कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्सामा थपियो निषेधाज्ञा

शंकर आचार्य

पर्सा — पर्सामा निषेधाज्ञा अवधि थपिएको छ । वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजे सम्मका लागि जिल्लाभरि लागू गरिएको निषेधाज्ञालाई वैशाख ३० गते राति १२ बजे सम्मका लागि थपिने भएको छ ।

वैशाख ३० गते राति १२ बजे सम्म निषेधाज्ञा थप्ने निर्णय मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न निषेधाज्ञा उपयोगी रहेको ठहर गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले जिल्लाका अक्सिजन उत्पादक उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने उद्योगहरुलाई आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ । उद्योगहरुबाट उत्पादन हुने अक्सिजन तत्काललाई अस्पताल क्षेत्र बाहेक अन्य क्षेत्रलाई आपूर्ति गर्न नदिएर हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउन मात्र लगाउने निर्णय समेत बैठकले गरेको छ । अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन र प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसका साथै कोरोना संक्रमितको उपचार गर्न वीरगन्ज महानगरपालिकाको कार्यालयद्वारा वीरगन्ज महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा १ सय शैया क्षमताको कोभिड–१९ अस्थायी अस्पताल र १ सय शय्या क्षमताको आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।

कोरोना परीक्षण कार्यलाई सहज बनाउन वीरगन्ज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी संकलित स्वाब परीक्षण नारायणी अस्पतालमा गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।

बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी विशेष आमन्त्रितको रुपमा सहभागी रहेका थिए ।

प्रकाशित : वैशाख २१, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?