१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लक्षण देखिएका बिरामी घरघरै

बजेट नहुँदा क्वारेन्टाइन र आइसोलेसन व्यवस्था गर्न नसकिएको पालिकाको भनाइ
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । तर स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा बेवास्ता गर्दै आएका छन् । क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन, लक्षण देखिएकाको स्वाब संकलन, जाँच र कन्ट्रयाक्ट ट्रेसिङ हुन नसकेको हो ।

लक्षण देखिएका बिरामी घरघरै

खुला सीमा हुँदै भारतबाट नेपाल आउनेहरू तथा अन्य सहरबाट घर फिर्नेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा पुगिरहेका छन् । यसले समुदायस्तरमा संक्रमण फैलिएको आशंका छ । २० स्थानीय तह रहेको जिल्लाका प्रत्येक पालिकामा अहिले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी घरघरमा छन् । तर पालिकाहरूले उनीहरूको स्वास्थ्य जाँचमा ध्यान दिएका छैनन् ।

बलरा नगरपालिकामा मात्र उच्च ज्वरोका कारण चार जनाको मृत्यु भइसकेको छ । जिल्ला जनस्वास्थ्यबाट खटिएको टोलीले मृतकको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गर्दा २१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । मृतकहरूको ट्राभल हिस्ट्री पनि छैन । उनीहरू गाउँमै बसिरहेका बेला उच्च ज्वरोले थलिएका थिए ।

भारतीय सीमासँग जोडिएको पालिका भए पनि यहाँ न क्वारेन्टाइन छ न आइसोलेसन नै । बलराका नगरप्रमुख अभयकुमार सिंहले क्वारेन्टाइन र आइसोलेसन नबनाइए पनि स्वास्थ्य शाखाहरूमा मास्क, सेनिटाइजर र ज्वरोको औषधि उपलब्ध गराएको जानकारी दिए । उनले स्थानीयलाई स्वास्थ्य शाखामा गएर जाँचका लागि अनुरोध गरे पनि कोही पनि जान नमानेको बताए । ‘गम्भीर बिरामी भएमा जिल्ला अस्पताल उपचारका लागि पठाउँछौं,’ उनले भने ।

जिल्लामा उल्लेख्य रूपमा परीक्षण नभए पनि भएको परीक्षणमध्ये ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख श्रवणकुमार नायकले कोरोना नियन्त्रणमा स्थानीय तहहरूले तत्परता नदेखाएको बताए ।

उनले यही विषयलाई बिहीबार आयोजित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा स्थानीय तहका प्रमुखहरूसँग छलफल गरिएको जानकारी दिए । ‘स्थानीय तहको जुन भूमिका हुनुपर्ने हो, त्यो अहिलेसम्म देखिएको छैन, डीसीसीएमसी र जिल्ला स्वास्थ्य कार्यालयले मात्र कोरोनाको व्यवस्थापन गर्न सक्दैनन्,’ उनले भने, ‘स्थानीय तह जागरुक नभए नियन्त्रण हुन गाह्रो छ ।’ नायकले हरिवन नगरपालिकाले मात्र आइसोलेसनको व्यवस्थापन गरेको जानकारी दिए ।

कोरोना व्यवस्थापनमा अधिकांश स्थानीय तहले बजेट अभाव भएको जनाइरहेका छन् । उनीहरूले पालिकाको निर्णय नभएको भन्दै यसको व्यवस्थापनमा रकम खर्चन चाहेका छैनन् । कविलासी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सञ्जय झाले पालिकाको निर्णय नभएकाले कोरोना व्यवस्थापनमा काम गर्न नसकेको जानकारी दिए ।

क्वारेन्टाइन र आइसोलेसन नबनाइए पनि होम क्वारेन्टाइन र आइसोलेसनको अवधारणाअनुरूप अगाडि बढेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए । उनले समुदायमा कोरोना लक्षण भएका बिरामीको स्वाब संकलनलाई तीव्रता दिइएको जानकारी दिए । ‘अबको अवधारणा होम क्वारेन्टाइन र होम आइसोलेसनकै हो, हामी त्यसैलाई आधार मानेर स्वाब संकलनलाई अगाडि बढाइरहेका छौं,’ मेयर यादवले भने, ‘गम्भीर भएका बिरामीका लागि तुरुन्त अस्पताल पुर्‍याउने छौं ।’

प्रकाशित : वैशाख २४, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?