा, पातो, बोदेवरसाइन, छिन्नमस्तालगायतका बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

बैठकले जिल्लामा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले सञ्चालन गरेका निजी क्लिनिकहरू बन्द गर्न आग्रह गर्ने, सरकारीबाहेकका अन्य चिकित्सकले सञ्चालन गरेका क्लिनिकमा स्वास्थ्य मापदण्डबारे अनुगमन गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन स्थानीय तहले गर्ने निर्णय पनि गरिएको छ ।

राजविराजमा रहेका दुई निजी अस्पताल छिन्नमस्ता र युनिकमा समेत आइसोलेसन केन्द्र सञ्चालनको तयारी गर्ने निर्णय गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जनाए । बिहीबार राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको प्रयोगशालामा ५६ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए ।

प्रकाशित : वैशाख २४, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?