१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संक्रमितले भरियो अस्पताल

भर्ना गरिएका सबै गम्भीर खालका बिरामी
शंकर आचार्य

पर्सा — वीरगन्जको नारायणी अस्पताल कोरोना संक्रमितले भरिएको छ । अस्पतालमा ९० शय्या भए पनि मंगलबारसम्म उपचाररत संक्रमितको संख्या ९३ पुगेको छ ।

संक्रमितले भरियो अस्पताल

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार तीमध्ये ८ जनालाई आईसीयूमा र ८५ जनालाई एचडीयूमा राखिएको छ । सबैलाई अक्सिजन दिएर राखिएको हो । अस्पतालले सामान्य अवस्थामा भर्ना नलिने हुनाले सबै गम्भीर खालका संक्रमित हुन् । यसअघि अस्पतालमा दैनिक ५० देखि ६० को हाराहारीमा मात्र संक्रमित भर्ना हुन्थे ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार वीरगन्जका अस्पतालहरूले संक्रमितको उपचारका लागि कुल ३ सय २९ शय्या छुट्याएका छन् । तीमध्ये नारायणी अस्पतालले ९०, नेशनल मेडिकल कलेजले १ सय ७०, नारायणी यवोधा अस्पतालले २०, वीरगन्ज हेल्थ केयरले २५ र गण्डक अस्पतालले २४ शय्या छुट्याएका हुन् । मंगलबार दिउँसोसम्म नेशनल मेडिकल कलेजमा ४५ संक्रमित भर्ना रहेको तथ्यांक अस्पतालले दिएको उनले बताए । वयोधा अस्पतालमा १९, गण्डक र वीरगन्ज हेल्थ केयर अस्पतालमा १७/१७ जना संक्रमित भर्ना रहेका छन् ।

श्रीवास्तवले अस्पतालहरूको क्षमताले धान्न नसक्ने अवस्था आए वीरगन्जमा १ सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल निर्माण गर्ने तयारी भइरहेको बताए । मंगलबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले पनि यस्तो निर्णय गरेको र यो जिम्मेवारी वीरगन्ज महानगरपालिलाई दिइएको उनले जानकारी दिए ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले अस्पतालमा ९३ संक्रमित भर्ना रहेको बताए । अस्पतालका मेसु डा. सन्जय ठाकुरले संक्रमित बिरामीको बढ्दो चापसँगै अस्पतालका अन्य वार्डहरूमा पनि शय्या थप गरेर कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको दाबी गरे । मंगलबार नै अस्पतालमा शय्या १ सय २८ पुर्‍याएको उनले बताए ।

अस्पतालको पूर्वतर्फको भवनबाट स्थानान्तरण गर्न सकिने युनिटहरूलाई पश्चिमतर्फको भवनमा स्थानान्तरण गरेर भए पनि कोरोना संक्रमितको उपचारका लागि शय्या बिस्तार गरिएको उनले बताए । तर अस्पतालमा जनशक्तिको अभाव रहेकाले संक्रमितको उपचारमा समस्या भइरहेको उनले बताए । हाल नै जनशक्ति अभाव रहेको अवस्थामा आउँदा दिनमा संक्रमितको भर्ना झनै बढेसँगै तिनको उपचारमा चरम समस्या हुन सक्ने उनले बताए ।

अस्पतालस्थित प्रयोगशालाको सोमबारको नतिजाअनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणका कारण पर्सामा मंगलबार थप २ जनाको मृत्यु भएको छ । प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार नेसनल मेडिकल कलेजमा र नारायणी अस्पतालमा गरी २ जनाको मृत्यु भएको हो । नेसनल मेडिकल कलेजमा सोमबार पर्सागढी नगरपालिका ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालमा मंगलबार बिहान वीरगन्ज महागनरपालिका १६ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको हेल्थ डेस्कमा मंगलबार ५ संक्रमित भेटिएका छन् । भारतबाट आएका ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ३ नेपाली र २ भारतीय नागरिक हुन् । बिहीबारदेखि पर्सामा निषेधाज्ञा जारी गरिए पनि भारतबाट आउने र नेपालबाट भारत जानेको संख्या अझै घटिसकेको छैन । तर भारतको बिहार राज्य सरकारले मंगलबार मध्यराति १२ बजेदेखि राज्यभर २ साताका लागि निषेधाज्ञा जारी गरेकाले बुधबारदेखि भारतबाट आउनेहरूको क्रम रोकिने सम्भावना छ ।

जिल्लामा यस पटक सुरक्षा अधिकारीमा संक्रमण देखिएको छैन । गत वर्ष कोरोनाको पहिलो लहर चल्दा पर्सा हटस्पट बनेको थियो । त्यति बेला तीनै सुरक्षा निकायमा ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमित भएका थिए । यस पटक भने नेपाली सेना र सशस्त्र प्रहरीका एउटा जना पनि संक्रमित भएका छैनन् । नेपाल प्रहरीका १ जनालाई मात्र संक्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी नायब निरीक्षकमा संक्रमण देखिएको छ । उनको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘यस पटक हामीले उच्च सावधानी राखेका छौं, फेस सिल्ड, मास्क, सेनिटाइजरको प्रयोगलाई प्राथमिकता दिएका छौं,’ उनले भने । यसबाहेक कार्यालय तथा घर बाहिर खाना तथा खाजा खानलाई पनि पूर्ण रोक लगाइएको उनले बताए ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी राजेन्द्र खड्काले हालसम्म एक जना पनि संक्रमित नभएको जानकारी दिए । ‘यस पटक हामीले अत्यन्त सावधानीका साथ ड्युटी गरेका छौं,’ उनले भने, ‘मास्क, सेनिटाइजरको प्रयोगमा कडाइ गरेका छौं ।’

प्रकाशित : वैशाख २२, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?