कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालले भर्ना नलिँदा मृत्यु

सन्तोष सिंह

धनुषा — जनकपुरमा उपचार नपाएपछि ज्वरो लागेका बिरामीको मृत्यु भएको छ । पाँच दिनदेखि रुघाखोकी ज्वरो लागेका बटेश्वर गाउँपालिका–४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा मृत्यु भएको हो । मिथिला नगरपालिका तुल्सीपाटोमा घर भई बटेश्वर बजारमा होटल चलाउँदै आएका परियारको उपचार नपाएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी सुवोध साहले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि परियार सोमबार राति ८ बजे उपचारको लागि जनकपुर आएका थिए । प्रादेशिक अस्पतालको आइसोलेसन पुगेका परियारलाई बेड खाली नरहेको भन्दै फर्काइएको थियो । प्रदेशिक अस्पतालबाट फर्काइएका परियार जनकपुरको निजी अस्पतालहरु चहारे । अस्पतालमा भर्ना नपाएर राति बटेश्वर फर्केका परियारको बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पातल जनकपुरका प्रमुख डा. प्रमोद यादवले परियारको नाम अस्पतालमो इन्ट्री नै नभएको दाबी गरे । अस्पतालको आकस्मिक र कोभिड अस्पताल दुवैतिर परियारको नाम इन्ट्रि नभएको उनले दाबी गरे । जनकपुरको अस्पतालमा भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हल अगाडी परियारको मृत्यु भएको छ । आरपी मेडिकल हलका सञ्चालक सीएमए सुवोध साहका अनुसार जनकपुरबाट फर्केर आएका परियारको मंगलबार बिहान मृत्यु भएको हो ।

‘सोमबार साँझ उपचारका लागि क्लिनिकमा आएका परियारलाई एम्बुलेन्स बोलाएर जनकपुर पठाएका थिए,’ साहले भने,‘साँझ जनकपुर लिएर गएका परियारलाई अस्पतालले नराखेपछि राति नै फर्केर आए । म उपचार गर्न सक्दिँन भनेपछि राति नै परियारलाई उनका सहयोगीले घर लगेका थिए । बिहान फेरी क्लिनिक अगाडी आउँदा आउँदै मृत्यु भयो ।’ उपचार नहुँदा उनको मृत्यु भएको साहले बताए । परियारको श्रीमती र छोराछोरी कामका लागि भारतको दिल्लीमा छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले परियारले उपचार नपाएको जानकारी नआएको बताए । गाउँमै उपचारको क्रममा मृत्यु भएको खबर आएपछि नेपाली सेना परिचालन गरी सदगद गराइएको प्रजिअ बाँस्तोलाले बताए । उनका अनुसार स्वाशप्रस्वासको समस्या भएपनि मृतकमा कोरोना संक्रमण भएको/नभएको केही खुलेको थिएन ।

प्रकाशित : वैशाख २१, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?