२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चुरे अतिक्रमण गरी घर

राजनीतिक दबाबका कारण वन कार्यालयले सकेन हटाउन
शिव पुरी

रौतहट — आफूलाई सुकुम्बासी बताउनेहरूले रौतहटको चुरे क्षेत्रमा अग्ला पक्की घर बनाउन थालेका छन् । चन्द्रपुर–३ स्थित चुरे क्षेत्रको भोलनटार, अरुणबस्ती, इपिलिघारी, महादेवडाँडा, स्वस्तीलगायतको चुरे क्षेत्रमा सुकुम्बासी भनिएकाले धमाधम पक्की घर बनाएका हुन् । चुरे र दक्षिणतर्फको राष्ट्रिय वन मासेरसमेत पक्की घरहरू बनाउन थालेका छन् । 

चुरे अतिक्रमण गरी घर

महादेवडाँडाका स्थानीय काजीबहादुर थिङले छोराहरूले काठमाडौंबाट पैसा पठाएपछि पक्की घर बनाएको सुनाए । ‘डेढ दशकदेखि यहीं बस्दै आएका छौं । अब अन्यत्र जाने अवस्था छैन,’ उनले भने, ‘छोराको कमाइले ऐलानीमै भए पनि पक्की घर बनाएका हौं । अब यसलाई चुरे अतिक्रमण भन्नु या नभन्नु ।’ रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ३ हजार १ सय ९० हेक्टर अतिक्रमणमा परेको छ । चन्द्रपुर ३ गैंडाटारपारि मोरंगेदेखि भोलनटारसम्म झन्डै १३ किलोमिटर चुरे क्षेत्रमा बाक्लो बस्ती बसिसकेको छ । घरघरमा विद्युत् पुर्‍याइएको छ । वनले विरोध जनाएपछि राजनीतिक दलको पहलमा विद्युत् प्राधिकरणले पोल गाडेको हो ।

चुरे क्षेत्रको १ हजार ४ सय २५ हेक्टर अतिक्रमणमा परेको डिभिजन वन चन्द्रनिगाहपुरले जनाएको छ । बढ्दो वन विनाश, अतिक्रमण र ढुंगा उत्खननले चुरे क्षेत्र संकटमा परेको भन्दै वनले हटाउन प्रयास गरे पनि सकेको छैन । त्यस क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीले चुरे कब्जा गरी रूख काटेर खेती लगाउँदै आएका छन् । पछि अतिक्रमणलाई संस्थागत गर्दै गए । ठूलाठूला घर ठड्याए । केहीले धमाधम नयाँ घर बनाउँदै छन् ।

चुरे कटानले वन विनाशमा तीव्रता ल्याएपछि सरकारले अघि सारेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसमेत त्यस क्षेत्रमा गर्न दिएका छैनन् । डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले चुरे अतिक्रमण गरी बसेकाहरूले पक्की घर बनाएको थाहा पाउँदा पाउँदै हटाउन नसकेको स्विकारे । ‘मैले वन मन्त्रालय, स्थानीय प्रशासन र नगरपालिका सबैलाई भनिसकेको छु । कसैले चासो लिएका छैनन्,’ उनले भने, ‘वन एक्लैले रोक्न सम्भव छैन । यो राष्ट्रियस्तरकै समस्या हो । अब सरकारले हस्तक्षेप गर्नुपर्छ ।’ केही समयअघि वनको टोली रोक्न जाँदा मकवानपुर सीमावर्ती क्षेत्रमा स्थानीयले दुर्व्यवहार गर्न खोजेका थिए । त्यसपछि टोली गएको छैन । रौतहटको सीमालाई स्थानीयले मकवानपुरको सीमा भनेर जबर्जस्ती गर्न खोजेको वनको आरोप छ ।

७ वर्षअघि वनले चुरे क्षेत्रको अतिक्रमण खाली गराउने अभियान थालेको थियो । राजनीतिक दबाबका कारण त्यस बेला हटाउन सकेन । त्यसपछि अतिक्रण तीव्र भएपछि केहीलाई पक्रेर कारबाहीसमेत गर्‍यो । केही समय चुरेमा बसेकाहरू चुप बसे । पछिल्लो समय वन क्षेत्रको सिमाना बढाएर अतिक्रमण गर्ने, चुरेको आडैमा पक्की घर बनाउने जस्ता हर्कत गर्न थालेका छन् । डिभिजन वनअन्तर्गतको धन्सार, गैंडाटार र पौराईको चुरे क्षेत्र सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको वन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चुरे अतिक्रमणबारे माथिल्लो निकायले चासो लिनुपर्ने बताए । ‘मैले जिल्लाभरि कति वन क्षेत्र अतिक्रमणमा परेको भन्ने तथ्यांक लिन लागेको छु,’ उनले भने, ‘आफ्नो बलबुताले भ्याएसम्म अतिक्रमण हटाउने प्रयासमा छौं ।’ नगरपालिकाले समेत अतिक्रमण हटाउन चासो नदेखाएको वनको आरोप छ । चुरेको अलावा चन्द्रपुर, वाग्मती, बेतौना, नयाँ बस्ती, बनबोहरी, बलरीखोर, चोचा, मैरालगायतको वन क्षेत्रमा स्थानीयले घर बनाउने, घेराबेरा गर्ने र बाली लगाएर लामो समयदेखि भोगचलन गर्दै आएका छन् ।

जिल्लामा लामो समयदेखि अतिक्रमणकारीको एक समूह सक्रिय छ । उनीहरू रातारात तारबार र खेती गर्छन् । सुरुमा जंगलबाट सेउला ल्याएर घेर्छन् । त्यसपछि खेती गर्छन् । वनले हटाउने चासो देखाएन भने अनि तारबार लगाउँछन् । अनि बिस्तारै पक्की घर बनाउँछन् । चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले नगरपालिका क्षेत्रभित्रको ऐलानी र अतिक्रमण गरेको जमिनको तथ्यांक संकलन सुरु गरेको बताए ।

प्रकाशित : वैशाख २४, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?