कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार ठप्प, सीमामा कडाइ

कर्मचारीमा संक्रमण देखिएपछि प्रशासन र अस्पतालका सेवा बन्द
भरत जर्घामगर

सिरहा — सिरहामा बिहीबारदेखि लागू हुने गरी खाद्यान्न पसलबाहेक हाटबजार तथा व्यवसाय बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

बजार ठप्प, सीमामा कडाइ

डीसीसीएमसीले सवारीसाधन पनि जोरबिजोर प्रणालीमा मात्रै सञ्चालन हुने पाउने निर्णय गरेको छ । भाडाका यात्रुवाहक, परिचयपत्रधारी कर्मचारीका सवारीसाधनबाहेक निजी सवारीसाधन गतेअनुरूप जोरबिजोरमा मात्रै चल्न पाउनेछन् । बैठकले सिमानाका सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णयसमेत गरेको छ । यस्तै हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान तथा जुलुस र्‍याली अर्को निर्णय नहुञ्जेलसम्म गर्न पाइने छैन । खाद्यान्न, फलफूल, तरकारी तथा निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म खोल्न पाइनेछ ।

औषधि पसल, पानी उद्योग, दूध डेरी र पेट्रोल पम्प भने सञ्चालन गर्न पाइने डीसीसीएमसीले निर्णय गरेको छ । ती व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गर्नुपर्नेछ । निधो भइसकेका विवाह व्रतबन्ध भने २५ जनाभन्दा बढी नपुग्ने गरी स्थानीय तहबाट अनुमति लिएर मात्रै गर्न पाउने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

यस्तै, कर्मचारीमा संक्रमण देखिएपछि प्रशासनको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । अन्य कर्मचारीको पीसीआर परीक्षण गराइएको र उनीहरूको रिपोर्ट नआएसम्मका लागि सेवा बन्द रहने प्रजिअ कणेलले बताए । यसअघि प्रशासनमा स्थानीय तहगत रूपमा आलोपालो सेवा प्रवाह हुँदै आएको थियो ।

जिल्लाको धनगढीमाई नगरपालिका–९ मा सञ्चालित नयनपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि आकस्मिक बाहेकको सेवा बन्द भएको छ । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको सेवा पनि प्रभावित भएको छ । नयनपुर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ भने लहानस्थित राउ स्मारक अस्पतालमा आकस्मिक र इन्डोर शाखाको सेवा केही दिनका लागि बन्द गरिएको छ ।

नयनपुर अस्पतालमा कार्यरत एक चिकित्सक र दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश योन्जनका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरूको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ ।

नयनपुर अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केर निर्मलीकरण गरेपछि पुनः सञ्चालनमा ल्याइने अध्यक्ष योन्जनले बताएका छन् । यता राउ स्मारक अस्पताल लहानले इमर्जेन्सी शाखा र इन्डोर शाखालाई निर्मलीकरण गर्नका लागि ती शाखाको सेवा बन्द गरिएको छ । अस्पतालमा उपचार गर्न आएका लहान नगरपालिका–३ का ४० वर्षीय पुरुष र साविक विष्णुपुरकट्टी–२ का १८ वर्षीया महिलामा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

प्रकाशित : वैशाख २३, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?